साजनले जिते आदिकवि-छाब्दी मिनि म्यारथनको उपाधी

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले आयोजना गरेको ‘आदिकवि क्याम्पस-छाब्दी बाराही मिनि म्याराथन’ प्रतियोगिताको उपाधी साजन थापाले जित्न सफल भएका छन् । २१ मिनेट ५५ सेकेण्डमा दुरी पार गर्दै १८७ नम्बरका साजनले उपाधी आफ्नो कब्जामा पार्न सफल भएका हुन् । यस्तै प्रतियोगितामा ०७ नम्बरका अमृत विश्वकर्माले २२ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै द्धितीय भएका छन् भने, १७८ नम्बरका नर बहादुर गुरुङले २४ मिनेट ६ सेकेण्डमा दुरी पार गर्दै तृतीय हुन सफल भएका छन् ।
क्याम्पसको खेल सप्ताहको अवसरमा आयोजित उक्त प्रतियोगितामा छात्रा तर्फ १२५ नम्बरकी नरमाया गुरुङले २७ मिनेट २५ सेकेण्डमा दौड पुरा गरी प्रथम भएकी छन् । १५६ नम्बरकी चतेना कटुवालले ३२ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै द्धितीय भएकी छन् भने ४० मिनेटमा दुरी पार गर्दै सचिन आले तृतीय भएकी छन् ।
प्रतियोगिताका विजयीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए । दुइ सय जना धावकको सहभागिता रहेको प्रतियोगिताको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गरेका थिए । छाब्दी वाराही विकास कोष र वाराही रजवाम युवा क्लवले प्रतियोगिताको संयोजन गरेका थिए।










