नेपाली पत्रकारिताको जग बसाल्नुभएका जयपृथ्वी

भूमिराज पिठातोली

नेपालमा पत्रकारिताको इतिहास हेर्दा विसं १९४३ मा फर्कनुपर्छ । युवाकवि मोतीराम भट्टले काशी (बनारस) पढ्न गएको बेलामा नेपाली भाषाको पत्रिका ‘गोरखा–भारत जीवन’ प्रकाशन गर्नुभएको थियो । त्यो पत्रिका दुई वर्षसम्म चल्यो । उहाँ नेपाल फर्किएपछि ‘मोतीमण्डली’ टोली बनाएर पत्रिकाको तयारी गर्नुभयो ।

विसं १९५३ मा मोतीरामको निधन भएपछि १९५५ सालमा मोतीमण्डलीले ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो तर, त्यसलाई तत्कालीन सरकारले मान्यता भने दिएन ।

विसं १९५८ मा तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षको हुनुहुन्थ्यो । त्यो समयमा सरकारलाई चेतना जगाउन जो कोहीले सक्दैनथे । आफ्ना नातेदार तथा भारद्वाजबाहेक राणाको नजरमा वीरलै मान्छेको मात्रै नजर पर्दथ्यो । जयपृथ्वीबहादुर सिंह त्यसबेलाका अध्येता तथा लेखक राजाको नामले चिनिनुहुन्थ्यो । नातेदार भएकै कारण प्रधानमन्त्री देवशमशेर राणाले सिंहलाई सल्लाहकारको रूपमा राख्नुभयो ।

जयपृथ्वीले धेरै प्रयास गरेर प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाउनुभयो र उहाँ पत्रिका प्रकाशन गर्न राजी भएपछि १९५८ वैशाख २४ गते सोमबारका दिन गोरखापत्र साप्ताहिकको रूपमा प्रकाशनमा आयो । प्रधानमन्त्री देवशमशेरले प्रकाशन समयमा गोरखापत्रको सम्पूर्ण जिम्मेवारी जयपृथ्वीलाई नै दिनुभयो तर, जयपृथ्वीले व्यवस्थापकीय जिम्मेवारी भने पण्डित नरदेव पाण्डेलाई दिन सुझाव दिनुभयो र पाण्डेले नै दुई वर्ष गोरखापत्र साप्ताहिकको सम्पादक र व्यवस्थापकीय जिम्मेवारीमा सम्हाल्नुभयो ।

विसं १९६० मा फेरि गोरखापत्रको दोस्रो व्यवस्थापकको रूपमा जयपृथ्वीबहादुरलाई नै जिम्मेवारी दिइयो । सिंहको पालामा गोरखापत्रको सम्पादकको रूपमा चिरञ्जीवी शर्मा पौड्याल हुनुहुन्थ्यो । बाह्र वर्षसम्म जयपृथ्वीले गोरखापत्र प्रकाशनलाई निरन्तरता दिनुभयो ।

गोरखापत्रमा रहँदा उहाँले राष्ट्रियता र जनजागरणका मुद्दा उठाइरहेपछि उहाँकै ससुराअर्थात् प्रधानमन्त्री चन्द्रशमशेरले हटात्रूपमा गोरखापत्र नै बन्द गराउनुभयो । जयपृथ्वी भागेर भारत पुग्नुभयो । पछि प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना नातागोतालाई पत्रिकाको जिम्मेवारी दिनुभयो र सरकार अनुकूल समाचारहरू प्रकाशन हुन थाले ।

नेपाली पत्रकारितामा गोरखापत्रकालअर्थात् प्रजातन्त्रभन्दा अगाडि दर्जनभन्दा बढी पत्रिकाहरू सञ्चालन भएका थिए । गोरखापत्रपूर्व, गोरखापत्रकाल, प्रजातन्त्रकाल, पञ्चायतकाल, बहुदलीय व्यवस्थापछिको गणतान्त्रिक व्यवस्थामा पुग्दा नेपाली पत्रकारितामा धेरै परिवर्तन भइसकेको छ । “नेपाली पत्रकारिताको जग जयपृथ्वीबहादुरले नै हाल्नुभएको हो”, इतिहासविद् तथा डोटी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख अर्जुन देउवाले भन्नुभयो, “सिंहले राणाहरूलाई धेरै फकाएर गोरखापत्र सञ्चालनमा ल्याउनुभएको हो । उहाँकै प्रेरणाले नेपाली पत्रकारिता आजको अवस्थामा पुगेको हो ।”

जनताको आवाज प्रकाशन हुन थालेपछि १९७२ मा गोरखापत्र नै बन्द भएको इतिहासविद् देउवा बताउनुहुन्छ । पत्रिका बन्द भएपछि जयपृथ्वी चन्द्रशमशेरका डरले भारत जानुभयो । त्यहाँबाट पनि बेलायत पुग्नुभयो । कसैका आँखामा नपर्नका लागि उहाँले ब्रमेली पोसाक लगाएर भागेको देउवा बताउनुहुन्छ ।

यता चन्द्रशमशेरले जयपृथ्वी दाखिल गराउनेलाई रु पाँच हजार इनामको सार्वजनिक घोषणा गर्नुभयो तर, उहाँ राणाको सम्पर्कमा नआएपछि तलबभत्ता बन्द गराइयो । “राणाले जयपृथ्वीबाट आफ्नी छोरीलाई पनि छुटाउनुभयो”, देउवाले भन्नुभयो, “राजा भइसकेपछि पनि उहाँको लवाइखवाइ देखेर राणाहरूले खिसिटिउरी गर्थे । तर, उहाँ विद्वान् भएको हुँदा राणाको कुराले छुँदैनथ्यो । उहाँ मानव जातिकै वकालतमा लागिरहनुभयो ।”

जयपृथ्वीबाट आफ्नी छोरी छुटाएपछि चन्द्रशमशेरले कम्पनीको रु आठ हजार छोरीलाई वार्षिक भत्ता तोक्नुभयो । त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरी पानीसमेत काँडे । जयपृथ्वी आफ्ना ससुरा चन्द्रशमशेरको निधनपछि मात्रै नेपाल आउनुभएको हो ।

जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ (विसं १९८५) मा ‘ह्युमानिस्ट क्लब’ खोल्नुभयो । क्लबमार्फत सिंहले विश्वका सम्पूर्ण प्राणी र बोटबिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गर्नुभयो । क्लबको मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिकासमेत प्रकाशित गर्नुभयो । जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे । पछि सिंहले मानवतावादी क्लब खोलेर ‘ह्युमानिस्ट’ नामक अङ्ग्रेजी पत्रिका नियमित प्रकाशन गर्नुभएको थियो ।

बझाङ राज्य स्थापना भएयता बझाङमा २४ जनाले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा राजकाज चलाए । त्यसैमध्ये १८औँ नम्बरका राजा हुन् जयपृथ्वीबहादुर सिंह । शक्ति सिंहले १५०३ सालमा स्थापना गरेको बझाङ राज्य अघोषितरूपमा पाँच सय ६२ वर्षसम्म चल्यो र औपचारिकरूपमा १८४८ सालमा राजा समुद्र सिंहको पालामा सकियो । अघोषित रूपमा भने २०६५ जेठ १५ गतेसम्म नै चल्यो ।

बझाङ राज्यका १७ औँ राजा विक्रमबहादुर सिंहका १४ सन्तानमध्ये पहिलो सन्तान हुन् जयपृथ्वीबहादुर । विक्रमबहादुरकी चार रानीमध्ये जेठी रानी रुद्रकुमारीको जेठो सन्तानको रूपमा जयपृथ्वी हुनुहुन्थ्यो । उहाँलाई प्रधानमन्त्री वीरशमशेर राणाले १६ वर्षको उमेरमा विसं १९४४ मा बझाङको राजा घोषित गर्नुभएको थियो । सत्र वर्षको उमेरमा श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग उहाँ विवाह बन्धनमा बाँधिनुभयो ।

सिंहले जङ्गबहादुर राणाकै (छोरीबाट) नाति भएका कारण आठ वर्षको उमेरमै काठमाडौँको दरबार हाइस्कुलमा अध्ययन गर्ने मौका पाउनुभएको थियो । राजा भएको बेलामा जयपृथ्वीले आठ विद्यार्थी काठमाडौँमा पढ्न पठाउनुभयो । काठमाडौँको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोल्नुभयो । पछि सत्यवादी प्राथमिक पाठशाला बझाङमा सार्नुभयो र बझाङमा सर्वसाधारणले पनि पढ्ने मौका पाए ।

राजा जयपृथ्वीले विभिन्न पाठ्यपुस्तक पनि लेख्नुभयो । उहाँले नै लेखेको नेपाली भाषाको ‘अक्षरांक शिक्षा’ पठनपाठन गरिन्थ्यो । उहाँले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘स्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत ब्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावादसम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता १८ वटा दार्शनिक पुस्तक लेख्नुभएको थियो । उहाँले कोलकत्ता गएर म्याट्रिक पास गर्नुभयो । प्रयागमा गएर आइए पढ्नुभयो तर, पूरा गर्नुभएन ।

बझाङमा जयपृथ्वीले भूमि सुधारको व्यवस्थापन गर्नुभयो । उहाँले नै नापीको व्यवस्था गर्नुभयो । औषधालय उहाँले नै खोल्नुभयो । बझाङमा खग औषधालय र जयपृथ्वी धर्म औषधालय उहाँले नै स्थापना गर्नुभएको हो । उहाँले कोलकत्ताबाट समेत बझाङमा चिकित्सक ल्याएर सर्वसाधारणको उपचार गर्नुभएको थियो । चन्द्रशमशेरले २५ वर्षीय जयपृथ्वीलाई कोलकत्तामा वकिल बनाएरसमेत पठाएको इतिहासकार बताउनुहुन्छ ।

विसं १९६५ मा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उहाँ बेलायत पनि जानुभयो । बेलायतमा उहाँलाई कर्नेलको दर्जा दिइयो । साथै उहाँ अमेरिका र रुस भ्रमण गर्ने पहिलो नेपालीको रूपमा चिनिनुभयो । विभिन्न पुस्तकमा उल्लेख भएअनुसार उहाँले नक्कली भिसा लिएर जापान पुग्दा उहाँ पक्राउसमेत पर्नुभएको थियो ।

इतिहासविद् देउवाका अनुसार जयपृथ्वी विश्वमा जति मुलुक पुग्नुभयो त्यो देशमा शान्ति, मानवता र भ्रातृत्वकै अभिवृद्धिको सन्देश मात्र दिनुहुन्थ्यो । जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाउनुभयो । उहाँको संरक्षकत्वमा एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले ।

विसं १९९७ असोज १ गते भारतको बेंग्लोरमा जयपृथ्वी ६४ वर्षको उमेरमा स्व हुनुभयो । उहाँ स्व भएपछि विदेशीले दोस्रो गौतमबुद्धको नामले सम्मान नै ग¥यो । भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतमबुद्धको निधन’ भनेर समाचार प्रकाशित गरेको देउवा बताउनुहुन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker