४५ वर्षमाथिका महिलाहरु बीच मिनी म्याराथन, भादगाउँकी भगवती प्रथम

दमौली : ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा तनहुँमा ४५ वर्षमाथिका महिलाहरूको मिनी म्याराथन दौड प्रतियोगिता गरिएको छ। व्यास नगरपालिका–१ स्थित विज्ञानचौर योग साधना केन्द्र, विज्ञानचौर टोल विकास संस्था र विज्ञानचौर आमा समूहको संयुक्त आयोजनामा आइतबार प्रतियोगिता गरिएको हो।
व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस अगाडिबाट प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरसम्मको करिब ६ किलोमिटर दूरीको मिनी म्याराथनमा भादगाउँकी भगवती श्रेष्ठले ४३ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै प्रथम भएकी छन् । उक्त ४३ मिनेट ५८ सेकेन्डमा पार गर्दै बसन्ता थापा द्धितीय भएकी छन् भने कल्पना पाण्डेले ४४ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै तृतीय हुन सफल भएको एथलेटिक्स राष्ट्रिय रेफ्री विश्वास केसीले जानकारी गराए ।
कार्यक्रमकमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाकी प्रमुख ब्रह्माकुमारी यमुना पुनले विजेता धाविकाहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पाँच हजार ५५५, चार हजार ५५५ र तीन हजार ५५५ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी शान्ति कुमारी आले चौथो र कविता रानाभाट पाँचौँ स्थान प्राप्त गरेकोमा क्रमशः एक हजार ५५५ र एक हजार ५५ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पतञ्जली योग समिति तनहुँका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले योग साधनाबाट स्वास्थ्य सुदृढ बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश दिन प्रतियोगिता आयोजना गरिएको बताए । उनले जिल्लामै पहिलो पटक आयोजना गरिएको यस दौड प्रतियोगितामा योग साधना गर्ने महिलाहरूले मात्र सहभागिता जनाएको बताए ।
प्रतियोगितामा भगवती घिमिरे, मंगली श्रेष्ठ, भगवती श्रेष्ठ ‘ख’, सपना दवाडी र अम्बिका भट्टराईलाई सान्त्वना स्वरूप पाँच सय रुपैयाँका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विज्ञानचौर टोल विकास संस्थाका अध्यक्ष भरतराज पन्थको सभापतित्वमा आयोजित प्रतियोगितामा ४५ वर्षमाथिका ७० जना महिलाको सहभागिता रहेको थियो ।










