प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सीले जित्यो
भञ्ज्याङन्यूज

तनहुँको दमौलीमा आयोजित प्रथम राष्ट्रिय दरै कपको उपाधि दुम्सी दरै इकाइ व्यास-१० ले जितेको छ । नेपाल दरै समाज तनहुँले आयोजना गरेको दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा आयोजक दरै समाज तनहुँलाई हराउँदै दुम्सीले उपाधि जितेको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुम्सी ट्राइबेकरमार्फ विजयी भएको हो। दुम्सीले आयोजक दरै समाजलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गरेको छ। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । निर्धारित समयमा दुवै टोलीका लागि गोल गर्ने अवसर भएपनि त्यसको सदुपयोग हुन सकेन ।
शनिबारै भएको सेमिफाइनलमा चितवनको मंगलपुरलाई हराउँदै दुम्सी दरै इकाइ व्यास-१० फाइनलमा पुगेको थियो । उक्त खेलमा दुम्सी दरै इकाइ २-० ले विजयी भएको थियो ।
दोस्रो सेमिफाइनल खेलमा साँखर दरै इकाइ व्यास-४ लाई हराउँदै आयोजक दरै समाज तनहुँ फाइनल पुगेको थियो। उक्त खेलमा दरै समाज १-० गोलले विजयी भएको थियो ।
उपाधिसँगै दुम्सी दरै इकाइले रु एक लाख एक हजार १११ र ट्रफी प्राप्त गरेको छ । उपविजेता दरै समाज तनहुँ भने रु ५१ हजार १५१ नगद र ट्रफी हात पारेको छ ।
दरै जातिका युवामात्र सहभागी उक्त प्रतियोगिता यही माघ १५ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा छवटा जिल्लाका २३ समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको दरै समाज तनहुँका सचिव विजय दरै जानकारी दिनुभयो ।
नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसंख्या छ । दरै जातिका युवामा खेलकुदप्रति आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको समाजका अध्यक्ष ठाकुर दरैले बताए ।










