पर्यटन, गुरुङ र घले जातिको आदिम थलो घलेगाउँ

लमजुङको क्व्होलासोथर अर्थात घलेगाउँ, भुजुङगाउँ लगायतका भूगोल गुरुङ र घलेहरुको आदिम थलो हो । अहिले गाउँपालिकाको नामनै क्व्होलासोथर राखिएको छ । क्व्होलासोथर गुरुङ भाषाको शब्द हो। यसको शाब्दीक अर्थ आदिम थलो हुन्छ । अर्थात गुरुङ र घले जातीहरुको आदिम थलो । अहिले बाग्लुङपानी, मालिङ, उत्तरकन्या, भोजे, सिङदी, गिलुङ र भुजुङ सबै गाउँहरु क्होंलासोंथरमा पर्दछ । घलेगाउँमा घले राजाले शासन गरेको इतिहास छ । वंशावलीअनुसार घले जातिका पुर्खा चेडेल्के नम्रुच्युख्याल्साका राजा थिए । कालान्तरमा उनका सन्तानहरु क्होंल, ख्होल क्होंल र पोंचोंको कोइम्लीनासाका राजा भए । घलेगाउँका पहिलो राजा थोपकुइच्यू हुन भने अन्तिम राजा क्याल्पोरुजाक्ले थिए। गुरुङ भाषामा घलेगाउँलाई कोइम्ली, घलेलाई ल्के, राजालाई म्रु र राज्यलाई ख्याल्सा भनिन्छ।
घलेगाउँमा तिनै अन्तिम राजा क्याल्पोको प्रतिमासहित घलेपार्क बनाइएको छ । पछिल्लो समय क्व्होलासोँथर गाउँपालिका भित्र पर्ने घलेगाउँ, भुजुङ लगायतका सबै गाउँहरु पर्यटकियस्थल गाउँ भएका छन । चिटिक्क परेको सुन्दरबस्ति, पुराना र मौलिक पाराका घर अनि आँखै अगाडि देखिने सेता हिमश्रृंखला र पहाडी दृष्य । बाह्रै महिना चिसो मौसम अनि ढुंगा बिछाएका गाउँमा बनेका पदमार्गहरु। गाउँभरि नै मंगोलियन अनुहार, पुख्र्यौली भाषा अनि आफ्नै भेषभुसा र मातृभाषामा कुराकानी। यो हो क्व्होलासोँथरमा पर्ने घलेगाउँको परिचय हो । आजभोली सार्क राष्ट्रकै नमुना गाउँको उपाधि समेत पाएको घलेगाउँ पर्यटकीय गाउँ बनेको छ । घलेगाउँमा बाह्रै महिना आन्तरिक र बाहृय पर्यटक पुग्ने गर्दछन । घलेगाउँमा पर्यटकको सत्कारसँगसँगै घरबास अर्थात होमस्टेमा आफ्ना कला, वेशभूषा, संस्कार, संस्कृति जोगाइ राखेका छन । घरवासमा बास बस्ने पर्यटकहरुलाई घलेगाउँ बासीको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ ।
घलेगाउँमा ‘स्मार्ट भिलेज’ बनाउने अभियानसँगै गाउँका सबै घरमा उस्तै देखिने गरी रातो रंगको जस्ताले छाना छाइएको छ। पाँच दशक पुराना टिन ढुङगाका छाना फेरेर राता रगिन छानाले घलेगाउँलाई सजाइएको छ । पर्यटनको विकासले घलेगाउँलाई दक्षिण एसिया मै नमूना ग्रामीण पर्यटकीय गाउँका रुपमा चिनाएको छ । घलेगाउँ प्राकृतिक सौर्न्दर्यका साथै मौलिक कला, परम्परा र साँस्कृतिक पक्षले पनि उतिक्कै धनी छ । पर्यटकहरुका लागि गाउँमा हिड्डुल गर्न गाउँ भित्रका सिँढी मार्गहरु निर्माण एवं मर्मत गरी गाउँलाई सफासुग्घर गरी चिटिक्क बनाइएको छ । गाउँमा बाटो वरपर फूल रोपिएका छन।
घलेगाउँ पुग्ने पर्यटकहरुले ‘स्मार्ट भिलेज’को बारेमा जान्न खोज्दछन । स्मार्ट सिटी अथवा भिलेज पछिल्लो समयमा विश्वभर सहरी विकास योजनाका खाका र दस्तावेजहरुमा प्रयोग हुन थालेको अवधारणा हो । स्मार्ट सिटीको अवधारणाले सूचना प्रविधिको पहुँचलाई मात्र मापन गर्दैन यसले नगर र गाउँको सबै स्रोतको वितरण, स्रोतको परिचालन, भौतिक विकास र सुविधाको वितरणमा प्रविधिको प्रयोग अनिवार्य गरिएको हुन्छ। भिलेजमा स्थानीय सार्वजनिक सम्पत्तिहरु जस्तै विद्यालय, पुस्तकालय, यातायात, अस्पताल, खानेपानी, फोहोर व्यवस्थापन, कानूनी परामर्श वा सामुदायिक सेवाहरु सबैमा प्रविधि र दिगो विकासका सिद्धान्तको उचित तालमेल हुनुनै स्मार्ट सिटी अथवा भिलेजको अवधारणा हो । विश्वव्यापी रुपमा स्मार्ट सिटीको कुनै सर्वस्वीकार्य परिभाषा त छैन । तर, स्थानीय आवश्यकतामा आधारित भएर प्रविधिको प्रयोगले मानव जीवनको गुणस्तरताका लागि स्रोतसाधन समुचित वितरण, उपयोग र संरक्षण गर्नु भनेकै स्मार्ट सिटीको अवधारणा हो । घलेगाउँमा पुग्दा पर्यटकहरुलाई हिमालको मनोरम दृष्यले लोभ्याउछ । हिमालको काखको घलेगाउँबाट पर्यटकहरुले माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली डा. हर्क पिक हिमाल, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सक्दछन् । पर्यटक आँखा अगाडिको हिमालको दृष्यमा फोटो खिच्न मन पराउँछन् ।
घलेगाउँ समुन्द्री सतहदेखि २१ सय मिटरको उचाईमा रहेको छ । घलेगाउँबाट टाढासम्म दृष्यावलोकन सूर्योदयको अवलोकन गर्न सकिन्छ । आँखै अगाडि टल्किएको हिमालले पर्यटकलाई मोहनी लगाउँछ । गाउँमा रहेको उत्तरकन्या देवीको मन्दिर र कुवाले गाउँलाई आकर्षक बनाएको छ । देवीको मन्दिरका मूर्तिहरु उत्तर दिशातर्फ फर्किएको हुँदा यसअघि साविक गाविसको नाम पनि घले उत्तरकन्या राखिएको थियो । घलेगाउँमा गुरुङ र घले राजाको बगैंचा, गुरुङ जातिको हस्तकला, चिया बगानसमेत अवलोकन गर्न पाइन्छ । घलेगाउँको संस्कार र संस्कृतिमा घलेगाउँ धनी छ । गुरुङ र घले जातिको संग्रहालयले क्व्होलासोँथरको झल्को दिन्छ । गाउँमा पुग्ने पर्यटकहरुलाई मनोरञ्जनका लागि घलेगाउँवासीले परम्परागत पहिरनमा सजिएर गुरुङ संस्कृतिमा आधारित घाँटु, कृष्ण चरित्र, झयाउरे, सोरठी नाँच, घ्याब्रे नाच समेत देखाउने गर्दछन । पर्यटकहरु घलेगाउँमा गाउँले परिवेश बुझन, स्थानीय घले तथा गुरुङ समुदायको संस्कृति हेर्न तथा प्रकृतिसँग रमाउन पर्यटकहरु पुग्ने गर्दछन । दक्षिण एसियाका सार्क राष्ट्रभरि नै यस किसिमको भौगोलिक बनावट, मौलिक संस्कृति तथा प्राकृतिक सौन्दर्य नपाइने भएकाले घलेगाउँले नमुना गाउँको उपाधि समेत पाएको छ ।
अन्नपूर्ण आधारशिविरसम्म पुग्न घलेगाउँको पदमार्ग नै प्रयोग गरिन्छ । त्यसबाहेक घलेगाउँ पुगिसकेपछि कोदाको रोटी, गुन्द्रुक, ढिंडो, स्थानीय रक्सी अर्थात नारे पा समेत चाख्न सकिन्छ । घलेगाउँबाट सूर्यास्तको दृश्यावलोकन पनि गर्न सकिन्छ। घलेगाउँबाट र्फदा भेडा तथा चौरीको उनबाट बनेका सामग्रीहरु उपहारस्वरुप किन्न पनि सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती मानिन्छ। घलेगाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । चार घले जातिमध्ये राल्दी घलेहरुले लेकबाट आएर बस्ति बसालेपछि घलेगाउँले विकसित रुप लिँदै गएको मानिन्छ। घलेगाउँमा जन्म, मृत्यु, विवाहका लागि चाहिने सामग्रीमा स्थानीय उत्पादन मात्र प्रयोग गरिन्छ । मौलिकतालाई घलेगाउँले जोगाएर राखेको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा पुग्ने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको छ। सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित व्यवस्थापन गर्दछन ।
घलेगाउँमा पुगेका हरेक आन्तरिक पर्यटकले होमस्टेमा बस्ने र खाने सुविधा लागि आजभोली प्रतिव्यक्ति एक रातको एक हजार २५० सेवा शुल्क लिइन्छ । होमस्टेमा आफ्ना कला संस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झयाउरे, चुटका, झाँक्री, सेर्गालगायतका लोपोन्मुख सांस्कृति नृत्यसमेत प्रस्तुत गरी गाउँमा पुगेका पर्यटकहरुलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादा चढाइन्छ । विभिन्न परम्परागत नृत्य प्रस्तुत गर्नु घलेगाउँवासीको परम्परा नै बनेको छ । घले गाउँमा स्थानीय कला, संस्कृति र संस्कारका साथै स्थानीय पर्यावरणमा असर पुग्ने कुनै पनि क्रियाकलाप गर्न पर्यटकलाई निषेध गरिएको छ भने उनीहरुले तोकिएका नियम पालना गर्नुपर्ने पनि पर्यटन आचार संहितामा उल्लेख छ । पर्यटकको मन लोभ्याउने मुख्य आकर्षण भनेकै घलेगाउँमा प्राकृतिक छटा हो । सूर्योदय र सूर्योअस्तसँगै मर्स्याङदी, मादी नदी नागबेली आकारमा सुसाएर बगेको मनोरम दृश्य पनि राम्ररी नियाल्न सकिन्छ । घलेगाउँबाट होचा अग्ला डाँडा काँडासँगै अग्ला, होचा हिमाल, समथर तरेली परेका फाँटहरु राम्रोसँग अवलोकन गर्न पाउँदा त्यहा पुग्ने पर्यटकहरुको मन फुरुङ हुन्छ ।
घलेगाउँ पुगिसकेपछि साच्चिकैको गाउँ भनेको कस्तो हुन्छ भने अनुभव गर्ने सबै पर्यटकहरुलाई मौका मिल्छ । घलेगाउँको संस्कृति, कला र गाउँलेहरुको ब्यवहारले झनै यहाँ रमाउने उत्प्रेरणा जगाइ दिन्छ । गाउँमा हातैबाट बनाएका बिभिन्न सामानहरु आन्तरिक तथा बाहृय पर्यटकहरुले मन पराउने गर्दछन । जुन परम्परागत तरिकाले घलेगाउँका मानिसहरुले बनाउँदै आएका छन् । घलेगाउँमा पुग्ने पर्यटकहरुलाई गाउँका सबैजना मिलेर स्वागत सत्कार गर्ने गर्दछन् । स्वागत गर्ने बेलामा स्थानीय भाषाका बिभिन्न किसिमका सोलोक अर्थात गीत गाउदै स्वागत गरिन्छ। यस किसिमको नाच र गीतलाई यालामी भनिन्छ । यो गुरुङ समुदायको पाहुनालाई स्वागत गर्ने नाच पनि हो । त्यस पछि गाउँमा कसको कसको घरमा कसलाई राख्ने भनेर छलफल गरी तोकिएको घरमा पर्यटकलाई लगेर राखिन्छ ।
घलेगाउँमा ५४ रोपनि जमिनमा बिभिन्न जातका चियाका बिरुवा लगाएको छ । चियाँ बगैचा गाउँको उत्तरकन्या मन्दिर नजिकै पर्दछ । मन्दिर अगाडी एउटा सानो खोला उत्तर भएर बग्ने भएकोले घलेगाउँलाई उत्तरकन्या पनि भन्ने गरिन्छ । गाउँमा आपत बिपत केही पर्न गयो भने उत्तरकन्या मन्दिरको नाममा भाकल गर्यो भने मुक्ति पाइने भन्ने विश्वास पनि घलेगाउँमा रहेको छ । त्यस्तै घलेगाउँमा एउटा सुन्दर पोखरी रहेको छ । यस पोखरीको नाम देब्रे पोखरी रहेछ । गाउँबाट देब्र पटि्ट रहेकाले पोखरीको नामनै देब्रे भन्ने गरेका रहेछन।
सुन्दर घलेगाउँको जति बयान गरेपनि कमै हुन्छ । हिमालयको काखमा रेहको यो सुन्दर गाउँ स्वर्ग जस्तै छ। शहरको धुलो धुवामा कोहोलालमा बसेका मानिसलाई घलेगाउँ पुगेपछि घर फर्कने मन नै हुँदैन । गाउँलेको आत्मीय ब्यवहारले त झन घलेगाउँलाई छोडन नै मन लाग्दैन । घलेगाउँमा दैनिक तीन सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमताको होमस्टे छन । होमस्टेमा बस्ने पर्यटकहरुलाई गाउँमा नै उत्पादन भएको स्थानीय परिकार बनाएर खुवाइन्छ । आर्गानिक खाना खानपाउदा सबै पर्यटक खुसी हुने गर्दछन ।
पर्यटकलाई होमस्टे सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन् । पर्यटकले प्रयोग गर्ने कोठाहरु सफा र आरामदायी छन । सबै होमस्टेहरु मापदण्ड अनुसारनै सञ्चालन भएका छन् । न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ । परालका गुन्द्रीमाथि गाउँमै बुनेका राडी र गलैँचामा पलेँटी मारेर पारिवारिक वातावरणमा खानपिन गर्दा पर्यटकहरुलाई साँच्चै रमाइलो अनुभूति हुन्छ । अँगेनाको वरिपरि लहरै पाहुनालाई बसाएर रोजेको परिकार पकाइदिने र कुराकानी गर्दै त्यसको स्वादले पर्यटकहरु रमाउने गर्दछन् ।
घलेगाउँका बासिन्दाहरुको अर्को विषेशता हो हस्तकला । उनीहरुले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तुहरु आफैं तयार गर्दछन। भेंडाबाख्राको उनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट झाग्रा झोला, थैलो, नियालोको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुम जस्ता अति आवश्यक वस्तुहरु तयार गर्दछन। धान कुटने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुङ्गा, जस्तापाता र खरले छाएको घरको छाना, भर्याङ, ढोकाहरुमा कुँदिएका कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय शीप पर्यटकलाई नौलो लाग्न सक्छ । यी र यस्ता कयौँ परम्परागत कलाहरुले धनी छ घलेगाउँ। पुराना शैलीका घुमाउरा घरहरु, बाक्लो घले गुरुङ बस्ती अनि, चौबीसै घण्टा पानी, बिजुली, वाइफाइको व्यवस्था र गाउँलेहरु बीचको एकता घलेगाउँका विशेषता हुन । त्यसो त घले र गुरुङसेनीहरुको आत्मीयता, सहयोगी भावना, निष्कपट स्वभाव बोकेका स-साना बालबालिकाहरु तथा बूढी आमाहरुको पर्यटकप्रतिको मायालु व्यवहारले घलेगाउँ पुगेका पर्यटकहरु लोभिने गर्दछन ।
घलेगाउँमा पछिल्लो समय विदेशीभन्दा आन्तरिक पर्यटकहरु धेरै पुग्दछन । घलेगाउँ पुग्ने धेरै पर्यटकहरु आजभोली भुजुङ गाउँमा पनि पुग्ने गर्दछन । लमजुङ हिमालको काख, मिदीम खोलाको उदगमस्थलमा प्रकृति तथा सांस्कृतिले भरिपूर्ण भुजुङ गाउँमा ४०० घरधुरी एकै ठाउँमा गुजुमुज्ज परि बसेका छन । परम्परागत र जीवन्त गुरुङ संस्कृतिको खानी, घरको छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आकर्षक घुमाउने घर पनि भुजुङमा देख्न सकिन्छ । भुजुङबासीले देशको कानुन मान्दछन तर आफैले बनाएको गाउँको कानुन प्रयोग गर्दछन । भुजुङमा प्राकृतिक छटाले भरिपुर्ण घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण पाइन्छ । हिमाली स्वच्छ हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरु, दक्षिणतर्फ नागवेली आकारमा सुसाइ बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरनाको दृष्यले पर्यटकहरु रमाउछन । भुजुङ गाउँबाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरुले वास्तवमा भुजुङ गाउँलाई स्वर्ग जस्तै बनाएको छ । कला संस्कृतिलाई नजीकवाट नियाल्ने र ग्रामीण पर्यटनलाई टेवा पुर्याउनको लागि एक पटक भुजुङ गाउँ पुग्नै पर्दछ ।
सदरमुकाम बेंसीसहरबाट अहिले घलेगगाउँ र भुजुङसम्म जिप चल्छ। बेंसीसहरबाट घलेगाउँ जादा बागलुङपानी हुँदै २४ कि.मि. यात्रा गर्नु पर्दछ । बेसीशहरबाट तीनवटा मार्ग हुँदै घलेगाउँ पुग्न सकिन्छ । पहिलो मार्ग बेसीशहरदेखि बाग्लुङपानी, कपुरगाउँ हुँदै घलेगाउँ, दोश्रो मार्ग बेसीशहरदेखि सिम्पानी, भलामचौर हुँदै घलेगाउँ र तेश्रो मार्ग बेसीशहरदेखि खुदी, रोपलेफाँट, नायुँ हुँदै पनि घलेगाउँ पुग्न सकिन्छ । पृथ्वीराजमार्गको डुम्रेबाट ४२ किलोमिटर लमजुङको सदरमुकाम बेसीशहर पुगे साना सवारी साधन अर्थात जिप रिजर्भ गर्न सकिन्छ ।