बुहारीहरूले हाँकेको होमस्टे : गाउँकै पहिचान बदल्दै
सविन लामिछाने/भानु

तनहुँको भानु नगरपालिका वडा नं. ९ चिती खोलाकी ७० वर्षीया जमुना माया थापाकी ६ छोराबुहारी छन् । छोराहरू कोही विदेशिएका छन् भने कोही गाउँमै छन् । तर, तीन बुहारीहरू भने गाउँमै बसेर होमस्टे (घरबास) सञ्चालन गरी गाउँकै पहिचान बदलन सफल भएका छन् ।
वि.सं. २०७६ सालमा स्थापना भएको चितीखोला सामुदायिक होमस्टे अहिले गाउँको पहिचान बन्न थालेको छ । यो होमस्टे मुख्य रूपमा गाउँका बुहारीहरूले नै सञ्चालन गरेका छन् । जमुनाकी जेठी बुहारी सुकुमाया थापा मगर, साईली बुहारी हरिमाया सारु र कान्छी लक्ष्मी सारु मगर होमस्टे व्यवस्थापनमा सक्रिय छन् ।
त्यस्तै, शुशीला पुलामी, धनकुमारी सारु मगर, गीता अधिकारी पाण्डे लगायत अन्य महिलाहरू पनि सक्रियतापूर्वक संलग्न छन् । पहिले खेतीपाती र घरायसी काममा सिमित रहेका यहाँका महिलाहरू अहिले पाहुनाको स्वागत सत्कार तथा व्यवस्थापनमा खट्ने गरेका छन् ।
सुकुमाया थापा मगरले भनिन्, “पहिले हामी खेतबारी र घरायसी काममा मात्र व्यस्त थियौं, पर्यटकहरू गाउँमा आउने कुरा कल्पनासम्म थिएन । तर बिगत केही वर्षयता होमस्टे सञ्चालन भएपछि हाम्रो जीवनमा ठूलो परिवर्तन आएको छ” उनले थपिन्, “अहिले हामी पाहुनाको स्वागत गर्न, खाना पकाउन, गाउँको संस्कृतिको परिचय दिन गर्व महसुस गर्छौं । यसले हाम्रो आत्मविश्वास मात्र बढाएको छैन, आर्थिक रूपमा पनि धेरै मद्दत गरेको छ ।”
चिती खोला सामुदायिक होमस्टेले १ हजार २५० रुपैयाँको प्याकेजमा एक रातको बास, स्थानीय रैथाने जातका कुखुराको मासु, परम्परागत खानपिन, साँझको खाजा र विहानको नास्ता उपलब्ध गराइन्छ । यहाँको सेवा स्थानीयपनमा आधारित छ, जहाँ पाहुनालाई गाउँको मौलिकता अनुभूत गराउने प्रयास गरिएको होमस्टे सञ्चालक समितिकी सचिव सुशिला पुलामीले बताइन् ।
२१ घरधुरी रहेको चिती खोलामा हाल ४२ जना पाहुनालाई एकै पटक बस्न सक्ने व्यवस्था मिलाइएको छ । होमस्टेका सचिव पुलामीका अनुसार यो होमस्टे सञ्चालन भएपछि गाउँमा महिलाहरूको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ ।
“हाम्रो यो सामुदायिक होमस्टेले पर्यटकलाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर प्रदान गरी यहाँका महिलाहरूलाई पनि आर्थिक सशक्तिकरणको पाटोमा अगाडि बढाएको छ”, उनले भनिन्, “पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताको धेरै राम्रो प्रतिक्रिया दिने गर्नुभएकाले हामीलाई थप हौसला मिलेको हुँदा होमस्टेको सेवालाई थप मौलिक र आफ्नोपन दिने गरी अगाडि बढेका छौं ।”
चिती खोला गाउँ प्राकृतिक सौन्दर्यले भरिएको छ । हरियालीले ढाकिएको वन, चिटिक्कका रुपमा सिंगालिएका घर, शान्त वातावरण र पाहुनाप्रतिको हार्दिक स्वागतले जो कोहीलाई लोभ्याउँछ । चितवन, पोखरा, काठमाडौं, लमजुङ लगायतका ठाउँबाट आन्तरिक पर्यटकहरू यहाँ आउने गरेका छन् ।
होमस्टेमा कहिलेकाहीं विदेशी पाहुनाहरू पनि आउँछन् र गाउँको संस्कृति, रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कने गरेको होमस्टेकी सदस्य गीता अधिकारी पाण्डेले बताइन्छ ।
स्थानीयले गाउँमा होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू पनि थप्दै गएका छन्। खानेपानी, बिजुली, शौचालय, बासस्थान र संचारको सुविधाले पाहुनाहरुलाई लोभ्याउने गरेको सदस्य पाण्डले बताइने ।
पाहुनाहरूलाई गाउँका महिला स्वयंसेवकहरूले गाउँ घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । होमस्टे सञ्चालक धनकुमारी सारुले भनिन्, “पहिले आफ्नै गाउँमा पाहुना आउँछन् भन्ने कल्पना पनि थिएन । अहिले त पाहुना आउने खबर सुन्नासाथ सबैजना जुट्छौं । खाना, सफाइ, कोठा मिलाउने, नाचगानको तयारी सबै काम मिलेर गर्छौं ।”
गाउँमा आउने पर्यटकहरूले गाउँको हरियालीमा बसेर स्थानीय खानाको स्वाद, बासको अनुभव र गाउँले जीवनशैलीका बारेमा राम्रो प्रतिक्रिया दिएका छन् । कतिपयले त फेरि आउने वाचा गरेर फर्किएका छन् ।










