बस्न्यात पर्व भनेर चिनिने भण्डारखाल पर्व
देव बस्न्यात

कोतपर्वको नरसंहारको सफलता प्राप्त भए पछि २९ वर्षिय जङ्गवहादुर कुंवर देशको सर्वोच्च शक्ति हत्याउने सपना बुन्दै थिए । उनको सपनालाई साकार बनाउन राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मी सहयोगी बन्दै आएकी थिइन । जङ्गबहादुर कुँवर राजशक्ति हत्याउने र रानी राज्यलक्ष्मी युवराज उपेन्द्रलाई हटाएर आफनो छोरा रणेन्द्रलाई राजा बनाउने उत्कट अभिलाषा लिएकीले दुबै एक अर्काको नजिक बन्दै गईरहेका थिए । त्यही सपनाले भयानक कोतपर्व जस्तो महान घटना घटाएको थियो।
कोतपर्व घटना भएकै भोलिपल्ट कान्छी रानी राज्यलक्ष्मीले एक बिहानै जंगबहादुर कुँवरले गगनसिंहको हत्याराहरुलाई कारवाही गर्नुको साथै हाम्रा गाथगादी जोगाए वापत नेपालको प्रधानमन्त्री र प्रधानसेनापतिको पद दिएको घोषणा गरेकी थिइन । आफुले दिएको मानपदवीको बदला आफ्नो छोरालाई राजगद्धिमा राख्ने काम गर्न जंगबहादुरलाई आदेश दिएकी थिइन । तर जंगबहादुर कुवंरले इश्वरले दिएको र मानिसले बनाएको ऐन एवं दुनियाको व्यवहारमा समेत विरुद्ध हुने भएकाले यो कर्मलाई पाप सम्झन्छु भन्दै रानीको आदेश पालना गर्न नसक्ने र अब उप्रान्त पुनः आदेश भएमा ज्यानमारा ठहराई गिरफ्तार गर्ने कुराले रानी साह्रै नै रिसाइन रे । जङ्गेलाई तह लगाउन रानीले वीरध्वज बस्न्यात र गगनसिंहका छोरा बजिरसिंह भण्डारी र बद्रीसिंह भण्डारीलाई समेत बोलाई जंगबहादुर एण्ड कम्पनीलाई मार्ने थुप्रै विकल्पहरुको छनौट गरिन भन्ने देखिन्छ ।
राजसत्तामा जंगबहादुरको सञ्जाल बहुत तगडा थियो । हरेक ठाउँमा उस्का जासुसहरु सक्रिय थिए । रानीको विश्वासिलो सुसारे पुतलीनानी, पुजाकोठे पण्डित विजयराज उन्का सहोदर दाजु तीर्थराज जंगबहादुरका विश्वास पात्र बन्दै गएका थिए । आखिर तिनीहरुले नै जंगबहादुरलाई भण्डारखालमा हुन लागेको भोज र षडयन्त्रको बारेमा पहिले नै सुसुचित गरेका हुनाले जंगबहादुर हातहतियार लैस कृष्णबहादुर कुवरको नेतृत्वमा २ कम्पनी र अन्य भाइहरुको नेतृत्वमा ४ कम्पनी सेना भण्डारखाल भन्ने स्थानमा तैनाथ गरेर राखेका थिए । भित्री षड्यन्त्रको पोल विजयराजले खोलेको कसैलाई थाहा थिएन । आयोजित भोजको निम्ता दिन काजी वीरध्वज बस्न्यात जंगबहादुर भएको स्थानमा जाँदा भए । उहाँले रानीबाट दिवाभोजको निम्तो दिएको खबर पुरा भन्न नभ्याउँदै जङ्गेको इसारामा तनहुँ मिर्लुङ निवासी रणमेहर अधिकारीले वीरध्वज बस्न्यातलाई तुरुन्तै दुइटुक्रा पारी दिए । यसरी सन् १८४६ तदनुसार १९०३ कार्तिक १७ गतेका दिन हनुमानढोका पूर्वको हाल क्रिस्टल होटल नेपाल बैंक लिमिटेड र भूगोल पार्क इलाकाको भण्डारखालमा आयोजना गरिने भोजमा विष खुवाएर मार्ने अभियानलाई नै भण्डारखाल पर्व भनेर इतिहासका पानाहरु रंङ्गिएको पाइन्छ ।
अर्कोतर्फ कोतपर्वको भयानक घटनाबाट बचेका पुराना शक्तिशाली भारदारहरूलाई ध्वस्त पार्ने षड्यन्त्रको ताना बुनी महाशक्तिशाली शासक बन्ने सपना देखेका जंगवहादुर कुवंरले वि.सं. १९०३ भाद्र ३१ को कोतपर्व जस्तै अर्को भयानक काण्ड रचिरहेका थिए । आखिर १८४६ अक्टोबर ३१ तदनुसार वि.सं. १९०३ कार्तिक १७ गतेका दिन जंगबहादुर कुंवरले बस्न्यात र तीनका समर्थकलाई सफाय पारेर आफ्नो सपनालाई साकार पारेका थिए। उक्त घटना भण्डारखालमा घटाइएको हुनाले यस पर्वलाई भण्डारखाल पर्व भनेर नाम दिइएको हो । मुख्यतः पुराना शक्तिशाली भारदार श्रीपाली बस्न्यातहरूलाई सखाप पार्ने गरी जंगबहादुर कुवंरद्वारा रचित यस घट्नालाई भण्डारखाल पर्व भन्दा पनि बस्न्यात पर्वका नामले चिन्ने र चिन्हाउने गरिन्छ । भण्डारखाल पर्व कसरी घट्न गयो लिखित इतिहाँसमा छलछाम गरिएको छ। इतिहांसको पानाहरुमा निम्न तर्कहरू प्रस्तुत गरिएता पनि पूर्णत स्वीकार योग्य देखिदैनन् ।
१) श्री ५ राजेन्द्रको कान्छी रानी राज्यलक्ष्मीले आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउनमा रणजङ्ग पाण्डे, माथवरसिंह थापा, चौतरिया फत्यजङ्ग शाहलाई प्रधानमन्त्री बनाएता पनि कसैबाट आफ्नो इरादा पूर्ण नबनेकोले उनीहरूलाई मृत्युदण्ड संजाय दिदै आएकी थिइन । रानीको इच्छालाई पूर्ण गर्न सक्ने भारदारको खोजको दौडमा रानीको नजरमा जङ्गबहादुर कुंवर एक मात्र उपयुक्त पात्र छनोट हुन पुगेको थियो । वि.सं. १९०३ भाद्र ३१ गते घटेको कोतपर्वका नायक जंगबहादुर कुँवर प्रति रानी राज्यलक्ष्मीको विश्वास दिनप्रतिदिन बढदै गएको थियो । वि.सं. १९०३ असोज १ गते अर्को नाटक मञ्चन गर्ने प्रपञ्च रचिएको थियो जस्को फलस्वरुप जंगवहादुर कुंँवरलाई वि.सं. १९०३ असोज १ गते “जङ्गबहादुर कुंँवरले गगनसिंहको हत्या गर्नेलाई बदला लिनुको साथै हाम्रो गाथ जोगाए वापत नेपालको प्रधानमन्त्री र प्रधानसेनापतिको पद दिइएको” हुकुम सुनाइन ।
जनतामा प्राप्त हुन जाने सर्वोच्च पद प्राप्त गरेपछि जंगवहादुर कुँवरले अन्य भारदारहरू र रानीबाट हुन सक्ने सम्भावित खतराबाट मुक्त हुनको लागि शक्तिका सम्पूर्ण अधिकार आफुमा केन्द्रित गर्ने अर्को जाल रच्न थाले । जस्को फलस्वरुप जंगवहादुर कुँवरले कोतमा मारिएका र भागेकाहरूको सबैको सर्वस्वहरण गरी तुरुन्तै देश निकाला गरिदिएका थिए भने आफ्ना समर्थक तथा सहयोगीहरूलाई उच्च पदमा पदोन्नति गर्ने काम गरेका थिए । आफ्नो राजनैतिक स्थिति सुदृढ नहुंदासम्म जंगबहादुरले कान्छी रानी राज्यलक्ष्मीको आदेशलाई आलटाल गर्दै आएका थिए। आफ्नो स्थिति सुदृृढ हुनासाथ जंगवहादुर कँुवरले रानी राज्यलक्ष्मीद्वारा युवराज सुरेन्द्रलाई हटाई रणेन्द्रलाई राजा बनाउने कुरा गरेमा देशको ऐन बमोजिम रानीलाई ज्यानमारा घोषित गरी गिरफ्तार गर्ने व्यहोरा जाहेर गर्न पुगेका थिए । कान्छी रानी राज्यलक्ष्मीलाई यस्तो व्यवहार जाहेर गरे पश्चात नै जंगवहादुर कुँवरले आफ्नो राजनैतिक स्थिति दिनप्रतिदिन आफै मजबुत गर्दै लगेको देखिन्छ ।
२) छोरा रणेन्द्रलाई राजगद्धिको उत्तराधिकारी एवं रणेन्द्रको नायवी बनि शक्ति हत्याउने प्रयासरत रानी राज्यलक्ष्मीको सपनामा कुठाराघात हुनासाथ जंगवहादुर कुँवरले गरेको विश्वासघातको बदला चुकाउन नयाँ षड्यन्त्रको विजारोपण गरिन । यस पूर्व जंगवहादुरले गरेका षड्यन्त्र प्रति मौन रही स्विकृती दिने राज्यलक्ष्मीले राजकुमार रणेन्द्रलाई राजगद्धिको उत्तराधिकारीको घोषणा नगरिएमा भविष्यमा थप विपत्तीहरूको सामना गर्नुपर्ने धम्की दिएता पनि रानी राज्यलक्ष्मीको सपना पुरा भएन । तर रानी राज्यलक्ष्मी तर्फका राजकुमार वीरेन्द्रविक्रम शाहको नाति मोहनविक्रम शाहले तनहुँका सेनहरुको अपुताली परेको जमिन्दारी राज्य रामनगरमा वि.सं. १९४५ देखि १९६८ सम्म २३ वर्षसम्म राजकाज चलाएका थिए ।
३) कोतपर्वका नरसंहारका नायक जंगबहादुर कुंवरदेखि क्रुद्ध वीरध्वज बस्न्यात, आफ्ना पिताको हत्याको बदला चुकाउन लालयित तथा बापवैरी सांध्न तयार गगनसिंहका पुत्र बजिरसिंह खवास जस्ता देशभक्त तथा राजभक्त सपुतहरू पनि जंगवहादुरबाट भविष्यमा हुन सक्ने षड्यन्त्रबाट सदैव आक्रान्त थिए। जंगबहादुरको हत्या गरी देश एवं आफ्नो साख जोगाउनमा राजा राजेन्द्र, रानी राज्यलक्ष्मी काजी वीरध्वज बस्न्यात र कप्तान बजिरसिंह खवास सबैको सहमती भइ जङ्गे एण्ड कम्पनी खतम गर्न एक असफल षड्यन्त्र रचियो । भण्डारखाल बगैचामा विष सेवन गराई जङ्गेको हत्या गर्ने षड्यन्त्र पुतली नानीले पण्डित विजयराज मार्फत जङ्गवहादुरलाई जानकारी गराएकीले ६ कम्पनी सेना लिइ जंगवहादुर कुँवर भण्डारखाल तर्फ अगाडि बढिरहेका थिए ।
४) रानी राज्य लक्ष्मीको आदेश अनुसार जंगवहादुरलाई बोलाउन गएका काजी वीरध्वज बस्न्यात रानीको आदेश सुनाउन नभ्याउँदै जंगबहादुरको इसारा पाउना साथ जंगबहादुर कुवँरका विश्वासपात्र रणमेहेर अधिकारीले वीरध्वज बस्न्यातलाई दुई टुक्रा पारिदिए । वीरध्वज बस्न्यातको हत्याको लगतै जंगवहादुरको सेनाले भण्डारखालमै एक्कासी छापामारी धेरैको ज्यान लिए भने रानी राज्यलक्ष्मीलाई तुरुन्तै नारायण पण्डितको घर लगि कैद गरियो । राजा राजेन्द्र, युवराज सुरेन्द्र र राजकुमार उपेन्द्रलाई दरवारमा लगि रानीलाई युवराजको र प्रधानमन्त्रीको ज्यान लिने मन्साय गरेकाले रानीसंग भएको सम्पूर्ण अख्तियार खोसिएको र देश निकाला गरेको लालमोहर बनाइयो । राजा राजेन्द्र युवराज सुरेन्द्रलाई राजकाज सुम्पी रानी राज्यलक्ष्मीका साथ वनारस गएको पाइन्छ ।
वि.सं. १९०३ कार्तिक १७ गतेमा भएको भण्डारखाल पर्वमा काजी वीरध्वज बस्न्यातका कान्छो भाइ वीरकेशर सिंह, साहिला बुवा दरियार सिंहका छोराहरू उम्मेदसिंह र कप्तान मानसिंह पनि मारिए भने निजको पिता बखतसिंह बस्न्यात, काका रणभद्रसिंह र माइलो भाई समरजित बस्न्यातहरू भाग्न सफल भएका थिए । यस भण्डारखाल पर्वमा मारिने थप अन्य बस्न्यातहरुमा उमेदसिंह, कप्तान कोकिल सिंह, सरदार केशरसिंहहरू पनि थिए । बस्न्यात खलक बाहेक अन्यमा कुम्वेदान पुरेन्द्र थापा, सरदार दलमर्दन थापा, कुम्वेदान पूर्णधर उपाध्याय, कुम्वेदान भक्ति हमाल, सुवेदार बाघसिंह हमाल, जमादार सिंहवीर, लाइन हवल्दार नरजोग राना मगरहरू आदि थिए । उक्त भण्डारखाल पर्वमा ज्यान जोगाई भाग्नेहरूमा बखानसिंह बस्न्यात, जन्मसिंह बस्न्यात, काजी रणवीर राना मगर, सुब्बा रणकेशर खत्री कुम्वेदान कालु थापा, सरदार कृष्णलाल उपाध्याय, डिठ्ठा रूद्रलाल उपाध्याय, सुब्बा धनमान थापा, धाई कशी, सुशारे जयशिला, सुसारे रूद्रशोभा, आदि थिए । त्यस वखत भण्डारखाल पर्वमा प्रत्यक्ष सामेल नभएका बखानसिंह बस्न्यात र सरदार वजिरसिंह बस्न्यातको समेत टाउको काटी ल्याउने आदेश जारी गरिएको थियो । श्रीपाली इन्द्रचोके बस्न्याताहरूको सम्पूर्ण चलअचल सम्पती पनि सर्वस्वहरण गरिएको थियो ।
५)गल्बुका श्रीपाली बस्न्यातहरूको समष्टिगत सिंहावलोकन
(क) वि.सं. १८२५ मा पश्चिम नेपालको एकीकरण गर्ने जिम्मेवारी लिई तनहुँको गल्बु मौजामा आई, सैनिक मोर्चाबन्दि गरी बस्ने केहेरसिंह बस्न्यात, काजी वंशराज पाण्डे, काजी दलजीत शाह र सरदार परशुराम थापाहरूले गल्बु मौज्जालाई आफ्नो प्रमुख सैनिक प्रशासनको केन्द्र स्थापित गरी गोर्खा पश्चिमको प्रथम एकीकरण गर्ने कोट गल्बुरूकुमकोट स्थापना गरेका थिए ।
(ख) वि.सं. १८२७ फागुन २३ गते तनहुँसुर गोरखाको अधीनमा गए पछि वख्सी केहेरसिंह बस्न्यातले सरदार परशुराम थापालाई तनहुँको सुरक्षाको पूर्ण जिम्मेवारी दिएकाले थापा परिवार र बस्न्यात परिवारमा आपसी भाइवन्धुत्व मात्रको रिस्ता नभएर दुइ वंश बीचको आत्मिय निकट सम्बन्धको बिस्तारले अझ प्रगाढ बनाएको पाइन्छ ।
(ग) गल्बुमौजामा रहेका परशुराम थापाको जन्म वि.सं. १७९० र मृत्यु वि.सं. १८५० मा भएको देखिन्छ । मौका अनुसारको फाइदा लिन सक्ने चतुर थापा दिले काजी, वंशराज पाण्डे, दामोदर पाण्डे, काजी अभिमानसिंह बस्न्यात, सरदार अम्मरसिंह थापा, सरदार रामकृष्ण कुंवर, बहादुर शाहको पक्षमा थिए भने काजी सर्वजीत राना, काजी स्वरुपसिंह कार्की सरदार परशुराम थापा ब्रजनाथ पौडेल रानीको पक्षमा थिए । यही गुटबन्दिता जङ्ग बहादुर कुँवरको समयमा आएर झ्याँगिदै र अझ मौलाउँदै गएको पाइन्छ ।
(घ) कोतपर्व घटना समाप्त पश्चात षडयन्त्रकारी जंगवहादुर कुवँरले तनहुँ मिजेथुमका सुब्बा पुरन्धर थापालाई मिजेथुम थर्पुबाट काठमाण्डौ बोलाएर मृत्युदण्ड दिने कार्य गर्नुको मुख्य उद्देश्य शक्तिशाली काजी वीरध्वज बस्न्यात लगायत इन्द्रचोके श्रीपाली बस्न्यात वंश, उनका निकटतम् इष्टमित्र र निकटतम् सहयोगीहरुलाई सफाय गर्ने एक–सुत्रीय अभियान नै थियो भन्ने कुरा एकआपसमा मेलखान पुगेको देखिन्छ ।
६) निष्कर्ष : अनावस्यक निहु थापि जंगवहादुरद्वारा देशभक्त तथा राष्ट्रभक्तहरुलाई मार्ने भनी तयार गरिएको यस षडयन्त्रको सत्य इतिहांसलाई लुकाइएको छ । यस सन्दर्भमा अवकास प्राप्त उपरथि शेखरमान सिंह बस्न्यातका अनुसार कोतपर्वका नरसंहारबाट बचेका कट्टर देशभक्त तथा राजभक्तहरूको नरसंहार गर्ने षड्यन्त्र स्वयं जंगवहादुरद्वारा नै प्रायोजित गरिएको थियो । उक्त काण्डमा वीरध्वज बस्न्यात सहित २३ जनाको ज्यान गएको थियो । रानी राज्यलक्ष्मीद्वारा काजी वीरध्वज बस्न्यातलाई जंगवहादुर बोलाउन पठाइएको सत्यघटना नभई स्वयं जंगबहादुर कुंवरले राज्य संचालनका विषयमा छलफल गर्न भनी भण्डार खालमा बोलाइएको कथित भेला थियो । उक्त भेलामा प्रस्तुत आफ्ना विचारहरू प्रति असहमत हुने पुराना शक्तिशाली बस्न्यात भारदारहरू र बस्न्यातका समर्थकहरूलाई समुल नष्ट गर्ने एक प्रपञ्च हो भने रानी राज्यलक्ष्मीबाट भविष्यमा हुन सक्ने संभावित दुर्घटनबाट बच्न सकिने एक भयानक षड्यन्त्र थियो ।
उक्त षड्यन्त्रका रचनाकार काजी वीरध्वज लगायत बस्न्यात भारदारहरू भए षड्यन्त्रकारी बस्न्यातहरू हातहतियार लैस भइ षड्यन्त्र स्थलमा उपस्थित हुने निर्विवादनै थियो । सोझा जालझेल नजान्ने श्रीपाली बस्न्यातहरूले षड्यन्त्रको रचना गरे भन्नु निराधार मात्र देखिन्छ ।
काजी वीरध्वज बस्न्यातका भाई वीरकेशर, काका दरियार सिंहका छोराहरू उमेदसिंह, कप्तान मानसिह मारिनु र उन्का बाबु बखतसिंह, काका सरदार रणभद्रसिंह र भाइ समरजीतसिंह आदि एकै परिवारका सदस्यहरूको समुल नष्ट गर्ने कार्य षड्यन्त्रकारी स्वयं जंगबहादुर कुंवर नै थिए । बस्न्यात परिवारको समुलनष्ट गर्ने योजना सफल हुनमा काजी कुलमानसिंह बस्न्यातको द्वैध चरित्रको परिणामले पनि ठूलो सहयोग गरेको इतिहासकारहरु बताउँछन् ।










