दसैँमा निधार खाली नहुँदा खुसी भए दमौली कारागारका कैदीबन्दी

दमौली : विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् ।

“दसैँका बेला निधार खाली हुन्छ की भन्ने चिन्ता थियो, तर त्यस्तो भएन, आफन्त आउनुभयो, टीका लगाइदिनुभयो,” तनहुँ कारागारमा जेल सजाय भोगिरहनुभएका एक कैदीबन्दीले खुसी हुँदै भन्नुभयो, “कारागारमै हुँदा पनि दसैँको टीका लगाउन पाएँ खुसी लागेको छ ।” कारागारमै रहनुभएका अर्का एक कैदीले पनि दसैँ टीका लगाउन पाएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कारागारमै टीका लगाउन पाउँदा घरमै बसेर दसैँ मनाए जस्तो भयो । कारागारभित्रको माहोल पनि दसैँमय बनेको छ ।”

कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएको थियो । दसैँमा कैदीबन्दीको निधार खाली नहोस् भन्ने उद्देश्यसहित टीका लगाउने व्यवस्था मिलाइएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ४० जना कैदीबन्दीलाई आफन्तले टीका लगाइदिएका थिए । एक जनाका कैदीबन्दीका तर्फबाट दश जनासम्म आफन्त आउनुभएको थियो ।

अधिकारीले भन्नुभयो, “समय व्यवस्थापन मिलाएर कैदीबन्दीलाई आफन्तको हातबाट टीका लगाउने व्यवस्था मिलाइएको थियो, टीका लगाउन पाउँदा उहाँहरुमा खुसीयाली छाएको छ ।” कैदीबन्दीले दसैँ मनाउनका लागि आवश्यकपर्ने खसीबोका खरिद गर्नका लागि कोष बनाएका छन् । कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन् । सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गरिएको छ ।

सरकारले दसैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई रु तीन सयका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मूढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका थिए । तनहुँ कारागारमा दुई सय ८२ कैदीबन्दी छन् । दसैँका लागि कैदीबन्दीले मुढा बुन्ने काम पनि गरिरहेका छन् । मुढा बुनेर कैदीबन्दीले घरमा दसैँ खर्च पठाउने गरेका छन् । कारागारमा बुनिएको मुढा रु तीन सय ५० देखि एक हजारसम्म बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँमा रु पाँच लाख बराबरको मुढा बिक्री हुने अनुमान गरिएको छ ।

यसैबीच नेपाली सेनाको कालीभञ्जन गण (इ), जिल्ला प्रहरी कार्यालय तनहुँ, सशस्त्र प्रहरी मनकामना बल भानुमा पनि सामूहिक टीका लगाइएको छ । सुरक्षा निकायमा कार्यरत सेना तथा प्रहरीलाई प्रमुखले टीका लगाइदिएका थिए । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker