के वास्तवमै ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् ।

अर्कोतिर उत्पादक एवं विक्रेताले ग्रीन टि एकदमै लाभदायक पेय भएको दावी गर्दै आएका छन् । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको छ ।

कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न’ । कसैले ‘क्यान्सर प्रतिरोधी’ त कसैले ‘छालाको चमक बढाउने’ पेयको रुपमा ग्रीन टि पिउने गरेका छन् ।

के वास्तवमै फाइदा गर्छ ग्रीन टिले ?

ग्रीन टिमा त्यस्तो के तत्व हुन्छ, जसले रक्तचाप, मोटोपन घटाउनदेखि क्यान्सरको जोखिमसम्म कम गर्छ ?

यसबारे अन्तर्राष्ट्रियस्तरमै फरक-फरक अध्ययन भएको छ । नेशनल लाइब्रेरी अफ मेडिसिनमा प्रकासित एक अध्ययन अनुसार ग्रीन टिमा मोटोपन नियन्त्रणदेखि क्यान्सर प्रतिरोधी तत्व हुन्छ । टाइम म्यागेजिनको एउटा रिपोर्टमा ग्रीन टिले प्राकृतिक रुपमा उच्च रक्तचाप घटाउने उल्लेख छ ।

क्यान्सर प्रतिरोधी तत्व

ग्रीन टिमा एपिगालोक्टेचिन ग्यालेट (ईजीसीजी) फ्लेभोनोइड परिवारको एक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले हाम्रो शरीरमा फ्रि रेडिकल्सको कारण हुनसक्ने क्षतिलाई रोक्छ । फ्रि रेडिकल्स त्यही हो, जसले शरीरको कोशिकालाई नष्ट गर्छ र क्यान्सरको जोखिम बढाइदिन्छ ।

द मेडिकल टुडेमा प्रकासित एक रिपोर्टमा ग्रीन टिको उपभोग गर्ने देशहरुमा केही क्यान्सरको दरहरु कम भएको दावी गरिएको छ । सन् २०२० मा समीक्षा गरिएको सय भन्दा बढी अध्ययनको निचोड छ, क्यान्सरको जोखिम कम गर्नमा ग्रीन टि प्रभावकारी देखिएको छ ।

पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पनि यो कुरामा सहमत छन् । उनी भन्छन्, ‘यसमा एन्टि अक्सिडेन्ट प्रचुर मात्रामा पाइने भएकाले फ्रि रेडिकल्ससँग लड्छ र क्यान्सरको जोखिम कम गराउँछ ।’ क्यान्सर हुने तत्वलाई हावी हुन नदिन ग्रीन टिले राम्रो काम गर्ने उनको भनाई छ ।

रक्तचाप नियन्त्रण गर्छ

ओम अस्पतालमा कार्यरत डा. कमल शर्मा लम्साल भन्छन्, ‘यसमा पाइने पोलिफेनोलसले उच्च रक्तचाप र ब्लड सुगरको स्तर घटाउँछ । साथै रक्तनलीमा जमेको बोसोजन्य पदार्थलाई टुक्राएर मुटु तथा मस्तिष्कको कार्य संचालनलाई सहज बनाउँछ ।’

ब्रिटिश हार्ट फाउन्डेशनले गरेको अध्ययनले पनि दिनँहु ग्रीन टी पिउँदा मुटुको धमनीहरू खुला र नरम बनाउँछ । फलत यसले हृदयघातको जोखिम कम गर्छ ।

यता, फोर्ब्स हेल्थकाअनुसार २०१६ मा यस विषयमा विभिन्न ९ वटा अध्ययन भएका थिए । सो अध्ययनलाई विश्लेषण गर्दा दैनिक तीन कप ग्रीन टि पिउनेमा मस्तिष्क र हृदयघातको जोखिम कम हुने देखिएको थियो ।

मोटोपन नियन्त्रण

मेडिकल न्युज टुडेको एक रिपोर्टमा ग्रीन टिले कसरी मोटोपन घटाउँछ भन्ने तथ्य पेश गरेको छ । त्यस अनुसार ग्रीन टिले मेटाबोलिज्मलाई अरु प्रभावकारी बनाउँछ । मेटाबोलिज्म भनेको हामीले खाएको कुनैपनि खानेकुरालाई उर्जामा रुपान्तरण गर्ने प्रक्रिया हो । ग्रीन टिमा क्याफिन र क्याटेचिन हुन्छ, जसले खानेकुरा पचाउनमा सहयोग गर्छ ।

सन् २०१० मा प्रकासित एक समीक्षामा ग्रीन टिले तौल नियन्त्रण गर्न सक्ने उल्लेख छ । ग्रीन टिमा उपलब्ध कतिपय यौगिकले शरीरमा भएको बोसोलाई टुक्राउँछ । आठ हप्ताको एक अध्ययनमा के पाइएको थियो भने ग्रीन टि पिउने र साथसाथै व्यायाम पनि गर्ने हो भने तिब्र रुपमा फ्याट बर्न हुन्छ ।

‘सही ढंगले पिउँदा लाभदायक’ : आहारविज्ञ डा. राजु अधिकारी

ग्रीन टि एक स्वस्थ्यवर्द्धक पेय हो । यसले मोटोपन घटाउने, रक्तचाप नियन्त्रण गर्ने, मुटु र मस्तिष्कको कार्यक्षमता चुस्त बनाउने जस्ता अनेक लाभ छन् । ग्रीन टिले कसरी यस्तो काम गर्छ भन्ने कुरामा विश्वभर थुप्रै अध्ययन भएका छन् । र, सदियौंदेखि यसको प्रयोग हुँदै आएको छ ।

यो एन्टि अक्सिडेन्टको समृद्ध स्रोत हो । यही गुणको कारण ग्रीन टिले मुटुलाई फाइदा गर्नेदेखि क्यान्सरको जोखिम कम गर्नेसम्म भूमिका खेल्छ । त्यसका साथै ग्रीन टिमा पोटासियम, म्याग्नेसियम, भिटामिन बि–२ जस्ता सुक्ष्म पोषक तत्व पाइन्छ ।

ग्रीन टिले एन्टि एजिङको रुपमा पनि काम गर्छ र शरीरको छालामा चमक कायम राख्छ । यसमा पाइने एमिनो एसिडएल—थिएनिनले डोपामाइन, सेरोटोनिन जस्ता हर्मोन उत्पादन गर्छ, जसले मस्तिष्कलाई उत्साहित र उमंगित बनाइराख्छ ।

ग्रीन टि एकदमै लाभदायक छ भन्ने कुरामा अब द्विविधा छै्रन । तर, यो कुनै औषधि होइन जसले तुरुन्तै प्रभाव पार्छ । ग्रीन टिको प्रभाव शरीरमा क्रमस पर्ने हो । नियमित रुपमा पिउनेहरुलाई यसले लाभ गर्छ ।

यसमा पनि मान्छेको शारीरिक अवस्था, जीवनशैल आदिको असर हुन्छ । यदि तपाईं सही खानपान गर्नुहुन्छ, व्यायाम गर्नुहुन्छ भने ग्रीन टि तपाईंको शरीरले बढी लाभ लिन्छ । तर, त्यस विपरित तपाईंको जीवनशैली खराब छ भने ग्रीन टिले कुनै रोग छु मन्तर हुने होइन ।

नेपालीमा एउटा भनाई छ, अतिले हुन्छ क्षति । ग्रीन टिको हकमा पनि यसै भन्नुपर्ने हुन्छ । ग्रीन टि दिनमा तीनदेखि चार गिलास (मझौला आकारको) पिउनु उत्तम हुन्छ ।

यसैगरी ग्रीन टि खाली पेटमा पिउनु हुँदैन । गर्भवती, रक्तचाप न्युन भएकाहरुले पनि ग्रीन टि पिउनु उचित हुन्न । कुनै रोगको उपचार गराइरहेका वा औषधि खाइरहेकाहरुले ग्रीन टि पिउनुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker