तनहुँमा डेंगी संक्रमित बढ्दै

दमौली : तनहुँमा दैनिक डेंगी संक्रमितका बिरामी दैनिक बढ्दै गएका छन् । जिल्लाको दशवटा पालिका मध्ये घिरिङ गाउँपालिका बाहेक अन्य सबै पालिकामा डेंगी संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय तनहुँको पछिल्लो तथ्याङ्क अनुसार जिल्लामा हालसम्म १ हजार ९९४ जनामा डेंगी संक्रमण देखिएको छ । कार्यालयकी पब्लिक हेल्थ नर्स पुजा कुँवरका अनुसार आँवुखैरेनी गाउँपालिकामा  सबै भन्दा बढी १ हजार ३३४ जनामा संक्रमण देखिएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा २३९, व्यास नगरपालिकामा २३३, बन्दीपुर गाउँपालिकामा ११५, म्याग्दे गाउँपालिकामा ३०, भानु नगरपालिकामा १९, भिमाद नगरपालिकामा ७, देवघाट गाउँपालिकामा ९, ऋषिङ गाउँपालिकामा ३ र अन्य ५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
जिल्लामा डेङ्गी संक्रमणका बिरामी बढ्न थालेपछि लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियानलाई तीब्रता दिइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। यतिबेला जिल्लाका सबै पालिकाहरुमा सरसफाई र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइएको पब्लिक हेल्थ नर्स कुँवरले बताइन् ।
तनहुँमा गत असार महिनादेखि डेंगी संक्रमित भेटिन थालेका थिए। गत वर्ष दमौली बजार क्षेत्रमा डेंगी संक्रमण महामारिकै रुपमा फैलिएको थियो । यस वर्ष आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्रमा हटस्पोटकै रुपमा संक्रमण देखिएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा डेंगीका विरामीको चाप बढ्दै गएको छ । भर्ना भएरै उपचार गर्ने तथा सघन उपचार कक्ष (आईसीयू) सम्मै पुग्ने बिरामीको संख्या पनि बढ्न थालेका छन् भने एक व्यक्तिको मृत्यु समेत भएको छ ।
डेंगी रोकथाम र नियन्त्रणमा ध्यान नदिए अवस्था भयावह हुने जोखिम बढेको छ । संक्रमणबाट बच्ने एउटै उपाय यो रोग सार्ने लामखुट्टेको टोकाइबाट जोगिनु हो । तसर्थ सरकार, नागरिक र समुदाय सबैले डेंगी सार्ने लामखुट्टेको फुल र लार्भा नष्ट गर्ने अभियान चलाउन सबै लाग्नुपर्ने स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख शंकरबाबु अधिकारीले बताए ।
संक्रमण बढी फैलिएका स्थानमा लामखुट्टेको फुल र लार्भा खोजेर नष्ट गर्ने अभियान सञ्चालन भइरहेपनि प्रभावकारी भएको छैन। पालिका, वडा कार्यालय, स्थानीय सामाजिक संघसंस्था र समुदाय सबै एकीकृत भएर सचेतना मुलक कार्यक्रम अगाडि बढाउनुपर्ने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेंगी भाइरस एडिस एजिप्टाई लामखुट्टे र एल्बोपिक्टस जातका पोथी लामखुट्टेबाट सर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन। संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिमा सार्छ । घाम उदाएको दुई घण्टादेखि र घाम अस्ताउनुभन्दा दुई घण्टा अगाडिसम्म यो लामखुट्टे बढी सक्रिय हुने हुँदा उक्त अवधिमा बढी सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।
कार्यालयले लामखुट्टेबाट जोगिन शरीर पूरै ढाक्ने लुगा लगाउने वा हात–गोडामा यसले नटोक्ने स्प्रे छर्कने वा मल्हम लगाउने, सुत्दा झुलको प्रयोग गर्न आग्रह गरेको छ । लामखुट्टेले टिनका डब्बा, प्लास्टिकका खोल, टायर, सिसी, अण्डाका बोक्रा, ड्रम, गमला, पानी ट्यांकीजस्ता पानी जम्ने भाँडामा फुल पार्ने हुँदा सरसफाईमा समेत ध्यान दिन कार्यालयले आग्रह गरेको छ । यसलाई हुर्कनै नदिन घरभित्र मात्र होइन, वरिपरि पनि पानी जम्न दिनु हुँदैन । भाँडाकुँडा, गमला, छत, बरन्डा, बार्दली लगायत घरका सबै अन्तरकुन्तरमा ध्यान पु¥याउनुपर्छ । एउटा मात्रै लामखुट्टे छुट्यो भने पनि त्यसको वंशवृद्धिले छोटो समयमै टोल नै प्रभावित पार्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker