सम्पादकीय – तनहुँका गाउँबस्ति : ग्रामीण पर्यटन र नमुना बस्तीको अभियान
तनहुँ जिल्ला ग्रामीण पर्यटनको हबका रूपमा चिनिन्छ । यहाँका गाउँबस्तीमा बस्ने समुदायका मौलिक संस्कार, परम्परा र संस्कृतिले जो–कोहीलाई लोभ्याउने शक्ति बोकेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहित्यिक लगायतका विविध आयामले भरिपूर्ण यस्ता बस्ती ग्रामीण पर्यटनका दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । तर, समयानुकूल प्रवर्द्धन र प्रचारप्रसार हुन नसक्दा यिनले पाउनु पर्ने ध्यान ओझेलमा पर्दै गएको छ ।

ग्रामीण जीवनशैलीको मौलिकता र पर्यटनको सम्भावना समेटेका बस्तीहरू अहिले पनि नमुना बस्तीको पर्खाइमा छन् । ‘मोडेल भिलेज’ अर्थात् नमुना बस्तीको अवधारणा पहिलोपटक अठारौँ शताब्दीमा वेलायतमा प्रयोग भएको थियो । त्यतिबेला जमिनदार र उद्योगपतिहरूले आफ्ना कामदारलाई कार्यस्थल नजिकै बसोबाससहितका सामाजिक सुविधा सम्पन्न आवास निर्माण गर्दै नमुना गाउँहरूको सुरुवात गरेका थिए । ती बस्तीहरूमा मौलिकता, पर्यावरणीय सन्तुलन र सौन्दर्यकरणको अद्भुत संयोजन पाइन्थ्यो, जसले पर्यटनलाई आकर्षित मात्र गरेन, आजसम्म पनि आफ्नो मौलिकता जगेर्ना गर्न सफल भएको छ । तर नेपालमा नमुना बस्तीको परिभाषा, उद्देश्य र कार्यान्वयन पद्धति वेलायतको प्रारम्भिक सोचभन्दा फरक र अझ सान्दर्भिक छ ।

हाम्रो सन्दर्भमा नमुना बस्ती भन्नाले केवल आकर्षक पूर्वाधार वा घर निर्माण मात्र होइन, समग्र ग्रामीण जीवनशैलीको उन्नयन, सामाजिक समावेशीकरण र आत्मनिर्भरतासँग गाँसिएको एक दिगो विकास प्रक्रिया बुझिन्छ । यस अवधारणाले ग्रामीण भेगलाई सुन्दर बनाउन मात्र होइन, जीवनस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्य लिएको छ । नेपालका विभिन्न क्षेत्रमा हाल नमुना बस्ती निर्माणका प्रयास भइरहेको पाइन्छ । ती प्रयास केवल सौन्दर्यकरण वा संरचना निर्माणमा सीमित नभई कृषिपर्यटन, जैविक कृषि र लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित छन् । यसमा स्थानीय बासिन्दा नै विकास यात्राका चालक बनाइएका छन् ।

गाउँमै रोजगारी सृजना, उत्पादन र उपभोगको स्थानीय प्रणाली, बालमैत्री र वातावरणमैत्री जीवनशैली, सामूहिक सहभागिता र आत्मनिर्भर जीवनशैली नमुना बस्तीको मूल मर्म बनेको छ । यस्तो अवधारणा प्रवद्र्धनका लागि समाजसेवाभावले प्रेरित लायन्स, रोटरी, जेसिस, लियो जस्ता अन्तर्राष्ट्रिय क्लब तथा विभिन्न शैक्षिक र सामाजिक संघसंस्थाले पनि अग्रसरता देखाएका छन् । ती संस्थाले केही गाउँलाई मोडेल भिलेजको रूपमा विकास गर्ने पहल गरेका छन् । संस्था र समुदायबीचको सहकार्यले केवल पूर्वाधार विकास मात्र होइन, सोच र व्यवहारमा समेत सकारात्मक परिवर्तन ल्याएको छ । यसै कारण कतिपय बस्तीहरू ‘लायन्स भिलेज’ वा ‘जेसिस भिलेज’ जस्ता नामले चिनिन थालेका छन्, जसले समुदायभित्र स्वामित्वको भाव र गौरव बढाएको छ ।

तर, नमुना बस्तीको घोषणा मात्र उत्साह वा प्रचारका लागि गर्ने काम होइन । यसको कार्यान्वयनमा गहिरो पूर्वतयारी आवश्यक पर्छ । विश्वव्यापी अभ्यासलाई आधार मान्दा, नमुना बस्ती निर्माणका लागि पूर्वतयारीदेखि कार्यान्वयन र मूल्याङ्कनसम्म पाँच चरण पूरा गर्नुपर्ने हुन्छ । त्यस्तै, ४० भन्दा बढी सूचकहरूको पूर्ति आवश्यक पर्छ । उदाहरणका लागि, बालमैत्री गाउँ घोषणा गर्न मात्र ५१ सूचक पूरा गर्नुपर्छ। यसैले नमुना बस्ती भनेको केवल भौतिक संरचना होइन, सामाजिक संरचना र मानसिकतासमेतको गहिरो पुनर्संरचना हो । तनहुँ जिल्लाका रुम्सी, दुबुङ, टुटेपानी, रामकोट, लमनासा, मिछुर्लुङ, चितीखोला लगायतका बस्तीहरू क्रमशः नमुना बस्तीको स्वरूपमा उभिँदै गएका छन् । यी बस्तीहरूको प्रवद्र्धनका लागि स्थानीय सरकार, समुदाय र साझेदार संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउन आवश्यक छ । योजनाबद्ध, चरणबद्ध र मूल्य–आधारित कामले मात्रै यी गाउँहरूलाई दीगो, समृद्ध र पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण गर्न सकिन्छ ।

तनहुँका ग्रामीण बस्तीहरूमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा दुवै पाइन्छन्। तर, यिनलाई जगेर्ना गर्ने, अध्ययन–अवलोकन गर्ने र आधुनिक पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्ने सोच अझै प्रष्ट छैन । नमुना बस्तीको अभ्यासलाई केवल भवन सुन्दर देखाउने प्रतिस्पर्धामा सीमित गर्ने हो भने यसको मूल उद्देश्य हराउने छ। स्थानीय उत्पादनलाई प्रोत्साहन, मौलिक संस्कृति र परम्परालाई जगेर्ना, सामूहिक सहभागिता र सीप–रोजगारीलाई मजबुत बनाउन सके मात्र यो अभियान सफल हुनेछ । यसका लागि सबै तहका सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र र स्थानीयवासीबीच समन्वय अपरिहार्य छ ।

ग्रामीण पर्यटनले ल्याउने फाइदा केवल आर्थिक मात्र नभई सामाजिक, सांस्कृतिक र शैक्षिक पनि हुन्छ । यसले गाउँमै रोजगारी सिर्जना गर्ने, युवा विदेश पलायन रोक्ने र आत्मनिर्भर जीवनशैली निर्माण गर्ने सम्भावना बोकेको छ । नमुना बस्ती केवल एक विकास मोडल होइन, ग्रामीण पुनर्जागरणको अभियान हो । यसलाई सफल बनाउन नीतिनिर्मातादेखि कार्यान्वयनकर्ता र स्वयं स्थानीयवासी सबैले समान जिम्मेवारी र प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ । सकारात्मक सोच, योजनाबद्ध काम, र सामूहिक सहकार्यको आधारमा तनहुँका गाउँहरू नमुना बस्ती मात्र होइन, ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनिन सक्छन् ।











