बन्दीपुरको छापमा नवौं छपेली कप फुटबल प्रतियोगिता शुरु
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुर गाउँपालिका-१ छापमा शुक्रबारबाट नवौं छपेली कप फुटबल प्रतियोगिता शुरु भएको छ । स्व. बाबुराम पाटा र स्व. लालबहादुर पाटा मगरको स्मृतिमा प्रत्येक वर्षमाघे संक्रान्ति पर्व लक्षित गरी फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइएको छ ।
प्रतियोगिताको एक कार्यक्रमका बीच बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बल हस्तान्तर गरी शुभारम्भ गरेका थिए । खेलले शारिरीक तन्दुस्ती राख्नुका साथै अनुशाशित बनाउने र आपसी भाईचराको भावनालाई बढावा दिने अध्यक्ष थापाले बताए ।
उनले भने, ‘पालिकामा खेलका गतिविधि बढाउनका लागि आवश्यक बजेटको ब्यवस्था गरिएको र आगामी दिनमा पनि खेल क्षेत्रलाई प्राथमिकता दिने योजना गाउँपालिकाले बनाएको छ ।’
छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष विजय रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष भानुभक्त पोख्रेल, वडा सदस्यहरु, स्थानीय समाजसेवी, बुद्धिजिबी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
‘सामाजिक अन्तर सम्बन्धका लागि खेलकूद’ भन्ने नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगिता दुइ विधामा खेलाईने आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष रानाले जानकारी दिए ।
शुक्रबारको उद्घाटन खेलमा जलदेबी युवा क्लब बन्दीपुर-३ ले आयोजक छपेली साँस्कृतिक युवा क्लब बी लाई ० का विरुद्ध ५ गोल गरी जलदेवी अर्को चरणमा प्रवेश गरेको छ भने खेलको म्यान अफ दि म्याच जलदेवीका अनिश खड्गी भएका छन् ।
खुल्ला सेभेन ए र्साईड नक आउट फुटबल तर्फको विजेता टिमलाई एक लाख २५ हजार १२५ रुपैयाँ, उपविजेता टिमलाई ६१ हजार ६१ रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाण-पत्रद्वारा पुरस्कृत गरिने भएको छ ।
यस्तै, सेमिफाइनल पुग्ने दुइ टिमलाई नगद १०/१० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष रानाले बताए । सर्वोत्कृष्ट खेलाडी, र्सवाधिक गोलकर्तालाई जनहि नगद २ हजार ५ सय र अनुशासित टिमलाई ५ हजार रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ ।
त्यसैगरी ३० वर्षउमेर भन्दा माथिकाको भेट्रन्स तर्फपहिलो पुरस्कार भेंडा र दोस्रो पुरस्कार बोका रहेको आयोजकले बताएको छ । छाप खेल मैदानमा आगामी माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि खुल्ला तर्फ३५ टिम र भेट्रन्स तर्फ१५ टिमको सहभागिता रहेको आयोजकले बताएको छ ।










