बन्दीपुरका नेवार समुदाय परम्परागत जात्रा संरक्षणमा जुटे

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको पर्यटकीय नगरी बन्दीपुरका नेवार समुदाय जात्रा संरक्षणमा जुटेका छन् । बन्दीपुरमा साढे दुइ सय वर्ष पहिलादेखि नेवार समुदायले विभिन्न जात्रा प्रदर्शन गर्दै आएका छन् । नेवार समुदायको संस्कृतिका रुपमा रहेको विभिन्न जात्रा बन्दीपुरमा प्रदर्शन हुँदै आएको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।
“भक्तपुरबाट बन्दीपुर नेवार बसाइँसराइ मात्रै गरेनन्, संस्कृति पनि लिएर आएँ । त्यही संस्कृतिको संरक्षणमा नेवार समुदाय लागिरहेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ ।
यहाँका नेवार समुदायले बन्दीपुरमा व्यापार मात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएको उहाँको भनाइ छ । बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् ।
विगत वर्षझैँ यस वर्ष पनि बन्दीपुरमा बाघजात्रा देखाउने तयारी गरिएको छ । खड्गमाई सांस्कृतिक परिवारको सक्रियतामा सोमबार साँझ बन्दीपुरमा बाघजात्रा देखाइएको अध्यक्ष गेहेन्द्र प्रधानले जानकारी दिनुभयो । बाघजात्राका लागि स्थानीय समुदायले निम्तो बाँढेर बोलाइएको थियो ।
प्रत्येक वर्ष दुइ दिन बाघजात्रा देखाउने गरिए पनि यसवर्ष भने विशेष कारणवश एकदिनमात्रै बाघजात्रा देखाउन लागिएको हो । बाघजात्राको दिन बाघ छटयाएर हिँड्ने, दुःख दिने गर्छ भने सिकारीले लखेटेर बाघलाई मार्ने गरिन्छ । बाघजात्रामा बाघ, डाक्टर, नर्स, सिकारी, पहलवान, राजाको भूमिकामा बन्दीपुरका नेवार समुदायका व्यक्तिहरुले अभिनय गर्न गर्छन् ।
बन्दीपुरमा २० गते रोपाइँ जात्रा, त्यसको तीन दिनमा भीमसेन जात्रा र तीजको भोलिपल्ट चौथी पूजा प्रस्तुत गरिनेछ । आजभन्दा साढे दुइ सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइँसराइ गरी आएका थिए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरुमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो ।
सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशी बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरुकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।
त्यहीबेलादेखि नै बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आएको बताइन्छ । बन्दीपुरका नेवारहरुले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । “हाम्रा पुर्खाले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने कुरा हुँदैन, प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो ।
बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।
बन्दीपुर बजारमा मात्रै एक सय ३४ घरधुरी नेवार समुदायको छ । बन्दीपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । बन्दीपुरमा नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रा लगायत मनाउँदै आएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker