आठ वर्षदेखि अलपत्र मादी–मर्स्याङ्दी मोटरमार्ग : ३५ प्रतिशत मात्रै प्रगति, स्थानीय आक्रोशित

तनहुँ : तनहुँको उत्तरी भेगलाई पृथ्वी राजमार्गसँग समानान्तर वैकल्पिक सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले निर्माण थालिएको मादी–मर्स्याङ्दी मोटरमार्ग आठ वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको छ। निर्वाचन क्षेत्र रणनीतिक सडकका रूपमा अगाडि बढाइएको यो महत्त्वपूर्ण आयोजना निर्माण कम्पनीको चरम लापरबाही र सम्बन्धित निकायको उदासीनताका कारण कछुवाको गतिमा सीमित भएको भन्दै स्थानीयवासीले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
आर्थिक वर्ष २०८०/८१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको भए पनि काम सम्पन्न हुन नसकेपछि डिभिजन सडक कार्यालय दमौलीले निर्माण कम्पनी देबिरमण तेज जेभीलाई थप एक वर्षको समय दिएको थियो। तर आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेन। एक वर्षसम्म उल्लेखनीय काम नभए पनि निर्माण कम्पनीमाथि कुनै कारबाही नभएको भन्दै स्थानीयले प्रश्न उठाएका छन । सडक निर्माणमा सम्बन्धित निकायले कुनै चासो नदिएको स्थानीयको गुनासो छ। अहिलेसम्म सडकको भौतिक प्रगति जम्मा ३५ प्रतिशत मात्रै रहेको बताइन्छ।
कलेस्ती दोभानदेखि टुहुरेपसलसम्मको पश्चिम खण्ड तथा टुहुरेपसलदेखि मान्टेहटिया हुँदै पाँचसयफाँटसम्म पक्की नाला सहित कालोपत्र गर्ने कामको ठेक्का अवधि गत असारमै सकिएको थियो। तर निर्माण कार्य अझै अधुरै छ। यस्तै कलेस्तीको बिर्तादेखि टुहुरेपसलसम्मको करिब चार किलोमिटर सडक खण्डमा अझै ठेक्का प्रक्रिया नै अगाडि बढ्न सकेको छैन। बिर्तास्थित पाँउदीखोला र कलेस्तीखोलामा निर्माण हुनुपर्ने पुलको समेत कुनै टुंगो लागेको छैन।
सम्झौता भएको ३२ महिना बितिसक्दा पनि निर्माण कार्यले गति लिन नसक्दा स्थानीयले सडकको भविष्यप्रति नै शंका व्यक्त गर्न थालेका छन्। सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे संघीय मन्त्रालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसम्म गुनासो पुगेको बताइए पनि ठोस पहल नदेखिएको स्थानीयको भनाइ छ।
निर्माण कम्पनीको लापरबाहीका कारण सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटियासम्मका बासिन्दाले दशकौँदेखिको सडक सपनालाई अझै साकार रूप दिन पाएका छैनन्। पृथ्वी राजमार्ग अवरुद्ध भएको अवस्थामा प्रयोग गर्न सकिने वैकल्पिक मार्गका रूपमा हेरिएको यो सडक समयमै नबन्दा स्थानीयले बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती खेप्न बाध्य छन्।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले निर्माण कम्पनीको लापरबाहीका कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा सर्वसाधारणले ठूलो समस्या भोग्नुपरेको बताए। उनका अनुसार आयोजना सम्पन्न नहुँदा विकासका सम्भावना पनि प्रभावित भएका छन्।
यो सडकले व्यास नगरपालिका–७ कलेस्ती दोभान, वडा नं. ९ गजौडे र बिर्तासहित भानु नगरपालिकाका वडा नं. १०, ११, १२ र १३ लाई जोड्नेछ। साथै सडक सम्पन्न भएमा गोरखाको पालुङटारबाट पोखरा पुग्न पृथ्वी राजमार्गभन्दा करिब २० किलोमिटर दूरी कम हुने अपेक्षा गरिएको छ।
ठेक्का सम्झौता भएयता डिभिजन सडक कार्यालयमा चार जना प्रमुख फेरिए पनि आयोजनाको ढिलासुस्तीबारे कसैले जिम्मेवारी नलिएको भन्दै स्थानीयले सरकारको ध्यानाकर्षण गराएका छन्। रणनीतिक महत्व बोकेको यो सडक समयमै सम्पन्न नहुँदा तनहुँ र लमजुङको उत्तरी भेगका नागरिकले वर्षौंदेखि सास्ती खेपिरहेका छन्।
स्थानीयवासीको प्रश्न छ—जनताको आशा र आवश्यकता जोडिएको यो सडक निर्माणमा नयाँ सरकारले अब ठोस पहल गर्ला कि फेरि पनि आशामै सीमित बनाउनेछ?










