कोशीको बाढीः कसैलाई डर, कसैलाई अवसर

सङ्गीता राई/रासस

धरान, (सुनसरी) : केही दिनको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बन्यो । राजधानी काठमाडौँलगायत आसपासको क्षेत्रमा अत्यधिक वर्षाले ठूलो विपत्ति निम्त्यायो । सयौँले ज्यान गुमाए भने अर्बौँको क्षति भयो । यसपटकको भीषण वर्षाले कोशी प्रदेशमा पनि ठूलो क्षति पुगेको छ । कोशीसहित विभिन्न नदीमा आएको बाढीले धेरैको उठिबास लगायो । कति पुल भत्किए, कति बस्ती उजाडिए । तर, नदी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर पनि बनेको छ ।

बराहक्षेत्र नगरपालिका–६ का वीरवल माझी कोशी नदीबाट दाउरा झिकेर परिवारको गर्जो टार्नुहुन्छ । उहाँले वर्षायामको बेला वर्षभरि पुग्ने दाउरा कोशीबाट सङ्कलन गर्दै आउनुभएको थियो । सङ्कलित दाउरा आफूले बाल्ने र धेरै भएमा बेचेर गुजारा चलाउने उहाँको पुरानै पेसा हो । यसपटकको बाढीले धेरै दाउरा बगाएर ल्याएपछि एक वर्षलाई पुग्ने गरी जोहो गरेको उहाँले बताउनुभयो । खाना पकाउनेदेखि आफूले पालेको १५ सुङ्गुर र पाँच भैँसीलाई कुँडो पकाउन एकवर्षका लागि दाउराको जोहो भएकामा उहाँ ढुक्क हुनुहुन्छ ।

“यो वर्ष मनसुन सकिने बेलामा बाढी आयो । घर अलि पर भएकाले केही क्षति हुन पाएन”, माझीले भन्नुभयो, “यस पटकको जस्तो बाढी कोशीमा आएको मैले अहिलेसम्म देखेको थिइँन । दाउरा पनि धेरै ल्यायो ।” तीन दिनको भारी वर्षाका कारण आएको बाढीले अहिले बराह क्षेत्रका धेरैजना दाउरा सङ्कलनमा व्यस्त छन् ।

माझीजस्तै मजदुरी गर्ने अधिकांश दसैँ खर्च जुटाउन रातदिन नभनी दाउरा सङ्कलन गरिरहेका छन् । चतराको कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन् । नदीको भेलले बगाएर ल्याएको दाउरा सङ्कलन गरेर जीविका चलाउनेको दैनिकी यतिबेला कोशी बगरमा बितेको छ । बाढीले किनाराका बासिन्दा त्रसित बने पनि माझीजस्ता कतिपयका लागि अवसर बनेको छ ।

बराहक्षेत्र–८ की सोभा चौधरी पनि कोशीबाट दाउरा निकालेर दसैँ खर्च जुटाइरहनुभएको छ । नदीबाट दाउरा निकालेर बगरमा राखेको देख्दा धेरैले सजिलो ठानेपनि ज्यानको बाजी राखेर भेलबाट दाउरा निकाल्नु चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । उहाँँ भन्नुहुन्छ, “सजिलो त कहाँ छ र दाउरा निकाल्न । निकै बल लगाउनुपर्छ । निकालेर राखेको दाउरा पनि कहिलेकाहीँ भेलले फेरि बगाइदिन्छ ।”

कोशीमा बाढी आएको बेला रातिदेखि किनारमा दाउरा सङ्कलन गर्नेको भीड लाग्छ । कोशीमा राम्रोसँग पौडिन सक्ने बलिया पुरुष डुङ्गा लिएर नदीको बीचसम्म पुगेर दाउरा सङ्कलन गर्छन् । महिला र पौडिन नआउनेहरु बगर छेउमा बसेर दाउरा सङ्कलन गर्छन् ।

जोखिम मोलेर कोशीबाट निकालिएको दाउरा बजारमा प्रति ट्याक्टर रु १२ हजारदेखि २० हजारसम्ममा बिक्री हुने गरेको बराहक्षेत्र–८ जितपुरका आसा चौधरी बताउनुहुन्छ । कतिपयले बाढीले बगाएर ल्याएको दाउरा एकदिनमै तीन देखि चार ट्याक्टरसम्म सङ्कलन गर्न भ्याउँछन् । उहाँले भन्नुभयो, “अरुबेला जङ्गलमा साइकल लिएर दाउरा खोज्न घण्टौँ लाग्छ, अहिले बाढीले ल्याएको दाउरा सङ्कलन गर्न सके वर्ष दिनलाई ढुक्क ।” पैसाको खाँचो परेको बेला दाउरा बेचेर पैसा पनि लिन सकिने उहाँ बताउनुहुन्छ ।

कोशी नदीको बीचमा रहेको बराहक्षेत्र वडा नं ६ र ९ कोशीटप्पुमा यतिबेला दाउराको बिस्कुन सुकाएझैँ दृश्य देखिन्छ । कोशीटप्पुका बासिन्दाको आम्दानीको मुख्य स्रोत बाढीले बगाएर ल्याएको दाउरा हो । बाढीले दाउरा मात्र होइन, ठूला रुख पनि बगाएर ल्याउने गर्छ । त्यहाँका युवाहरुले समूह बनाएर ठूल्ठूला रुख चिरेर राम्रो काठ निकाली बढी मूल्यमा बिक्री गर्ने गरेको कोशीटप्पुका स्थानीयवासी सन्तोष राजवंशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “माथिल्लो भेगमा वर्षा सुरु हुनासाथ यहाँका स्थानीय कोशीमा दाउरा निकाल्ने तयारीमा बसेका हुन्छौँ ।” कतिपयले नदी किनारमा हुत्तिएर आउने माछा मारेर पनि आम्दानी गर्ने गरेका छन् । सप्तकोशी नदीको बराहक्षेत्र चतरा, सिसौलीघाट, महेन्द्रनगर, राजावास, कोशी टप्पुलगायतका कोशी किनारक्षेत्रका बासिन्दाले बाँसको टाँगोको सहायताले दाउरा निकाल्ने गर्छन् । धेरैजसोले समूह बनाएर डुङ्गाको प्रयोगबाट कोशी नदीको भङ्गालोमै पसेर दाउरा निकाल्ने गर्छन् । पूर्वी पहाडी क्षेत्रबाट नदीमा बाढीसँगै बगेर आउने उत्तिस, खयर, साल, चिलाउनेको सिङ्गै रुख र हाँगाबिँगा सङ्कलन गर्ने क्रम यहाँ वर्षौंदेखि चल्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker