दमौलीमा जातीय विभेद तथा छुवाछूत सम्बन्धी अभिमुखिकरण

तनहुँको व्यास नगरपालिकामा जातीय विभेद तथा छुवाछूत सम्बन्धी अभिमुखिकरण गरिएको छ । नगरका वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्य एवं वडा सदस्यहरूलाई जातीय विभेद तथा छुवाछूत सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
व्यास नगरपालिका दलित मैत्री दलित शसक्तिकरण समितिले आयोजना गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे विकले कानुनले जातीय विभेद गर्न पाइँदैन भन्ने प्रस्ट हुँदाहुँदै पनि उक्त विषय व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दलित मैत्री जातीय विभेद मुक्त नगरपालिका बनाउनको लागि वडा तहबाट नैँ यस अभियान कडाइका साथ लागु गर्नुपर्ने बताए । उनले समाजमा कहिँ कतै जातीय विभेदका घटना घट्न नहुने बताउँदै जातीय विभेदको मुद्दा अन्य मुद्दा भन्दा संवेदनशिल हुने र यो सरकारवादी हुने बताए ।
यस्तै कार्यक्रममा व्यास नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यले नगरपालिकाले जुन उद्देश्य राखेर काम गरेको छ, त्यसलाई सफल बनाउन गाउँ टोलबाटै सबै क्षेत्रका मानिसहरू लाग्नुपर्ने बताए । सबै मानिस समान हो भन्ने चेतना दिन सक्यौं भने जातीय विभेदमा कमि आउने आचार्यको भनाइ थियो ।
कार्यक्रम पश्चात् सबै वडामा वडाका जनप्रतिनिधिले दलितमैत्री तथा जातीय विभेद मुक्त समाज निर्माण गर्नलाई कार्ययोजना अगाडि बढाउने व्यास नगरपालिका दलित मैत्री दलित शसक्तिकरण समितिका संयोजक कृष्ण रूचालले बताए ।










