बोराभित्रा अन्दाजी २२ वर्षीया महिलाको शव, पहिचान खुल्न सकेन
भञ्ज्याङ न्यूज
तनहुँको व्यास नगरपालिका-४ स्थित चिहानडाँडा नजिक बोराभित्र महिलाको शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र अन्दाजी २०/२२ वर्ष उमेर समुहकी महिलाको शव सडिसकेको अवस्थामा फेला परेको तनहुँ प्रहरीले जनाएको छ ।
सुवर्ण मार्गको कच्ची सडकको कुनामा रहेको ढलको पानी जानका लागि बिछ्याइएको ह्युम पाइपमा प्लाष्टिकको बोरा भित्र राखिएको अवस्थामा फेला परेको महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरेको छ । उनले भने, ‘प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ । अहिलेसम्म एकिन नामथर वचत खुल्न सकेको छैन ।’
महिलाको हात पछाडिपट्टी बाधिएको अवस्था रहेको र शव सडिसकेको छ भने अनुहार चिनिने अवस्था नरहेको प्रहरीले जनाएको छ । उक्त बाटो हिड्डुल गर्ने स्थानीयले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।










