भिमादमा अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु

तनहुँको भिमादमा राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीले राष्ट्रिय युवा संघ कप अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०८० शुरु गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भिमाद ८ ले भिमाद-६ लाई २-१ को सेटले पराजित गरेको छ । शुक्रवार विहान ९ बजेदेखि खेल शुरु हुने प्रचार संयोजक शिव आलेले जानकारी दिए ।
भिमाद नगरपालिकासँग जोडिएका ५ पालिकाका वडाहरुबाट १७ समुहको प्रतियोगितामा सहभागिता रहेको छ । प्रतियोगितामा भिमाद, म्याग्दे, हरिनाश, चापाकोट, शुक्लागण्डकी र घिरिङका पालिकाहरुले सहभागिता छ ।
प्रतियोगितामा प्रथम, द्धितीय तृतीय र सान्त्वना हुने समुहले क्रमशः ७० हजार, ४० हजार, २० हजार र १० हजार रुपैयाँका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले नेपालमा बसेर केही हुँदैन भन्ने भाष्य निर्माण गरिएको अहिलेको अवस्थामा स्वदेशमै रहेर पनि केही सकरात्मक कार्य गर्न सकिन्छ भन्ने सन्देश युवा संघले दिएको चर्चा गरे ।
भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले प्रतियोगिताले खेल क्षेत्रको प्रवर्द्धनका साथै भिमादको प्रचारमा टेवा पुग्ने विश्वास गरे । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीका अध्यक्ष बुद्धि बहादुर मल्ल विजयको अध्यक्षतामा भएको कार्यक्रममा एमाले तनहुँका उपाध्यक्ष हरिराज कँडेल, नेता विष्णुभक्त सिग्देल, युवा संघका सचिव डम्बर थापा लगायतले खेल क्षेत्रको विकास र यसले मानव स्वास्थ्यमा पार्ने सकरात्मक भ्रभावका विषयमा चर्चा गरेका थिए।
यस्तै, प्रतियोगिताबाट बचत रहेको रकम पनि विपन्न परिवारको घर निर्माण, मृगौला पीडितलाई सहयोग गर्ने संघले जनाएको छ। भिमाद रंगशालामा शुरु प्रतियोगिता चैत १८ गते सकिने छ ।










