बन्दीपुर गाउँपालिका–५ कल्चोकका युवाहरुले बनाए खेलमैदान

बन्दीपुर गाउँपालिका–५ कल्चोकका युवाहरुले श्रमदान गरेर खेलमैदान निर्माण गरेका छन् । स्थानीय टिकामाया सारु र रेशम सारुले खेलमैदान निर्माणका लागि पाँच वर्षका लागि जग्गा उपलब्ध गराएपछि युवाहरुले खेलमैदान निर्माण गरेका हुन् ।
स्थानीय युवा खेलतर्फ आकर्षित भएसँगै बन्दीपुर–५ का वडा सदस्य मदन पाटाको समन्वयमा कल्चोकमा खेलमैदान निर्माण गरिएको छ । खेलमैदान निर्माणका लागि जनप्रिय बाल क्लबका युवाले श्रमदान गरेका छन् । खेलमैदानको काम लगभग सकिएको वडा सदस्य पाटाले जानकारी दिनुभयो ।
“खेलमैदान निर्माणका लागि जग्गा थिएन, स्थानीय आमा छोराले पाँच वर्षका लागि चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभयो,” उहाँले भन्नुभयो, “सोही जग्गा सम्याएर खेलमैदान निर्माण गरेका छौ, बाल क्लवका २० भन्दा बढी युवाले दैनिक श्रमदान गरेका छन् ।” खेलमैदान निर्माणका लागि याम्पा सामुदायिक वनले रु ५० हजार सहयोग गरेको थियो ।
यहाँका युवा फुटबलतर्फ आकर्षित छन् । फुटबल खेल्नका लागि पर्याप्त जग्गा नहुँदा भञ्ज्याङमा सानो मैदानमा युवाहरु फुटबल खेल्दथे । “सानो मैदान थियो, त्यही थोरै समूह बनाएर फुटबल खेल्ने गर्थे,” उहाँले भन्नुभयो, “अब त मैदान पनि ठूलो भयो ।”










