म्याग्दे गाउँपालिकाद्वारा उपभोक्ता समितिलाई अनुशिक्षण
भञ्ज्याङन्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले उपभोक्ता समितिलाई अनुशिक्षण सुरु गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने आयोजनाका लागि उपभोक्ता समितिका पदाधिकारी र टोल विकास संस्थाका अध्यक्षलाई अनुशिक्षण सुरु गरेको हो ।
गाउँपालिकाबाट यो वर्ष उपभोक्ता समिति मार्फ सञ्चालन गरिने विकास आयोजनाका प्राविधिक पक्षबारे जानकारी गराउन अनुशिक्षण सुरु गरिएको योजना शाखा प्रमुख श्रीराम खनालले जानकारी दिए ।
वडा नम्बर ५ बाट सुरु भएको अनुशिक्षण सबै वडामा सञ्चालन गरिनेछ । खनालले भने, ‘उपभोक्ता समितिमार्फ विकास आयोजना सञ्चालनका लागि पदाधिकारीलाई आवश्यक कुराबारे जानकारी गराइएको छ, सबै वडामा अनुशिक्षण हुनेछ ।’
अनुशिक्षणमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जितराज राना, वडाध्यक्ष शिवबहादुर आलो लगायतले बोलेका थिए ।










