गर्मी अत्याधिक बढेपछि तनहुँ र गोरखामा विद्यालयको पठनपाठन बन्द

भञ्ज्याङ न्यूज

पछिल्ला केही दिन यता अत्यधिक गर्मी बढेपछि तनहुँ र गोरखाका केही पालिकाका विद्यालयहरुले पठनपाठन बन्द गरेका छन् ।

गर्मी बढेपछि तनहुँका शुक्लागण्डकी र आँबुखैरेनी गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन् ।

विद्यार्थीको स्वास्थ्यमा असर पर्ने अवस्था देखिएपछि पालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

आँबुखैरेनीले यही जेठ २८ गतेदेखि असार १ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

यस्तै देवघाट गाउँपालिकाले यसअघि नै विद्यालयको पठनपाठन बन्द गरेको छ । व्यास नगरपालिका भित्रका केही विद्यालयले पठनपाठन बन्द गरेका छन् ।

व्यास-१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, दमौलीको सत्यवती, निर्मल, जलदेवी, पराशर लगायत विद्यालयले पठनपाठन बन्द गरेको नगरपालिकाको शिक्षा शाखा प्रमुख नविन पराजुलीले बताए ।

उनले भने, ‘विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर पठनपाठन बन्द गर्न पाउने सामुदायिक र संस्थागत सबै विद्यालयलाई पत्राचार गरेका छौ ।’

तनहुँको भिमाद, भानु नगरपालिका, ऋषिङ, घिरिङ र म्याग्दे गाउँपालिकाका विद्यालयमा भने पठनपाठन जारी छ । भानु नगरपालिकाको शिक्षा शाखाले पनि एक सूचना जारी गरी आवश्यक परेमा वर्खे विदामा कट्टा गर्ने गरी विद्यालयको पठनपाठन बन्द गर्न र सो को जानकारी गराउन भनेको छ ।

यस्तै, गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सबै विद्यालयमा पठनपाठन बन्द गरेको छ । गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले जानकारी गराए ।

‘गर्मी हृवात्तै बढेपछि बालबालिकाको स्वास्थ्यमा समेत असर पर्न थालेपछि विद्यालय बन्द गरिएको हो’, उनले भने, ‘मंगलबारसम्म सम्पूर्ण विद्यालय बन्द रहने छन् । गर्मी बढ्दै गए थप समयका लागि पठनपाठन बन्द गरिने छ ।’

‘कक्षा कोठाभित्र बस्न सकिने अवस्था छैन’, उनले भने, ‘यस्तो अवस्थामा विद्यालय बन्द गर्नु उचित ठान्यौँ ।’

पालुङटार क्षेत्रमा शनिबार अधिकतम तापक्रम ४३ डिग्री भन्दा बढी पुगेको छ । पालुङटार नगरपालिका भित्र आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत माधव पोखरेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker