तरुण पत्रकारित पुरस्कार नहर्कीलाई प्रदान

दमौली : नेपाल तरुणदल तनहुँले स्थापना गरेको तरुण पुरस्कारबाट पत्रकार अमरराज नहर्कीलाई सम्मान गरिएको छ । नेपाल तरूण दल जिल्ला कार्य समिति तनहुँले ७२औ स्थापना दिवसका अवसरमा पत्रकार नहर्कीलाई शनिबार सम्मान गरेको हो ।
पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले सयुक्त रुपमा प्रशंसापत्र र नगद रु पाँच हजार सहित नहर्कीलाई सम्मान गरेका थिए ।
एक जना प्रेस युनियनमा आबद्ध पत्रकारलाई तरुण पुरस्कारबाट पुरस्कृत गरिने पहिले नै घोषणा गरेको थियो । सोही अनुरुप नेपाल प्रेस युनियन तनहुँको निबर्तमान अध्यक्ष समेत रहेका नहर्कीलाई सम्मान गरिएको नेपाल तरुणदल तनहुँका सचिव सुवोध वाग्लेले बताए ।
उद्यमशिल क्षेत्रमा लागेका तरुणहरुको बारेमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्ने योजना अनुरुप नहर्कीलाई सम्मान गरिएको सम्मान कार्यक्रममा जानकारी दिईयो । युवाहरू विदेश पलायन भईरहेको अवस्थामा युवा उद्यमीको विषयमा कलम चलाउने पत्रकारलाई सम्मान गर्ने नीति अनुसार सम्मान गरिएको नेपाल तरुण दल तनहुँले जनाएको छ ।
नहर्की गोरखापत्र दैनिकको तनहुँ समाचारदाता तथा नेपाल प्रेस युनियन तनहुँको निर्वतमान अध्यक्ष हुन ।
्कार्यक्रममा तरुण युवा उद्यमी पुरस्कार–२०८१ बाट म्याग्दे गाउँपालिका–४ निवासी नविन रानालाई सम्मान गरिएको थियो । यसैगरी तरुण पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने व्यास नगरपालिका–१० निवासी नेपाल तरुण दल तनहुँका कोषाध्यक्ष बलबहादुर शाहीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सांसद भण्डारीले देशको प्रमुख समस्या भनेको बेरोजगार भएकोले युवाहरु उद्यमशील बनेर रोजगार दिनमा ध्यान दिनु पर्नेमा जोड दिए ।










