भानुबाट अनलाइन जुवा खेलाउने पक्राउ

तनहुँ प्रहरीले अनलाइन जुवा खेलाउने एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नरपालिका–३ खहरे बस्ने अमृतकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निजले अनलाइन बेटिङ खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक दीपककुमार रायले जानकारी दिए ।
प्रहरीले निजको भानु अनलाइन पसलबाट अनलाइन बेटिङमा प्रयोग गरेको ट्याब एक थान, मोवाइल लगायतका सामग्री बरामद गरेको छ । निजविरुद्ध जिल्ला प्रशासन कार्यालय तनहुँबाट जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।










