तनहुँको दमौली स्थित करङकाठमा पाँच युवाले सञ्चालन गरे फुटसल
तनहुँका पाँच जना युवाहरुले फुटसल सञ्चालनमा ल्याएका छन् । उनिहरुले करिब एक करोड रुपैयाँको लगानीमा व्यास नगरपालिका-१ करङकाठमा फुटसल सञ्चालनमा ल्याएका हुन् ।
फुटबलप्रति अत्यन्तै आकर्षण रहेको यस ठाउँमा बजार बाक्लिँदै गएपछि खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक सन्तोष दरैले बताए । तीन रोपनी जग्गा भाडामा लिएर तीन वटा मैदान बनाइएको छ । उक्त मैदानमा सेभेन ए साइडको एक र पाँच ए साइडको दुइ खेल एकैसाथ खेल्न मिल्ने बनाइएको छ ।
“दमौलीका युवा तथा बालबालिकामा फुटबलप्रति निकै मोह छ, तर ठाउँ अभावका कारण सबैले खेल्ने इच्छा हुँदाहुँदै पनि खेल्न पाउनुभएको छैन”, उनले भने, “त्यही अभावलाई पूरा गराउन फुटसल सञ्चालनमा ल्याएका हौ ।” फुटसलमा स्थानीय युवा नरेन्द्रराज शर्मा, अविनाश कैनी, सागर शाही, विवेक आचार्यको संयुक्त लगानी छ ।
पाँच ए साइडमा दुइ टोली गरी दश जना खेल्न मिल्ने र सेभेन ए साइडको १४ जना खेल्न मिल्ने फुटसलका लागि प्रतिव्यक्ति पाँच ए साइडमा रु १२० र सेभेन ए साइडमा प्रतिव्यक्ति रु १५० शुल्क निर्धारण गरिएको छ । बल, खानेपानी र प्राथमिक उपचारका सामग्री फुटसलमै उपलब्ध गरिएको छ ।
यस ठाउँलाई फुटसलको ट्रेनिङ सेन्टर बनाउने लक्ष्य राखिएको छ । खेलकूदमा आकर्षण बढाउन र बालबालिकालाई सानैदेखि फुटबलमा दक्ष बनाउने उद्देश्यसहित निकट भविष्यमा ट्रेनिङ सेन्टर पनि स्थापना गरिनेछ । साथै सोही ठाउँमा व्याडमिन्टन कोर्टसमेत बनाउने लक्ष्य राखिएको बताइएको छ ।
फुटसल भनेको ‘मिनी’ फुटबल हो । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । फाउल, प्रिmकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुइ मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश गर्न पाउँछ ।
यो खेल सन् १९३० मा उरुग्वेका जुहान कार्लोस सेरियानीले शुरु गरेको इतिहास छ । उरुग्वेको स्थानीय भाषामा यसलाई ‘फुटोबल डे सालोना’ भनिन्थ्यो । फुटबलको नियमलाई आधार मानेर सेरियानीले फुटसलको नियम समेटेर नियम पुस्तिका प्रकाशन गरे । सन् १९३० को पहिलो फुटबल विश्वकप जितेपछि उरुग्वेमा फुटसल खेल्न थालिएको हो ।










