व्यासका नगरप्रमुख न्यौपाने चीन प्रस्थान

दमौली : तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने चीन प्रस्थान गरेका छन् । युसीएलजी एसपीएसी (यूनाइटेड सिटिज एण्ड लोकल गभर्नमेन्ट्स एशिया प्यासिफिक)को सेकेन्ड एक्जिक्युटिभ मिटिङमा सहभागिता जनाउनका लागि न्यौपाने चीन प्रस्थान गरेका हुन् ।
अक्टोबर २१ देखि २५ सम्म हुने उक्त कार्यक्रममा उनले स्थानीय सरकारहरूका बीचमा सहयोग र साझेदारीलाई प्रवद्र्धन गर्न तथा नगरपालिकाको विकासमा अन्तर्राष्ट्रिय सञ्जालको महत्वबारे चर्चा गर्ने न्यौपानेको सचिवालयले जनाएको छ ।
न्यौपाने युसीएलजी एसपीएसीको एक्जक्युटिभ बोर्ड सदस्यको रूपमा महत्वपूर्ण भूमिकामा छन् । यो बैठकले नगरपालिकाहरू बीचको आपसी सम्बन्धलाई मजबुत बनाउन, शहरी विकासका चुनौतीहरू समाधान गर्न, र नयाँ सम्भावनाहरूको खोजी गर्न अवसर प्रदान गर्ने जनाइएको छ ।
नगरप्रमुख न्यौपानेले यस बैठकमा व्यास नगरपालिकाको दृष्टिकोण र योजनाहरूलाई प्रस्तुत गर्ने अवसर प्राप्त गर्नुका साथै अन्य नगरपालिकासँग अनुभव आदानप्रदान गर्ने पनि बताइएको छ ।








