आहा रारा पोखरा गोल्डकप : आर्मी बन्यो च्याम्पियन

पोखरा । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।
यसअघि ४ पटकसम्म फाइनल पुगेर उपाधि जित्न सकेको थिएन । आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक-एक गोल गरे । जिलेस्पीले खेलको ३८औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए ।
आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए ।
च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्यो ।
उपाधिसहित विधागत पुरस्कारमा आर्मीको वर्चश्व
मोफसलको परिचित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा शीर्ष उपाधिसहित विधागत पुरस्कारमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेको छ ।
आर्मीले वर्षोत्कृष्ट खेलाडीसहित ६ विधाबाट पुरस्कृत भएको छ । आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरियो ।
आर्मीका विमल पाण्डे खेलकै उत्कृष्ट खेलाडी घोषित भए । उनले बेस्ट प्लेयर अवार्डसँगै टेल्जी स्कुटर प्राप्त गरे । उनी प्रतियोगिताको बेस्ट डिफेन्डर अवार्ड पनि पाएका छन् ।
आर्मीकै दिनेश हेन्जन ३ गोलसहित जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । आर्मीकै विमल पाण्डे बेस्ट डिफेन्डर बन्दा जिलेप्सीजंग कार्की बेस्ट फरवार्ड बने । त्यस्तै, आर्मीलाई पहिलो पटक आहाराराको उपाधि जिताएका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।
आर्मीकै भरत खवास र थ्रीस्टारका गोल रक्षक पब्लिक च्वाइस अवार्ड पाउँदा आर्मीका गोल रक्षक समित श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट गोल रक्षक बनेका छन् ।
प्रतियोगितामा फेयर प्ले अवार्ड र बेस्ट मिडफिल्डर अवार्डमात्रै आर्मी बाहेकको टिमले जित्यो । फेयर प्ले अवार्ड जावलाखेल युथ क्लबले जितेको छ भने बेस्ट मिडफिल्डर थ्रीस्टारका विवेक पौडेल बनेका छन् ।
शीर्ष उपाधि विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।
कसले के पाए ?
वर्षोत्कृष्ट खेलाडी : विमल पाण्डे, आर्मी
सर्वाधिक गोलकर्ता : दिनेश हेन्जन, ३ गोल, आर्मी
फेयर प्ले : जावलाखेल
बेस्ट डिफेन्डर : विमल पाण्डे, आर्मी
बेस्ट मिडफिल्डर : विवेक पौडेल, थ्रीस्टार
बेस्ट फरवार्ड : जिलेप्सीजंग कार्की, आर्मी
बेस्ट किपर : समित श्रेष्ठ, आर्मी
बेस्ट कोच : मेघराज केसी, आर्मी
पब्लिक च्वाइस अवार्ड : भरत खवास (आर्मी) र अभिषेक बराल (थ्रीस्टार)










