मधेश प्रदेश, पर्यटन र भरत ताल

के.बि. मसाल

पर्यटन भनेकै नदेखेको ठाउँमा पुग्नु ! पुगेका ठाउँमा देखिएका नयाँ नौला कुराहरुसंग रमाउने हो । पर्यटनको यात्राले रमाइलो मात्र होइन शारीरिक र मानसिक स्वास्थ्यमा पनि फाइदा हुन्छ । नयाँ ठाउँको यात्राले पर्यटकहरुलाई नयाँ अनुभूती हुन्छ । नयाँ खाना, नयाँ वातावरण र फरक भाषा स्थानीय संस्कृति र नयाँ ठाउँहरुको बारेमा पर्यटकलाई जान्ने अवसर हुन्छ । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाउँ, घर अनि खाना मन पर्दछ । शहर बजारमा बसेका मानिस हिमाल र पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न खोज्दछ । पर्यटक को हो ? कसलाई पर्यटक भन्ने ? पर्यटन शब्दको शाब्दिक अर्थ भ्रमण अर्थात घुमफिर हो । घुमफिरले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन पर्यटकहरुले रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन अनुसन्धान गर्न सक्दछन ।

मधेश प्रदेशमा पनि पर्यटकहरु घुम्न जाने ठाउँहरु धेरै छन । पर्यटकहरुको रुचि अनुसार जनकपुरमा जानकी मन्दिर र धनुषाधाम, सिरहाको सलहेश फूलबारी, महोत्तरीको रौजा मजार र जलेश्वरनाथको मन्दिर, बाराको सिम्रौनगढ र गढीमाइ, सप्तरीको छिन्नमस्ता, पर्साको पारसनाथ, रौतहटको नुनथर, सर्लाहीको भरत ताल मात्र होइन कोशी टाप्पु र पर्सा राष्ट्रिय निकुञ्जलगायतका ठाउँहरु पर्यटनको लागि घुम्ने ठाउँ बनेका छन । पर्यटनको लागि मधेस प्रदेशमा ऐतिहासिक र धार्मिकस्थल धेरै छन । मधेश प्रदेशमा खासगरी मैथिली, भोजपुरी र थारु संस्कृतिको बाहुल्यता छ । मिथिला क्षेत्रमा मैथिली गाउँ र भोजपुरा क्षेत्रमा भोजपुरी गाउँ पर्यटकले अध्यन अवलोकन गर्न सक्दछन । पदेशको यात्रामा पर्यटकहरुले हिन्दू, मुस्लिम, बौद्ध तथा जैन धर्मका आस्थाका केन्द्रहरुमा तीर्थाटन/ अवलोकन पनि गर्न सक्दछन ।

महोत्तरीको तीनसय वर्ष पुरानो ऐतिहासिक रौजा मजार इस्लाम पर्यटकहरु पुग्नै पर्दछ । अर्को तर्फ सप्तरीको वनस्खण्डि सिख समुदाय, पर्साको भिष्वा मठ बौद्ध र पारसनाथ मन्दिर जैन धर्मको आस्थाको केन्द्रमा पनि पुग्न सके राम्रो हुन्छ । मधेश प्रदेशको यात्रामा पर्यटकहरुले मिथिलाको कला, संस्कृति, भेषभुषा, धार्मिक विविधताको बारेमा पनि अध्यन गर्न सक्दछन । मिथिला क्षेत्रको प्रमुख भाषा मैथिली हो र मैथिली भाषा बोल्ने मानिसहरुलाई मैथिल भन्ने गरिन्छ । धनुषा, सर्लाही, महोत्तरी, सिरहा र सप्तरीमा मैथिली र भोजपुरी भाषा बोल्ने गर्दछन । पर्यटकहरुले मैथली भाषा जानेको छ भने यात्रा सहज पनि हुन्छ । मदेश घुम्न नगएका पर्यटकलाई यात्रामा मधेशको संस्कृति, पहिरन, रीतिरिवाज, चाडपर्व, खानपान छुट्टै लाग्न सक्दछ ।

मधेश प्रदेशमा पर्यटकहरुलाई हिमाली र पहाडी भूगोल भन्दा फरक अनुभूति हुन्छ । मदेश प्रदेशका सबै जिल्लामा सडक मार्ग पुगेको छ । काठमाण्डौ देखि सिमरा, जनकपुर र राजविराजमा हवाईसेवा पनि छ । मदेश प्रदेशमा घुमफिर गर्दा प्याकेज कार्यक्रम मिलायर घुम्दा राम्रो हुन्छ । तर, धेरै पर्यटकहरुमा प्याकेजमा घुमफिर गर्ने संस्कृति छैन । प्याकेज भनेको आबधिक योजना हो। आजभोली पर्यटनको क्षेत्रमा पनि प्याकेज शब्द प्रयोग हुन थालेको छ । घुमफिरको लागि यात्राको योजना बनाएर घुम्दा सुरक्षित मात्र नभएर धेरै कुरामा सजिलो हुन्छ । यात्रामा आफ्नो अनकुल अनुसार यातायातका साधन प्रयोग गर्न सकिन्छ । अझ नीजि सवारी साधन भयो भने यात्रामा छिटो मात्र होइन आफ्नो समय पनि वचत हुन्छ । समूहमा यात्रा गर्नुभयो भने त्यसको मज्जा भिन्दै हुन्छ । पर्यटकहरुसंग यात्रा गर्दा प्याकेज कार्यक्रम भयो भने कति दिनको यात्रा गर्ने- कहाँ-कहाँ बास बस्ने – कुन-कुन ठाउँमा पुग्ने जस्ता कुराहरु तय भयो भने यात्रा सहज र सस्तो पनि हुन्छ ।

आजभोली धेरै पर्यटकहरु बारा जिल्लामा पर्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको चोक पथलैयाबाट पूर्व लाग्नासाथ सुरुमै भरत ताल पुग्ने गर्दछन । र्सलाही जिल्लाको भरत ताल कृत्रिम ताल हो । बागमती नगरपालिकाको वडा नं. १२ मा भरत ताल पर्दछ । बागमती नदीको किनारमा बगरमा परिणत भएको १२१ बिघा जमिनमा कृत्रिम ताल बनाइएको छ । तालको लम्वाई करिव १.५ किलो मिटर रहेको छ । भरत ताल जहाँ निर्माण भएको छ, त्यो ठाउँमा २०२८ सालमा बागमती नदीको बाढी पस्यो र बगर बनेको थियो । बगर जमिन २०६२/२०६३ ताका अतिक्रमण भयो । सुरुमा नगरपालिकाले सुकुम्बासी र भूमिहीनको पहिचान गरी तीनदेखि पाँच कट्ठासम्म जग्गा वितरण गर्‍यो । भूमिहीनको ब्यबस्थापन गर्दा बाँकी रहेको अढाइ सय बिघा जमिनमा नगरपालिकाले सुरुमा बागमती माछापोखरी भनेर पोखरी बनाउँदै जाँदा तालमा परिणत भयो । जमिनको सदुपयोग गर्ने क्रममा अहिले पर्यटनको लागि रमणीय भरत ताल बन्यो । ताल निकै सुन्दर देखिन्छ । तालमा पर्यटनको पूर्वाधार निर्माण गर्दै जादा भरत ताल बहुउद्देश्यीय परियोजना बन्यो । तालले ठूलो संख्यामा पर्यटक भित्राएर आम्दानी गर्ने अवसर सिर्जना गरेको छ । कलकल बग्ने वाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिकले समेत पर्यटक रमाउने गर्दछन । जयनगर-बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेलमार्ग निर्माण भैरहेको छ ।

आजभोली मधेस प्रदेश घुम्न जाने पर्यटकहरुको लागि पहिलो रोजाइ भरत ताल बन्ने गरेको छ । राजमार्गदेखि करिब तीन किलोमिटर दक्षिण वाग्मती नदीको किनारमा भरत ताल पर्दछ । ताल पुग्नु अगावै फराकिलो सडक सफा मनोरम दृश्यका बीचमा तालको किनारामा होटेल र रेष्ट्ररा छन । जहाँ तालमा जाने पर्यटकहरुलाई हार्दिकताका साथ स्वागत गरिन्छ । मदेशको अर्गानिक खानाका परिकारको स्वाद लिने पारखी पर्यटकका लागि होटेल र रेष्ट्रराका ब्यवसायी तम्तयार रहेका हुन्छन । भरत ताल आसपासका होटेलदेखि मोटरबोटमा समेत भरत ताल लेखिएका छन । भरत तालमा पर्यटकहरु बोटिङ गर्न, पिकनिंक खान र रमाइलो गर्नका लागि पुग्ने गर्दछन । भरत ताल पुगेपछि कहिल्य ठूलो ताल नदेखेका पर्यटकहरु अचम्म हुन्छन । तालको छेउमा झण्डा फरफरायका बोट देख्दा कुनै समुन्द्रमा त पुगेका छैनौ ? भन्ने कल्पना समेत गर्दछन । पर्यटकको लागि तालमा अहिले ३४ वटा इन्जिनबाट चल्ने बोट सञ्चाालनमा छन । बोटमा चढेर साथीहरुसँग सेल्फी लिँदै जलविहार गर्दा पर्यटकहरु रमाउँछन । मोटर बोटमा बसेर तालको एक फन्को लगाएको तीनसय शुल्क तिर्नुपर्ने हुन्छ । पर्यटकको चाप भएको समयमा पालो कुरेर बस्नुपर्ने पनि हुन्छ । बोटमा सयर गर्दा लगाउने लाइफ ज्याकेट र दुर्घटना बीमासमेत गरिएको छ । पर्यटकहरुलाई आकर्षण गराउन ताल वरिपरी फुटपाथ र साइडमा बोट बिरुवा पनि रोपिएको छ ।

भरत तालको सुन्दर दृष्य, तालबाट देखिने चुरे पर्वत, तालमा पौडिँदै गरेका हाँस र सरर हिँडिरहेका मोटर बोटले पर्यटकको मन लोभ्याउने गरेको छ । तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाँल्दै खाजा खाने, साथीभाइ भेटने र रमाइलो गर्ने पर्यटकको संख्या बढिरहेको छ । ताललाई पर्यटकहरु पुग्दा आकर्षा गराउन तालमा पूर्वाधार थपिदै गएका छन । पहिला तालमा बोटिङको मात्रै सुविधा रहेकोमा अहिले जिपलाइन, वाटरसाइकल, स्काइ साइकलिङ, उँट र घोडामा चढेर तालको वरपर अवलोकन गर्ने र वृद्धवृद्धाहरु र बालबालिकाहरुलाई मिनी रेल, सर्वसाधारणहरुका लागि फोटो खिच्न र भिडियो बनाउन क्यामरामेनको समेत व्यवस्था गरिएको छ । जसका कारण दैनिक हजारौँको संख्यामा ताल घुम्न आन्तरिक तथा बाहृय पर्यटकहरुको भीड लाग्ने गरेको छ । तालको उत्तरपट्टकिो भागमा सुमेरु पर्वतको आकृतिमा शिव-पार्वतीको ठूलो मूर्ति रहेको छ । शिवको जटाबाट पानी झरेको स्वरुप समेत भरत तालमा पुग्ने पर्यटकहरुले देख्न पाउने छन । तालको बीच भागमा सुबिधा जनक होटल निर्माण हुन लागेको छ ।

भरत तालमा पर्यटकहरुलाई आकर्षित गर्न अत्याधुनिक वनभोज स्थल, जगल सफारी, फनपार्क, मिनी क्यासिनोसहितको होटल निर्माण भएका छन । ताल आसपासमा ३० वटा वनभोज स्थल, ५० चौतारा र प्रतीक्षालय निर्माण भएका छन । दक्षिणतर्फको भागमा चलचित्र छायाकनको क्षेत्र रहेको छ । तालमा बागमती नदीबाट पानी राख्न इनलेट र आउटलेटको गेट निर्माण भएको छ । बागमती नदीको गेटबाट पानी राख्ने र अर्कोतिरबाट निस्कने गर्दा तालको पानी सधै सफा हुने गरेको छ । स्वच्छ, सफा पानीले तालको सौन्दर्य बढाएको छ । धेरै बोट चलेको बेलामा तालको पानीको छाल पर्यटकहरुका लागि आकर्षक बन्दछ । कतिपयले तालको पानीको छाललाई कैद गर्दै फोटो खिच्न र टिकटक बनाउन भ्याउँछन । तालको बगैंचाले पर्यटकहरुको मन झनै लोभ्याउने गरेको छ । हावाको बेगसँगै छल्किने तालको पानी, नजिकैबाट देखिने हरिया चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले पर्यटकहरुको मननै चगं बनाइदिन्छ ।

तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र माछापालन समेतको कार्य योजना रहेको छ । तालको सुन्दर दृष्य, हावाको वेगसँगै छल्किरहने तालको पानी, तालपारि देखिने चुरे पहाडको दृष्य, बगिरहेको बागमती नदीको आवाजले सबै मोटर बोटमा रमाउने पर्यटकलाई मोहित पारिदिन्छ । तालमा पौडिँदै गरेका हाँस र तालमा सयर गर्नका लागि राखिएको राइनोज, फिस्टेल जेटबोट, मोटरबोट, मिनी क्रुजले पर्यटकहरुलाई आकर्षण गराएको छ । भरत तालमा पर्यटकहरुलाई पौडी खेल्न र माछा मार्न निषेध गरिएको छ । सुरक्षाको लागि तालको चारैतिर फलामे रेलिङ लगाइएको छ । पर्यटकको मनोरञ्जनलाई ध्यान दिँदै ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण भएको छ । पर्यटकहरुका लागि तालमा स्काइ साइक्लिङ निर्माण गरिएको छ । स्काई साइक्लिङमा दुइवटा रोपलाइन विस्तार गरिएको छ । तारको लामा झुन्डिएको साइकल चलाएर मनोरञ्जन लिने खेल पछिल्लो समय पर्यटकहरुका लागि आकर्षण बन्दै गएको छ । स्काई साइक्लिङले तालमा पर्यटकहरु आकर्षित भएका छन । पर्यटकको मनोरञ्जनलाई ध्यान दिँदै ताल परिसरमा थप साहसिक खेलका संरचना निर्माण कार्य पनि भै रहेको छ ।

आजभोली मधेस प्रदेश घुम्न जाने पर्यटकहरुको पहिलो रोजाई बनेको छ भरत ताल । पर्यटकहरु भरत तालमा बोटिङ गर्न, पिकनिङ मनाउन र रमाइलो गर्नका लागि पुग्ने गर्दछन । आजभोली भारतबाट समेत भरत तालमा ठूलो संख्यामा पर्यटकहरु आउने गर्दछन । भरत ताल अहिले र्सलाहीको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रुपमा स्थापित भएको छ । प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको छ । तालको वरिपरि रहेको बगैंचाले पर्यटकहरुको मन झनै लोभ्याउने गरेको छ । हावाको बेगसँगै छल्किने तालको पानी, नजिकैबाट देखिने हरिया चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले अझै पर्यटकलाई लोभ्याउने गरेको छ । भरत ताल भारतीय सिमाबाट ४२ किलोमिटर र भारतको सीतामाढी तालबाट ८५ किलोमिटरको दूरीमा पर्दछ । भारतीय पर्यटकहरु मात्र दैनिक पाँच सयको हाराहारीमा तालमा आउने गर्दछन । भरत ताल हेर्न र जेट बोट चढन विभिन्न ठाउँबाट दैनिक हजारौ पर्यटक पुग्ने गर्दछन । ताल वरपरका जिल्लाका पर्यटकहरु मात्र होइन गर्मीको समयमा तालमा मोटर बोट चढेर मनोरञ्जनका लिनका लागि स्थानीयवासी समेत पुग्दछन । बिदाको दिनमा भरत तालमा मोटरबोट चढने र रमाउनेहरुको संख्या पनि बढदै गएको छ ।

भरत तालमा धेरैले आफ्नो सीप र योग्यता अनुसार रोजगारी पाएका छन । अहिले तालमा बोटिङ गरेको तीन सय रुपैयाँ शुल्क लाग्दछ । त्यसमध्ये २० प्रतिशत नगरपालिकामा बुझाउनु पर्नेहुन्छ । मानवनिर्मित भरत ताललाई बहुउद्देश्यीय परियोजनाका रुपमा विकास गरिने भएको छ । आन्तरिक र बाहृय पर्यटकको हब बनाउने गरी तालमा पूर्वाधारको विकास भएको छ । प्राचिनकालदेखि निर्माण हुँदै आएका मानव निर्मित ताल र पोखरीहरु मधेश प्रदेशमा धेरै छन । तर बिस्तारै पोखरीहरु अतिक्रमणमा पर्दा धेरै पोखरी बिनाश भएर गएका छन । नेपालमा अहिलेसम्म मानव निर्मित ठूलो कृत्रिम तालमा मकवानपुरको इन्द्रसरोवर हो । इन्द्रसरोवरको लम्बाइ ८ किमी र गहिराइ करीब ९७ मिटर छ । इन्द्रसरोवर ताल २०३८ सालमा निर्माण भएको हो । इन्द्रसरोवर अर्थात कुलेखानी बाँधबाट ६ कि.मी. सुरुङमार्ग बनाएर लगिएको पानीले भिमफेदीमा विद्युत निकालिएको छ । पछिल्लो समय धेरै जिल्लाहरुमा कृत्रिम ताल र पोखरी निर्माण भएका छन । कतिपय पालिकाहरुले पोखरी निर्माण गरी सिंचाइ गर्ने नितीगत योजना बनाएका छन ।

कसरी पुग्ने ?

सर्लाहीको भरत ताल पुग्न राजमार्गबाट दुइवटा सडक छन । पूर्व तर्फबाट आउँदा बागमती पुलदेखि एक किलोमिटर वरैबाट तालसम्म पुग्ने सडक छ । पश्चिमी भेगबाट जाँदा बागमती पुल तर्ने बित्तिकै बागमती किनारै किनार तीन किलोमिटर दक्षिण यात्रा गरेपछि भरत ताल पुग्नुहुन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker