कृषकलाई उन्नत जातका बिउ वितरण
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ को कार्यालयले कृषकहरुलाई उन्नत जातका तरकारीको बिउ विजन वितरण गरेको छ । कार्यक्रममा वडाका ३३ टोलबाट ५६ जना कृषकलाई बिउ वितरण गरिएको वडा सदस्य ज्योति वि.क.ले जानकारी दिइन् ।
गतमहिना ४ दिने कृषक तालिम लिएका सहभागीहरुलाई उन्नत जातका तरकारीको बिउ उपलब्ध गराइएको उनले बताइन् । वडा सदस्य वि.कका अनुसार कृषकहरुलाई काक्रो, घिरौला, करेला, फर्सी, सिमी, लौकाको बिउ प्रदान गरिएको हो ।
बेलचौतारास्थित तालडाँडा सामुदायिक भवनमा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, वडा नं. ५ का अध्यक्ष दीर्घबहादुर थापा लगायतले कृषकलाई बिउ हस्तान्तरण गरेका थिए ।
सो अवसरमा नगरप्रमुख पण्डितले विकास निर्माण गाउँतर्फ केन्द्रित हुँदा त्यहाँका उर्बर भूमि झाडीमा परिणत हुँदै गएको बताउदै अब गाउँ फर्किएर उत्पादनमा लाग्नुपर्ने समय आएको बताए । ‘विदेशमा थोरै किसानले गरेको उत्पादनले बढि भएर निर्यात गर्ने पुग्छ’, उनले भने, ‘तर हामी कहाँ धेरैले गरेको उत्पादनले थोरैलाई पुग्न सकेको छैन । परनिर्भता बढ्दै गएको छ । अब कृषिलाई प्रविधिसंग जोड्नुपर्छ।’
उनले देशलाई समृद्धितर्फ लैजान उत्पादनसंग जोडिनु पर्ने बताए । हाल कृषि उपज उत्पादन नहुँदा नगरपालिकाले बनाएको कृषि संकलन केन्द्र प्रयोगमा ल्याउन नसकिएको भन्दै दिगो विकासका लागि कृषिको विकल्प नरहेको उल्लेख गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लामगादेले वडा नं. ५ ले जोश जागरका साथ काम गरेको बताए । स्थानीय बाबुराम कार्कीले भएका विकास निर्माणका काम गुणस्तरीय भए नभएकोतर्फ सम्बन्धित व्यक्ति तथा संस्थाले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
वडाध्यक्ष दीर्घबहादुर थापाले सिमित श्रोत र साधनले गर्दा सोचे अनुसार काम गर्न नसकिएको बताए । हाल जेजति कामहरु भएका छन् त्यसमा चित्त बुझाउन वडावासीमा आग्रह गर्दै उनले चुनावका प्रतिवद्धताहरु पुरा गर्दै जाने बताए ।
वडा कार्यालयले चालु आर्थिक वर्षको पौष मसान्तसम्मको अर्धवार्षिक प्रगति विवरण समेत सार्वजनिक गरेको छ । सो अवसरमा वडा सचिव मञ्जु शर्माले चालु आर्थिक वर्षको ६ महिनामा १५ लाख ४ हजार रुपैया राजश्व संकलन भएको जानकारी दिइन् ।
उनका अनुसार घट्ना दर्ता ९५, वडा समितिको बैठक १७ पटक बसेको छ । वडा र नगरको गरी कुल ४० वटा योजना रहेकामध्ये १५ वटा सम्पन्न भइसकेको प्राविधिक सुजता गिरीले जानकारी दिइन् । यसमध्ये १० वटाको भुक्तानी भइसकेको छ ।










