१११औं विपी जयन्ती : नेपाली कांग्रेसले बिपीको बाटो भुल्न नहुने

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीले बिपीको बाटो भुल्न नहुने बताएका छन् । १११औं बिपी जयन्तीको अवसरमा सोमबार नेपाली कांग्रेस तनहुँद्वारा प्रकाशित बुलेटिन सार्वजनिक गर्दै उनले बपीले देखाएको बाटो अवलम्बन गरेर अगाडी बढ्न सकेमात्र कांग्रेसको भलो हुने बताए ।
देशमा भएका विकृति र विसङ्गतिको अन्त्य गर्दै समृद्ध मुलुक निर्माण गर्ने अभिभारासहित दुई ठूला दल मिलेर सरकार बनेको उनको भनाइ थियो । पार्टीका गतिविधिहरुको सूचना प्रवाह गर्न र पार्टीलाई वैचारिक रुपमा सशक्त एवं साङ्गठनिक रुपमा चुस्त, प्रभावकारी तुल्याउने उद्देश्यले पार्टीले बिपी जयन्तीको अवसरमा बुलेटिन प्रकाशन गरेको हो ।
केन्द्रीय सदस्य भट्टराईले उक्त बुलेटिनको विमोचन गरेका थिए । बुलेटिनमा बिपी कोइरालाले विसं २०३६ मा दमौलीमा गरेको भाषण, विसं २००७, २०१८, २०४६ र सशस्त्र द्वन्द्वकालका तनहुँ सहिदहरुको चिनारी, नेपाली कांग्रेस तनहुँका केही प्रजातन्त्र सेनानी र अग्रजहरुको चिनारी, सशस्त्र द्वन्द्वकालका पीडितको विवरण र नेपाली कांग्रेस तनहुँका गतिविधि समेटिएको पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालले बताए ।
पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा आयोजित कार्यक्रममा पञ्चायतकालमा कांग्रेस तनहुँको हितमा योगदान गर्ने २२ जनालाई सम्मान गरिएको थियो। कांग्रेसका पूर्व जिल्ला सभापति बैकुण्ठ न्यौपाने, रघुनाथ पौडेल, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, पूर्वमन्त्री डोवाटे विक लगायतले बिपीको योगदान बारे चर्चा गरेका थिए ।










