सम्पादकीय – तनहुँका गाउँबस्ति : ग्रामीण पर्यटन र नमुना बस्तीको अभियान

तनहुँ जिल्ला ग्रामीण पर्यटनको हबका रूपमा चिनिन्छ । यहाँका गाउँबस्तीमा बस्ने समुदायका मौलिक संस्कार, परम्परा र संस्कृतिले जो–कोहीलाई लोभ्याउने शक्ति बोकेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहित्यिक लगायतका विविध आयामले भरिपूर्ण यस्ता बस्ती ग्रामीण पर्यटनका दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । तर, समयानुकूल प्रवर्द्धन र प्रचारप्रसार हुन नसक्दा यिनले पाउनु पर्ने ध्यान ओझेलमा पर्दै गएको छ ।

ग्रामीण जीवनशैलीको मौलिकता र पर्यटनको सम्भावना समेटेका बस्तीहरू अहिले पनि नमुना बस्तीको पर्खाइमा छन् । ‘मोडेल भिलेज’ अर्थात् नमुना बस्तीको अवधारणा पहिलोपटक अठारौँ शताब्दीमा वेलायतमा प्रयोग भएको थियो । त्यतिबेला जमिनदार र उद्योगपतिहरूले आफ्ना कामदारलाई कार्यस्थल नजिकै बसोबाससहितका सामाजिक सुविधा सम्पन्न आवास निर्माण गर्दै नमुना गाउँहरूको सुरुवात गरेका थिए । ती बस्तीहरूमा मौलिकता, पर्यावरणीय सन्तुलन र सौन्दर्यकरणको अद्भुत संयोजन पाइन्थ्यो, जसले पर्यटनलाई आकर्षित मात्र गरेन, आजसम्म पनि आफ्नो मौलिकता जगेर्ना गर्न सफल भएको छ । तर नेपालमा नमुना बस्तीको परिभाषा, उद्देश्य र कार्यान्वयन पद्धति वेलायतको प्रारम्भिक सोचभन्दा फरक र अझ सान्दर्भिक छ ।

हाम्रो सन्दर्भमा नमुना बस्ती भन्नाले केवल आकर्षक पूर्वाधार वा घर निर्माण मात्र होइन, समग्र ग्रामीण जीवनशैलीको उन्नयन, सामाजिक समावेशीकरण र आत्मनिर्भरतासँग गाँसिएको एक दिगो विकास प्रक्रिया बुझिन्छ । यस अवधारणाले ग्रामीण भेगलाई सुन्दर बनाउन मात्र होइन, जीवनस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्य लिएको छ । नेपालका विभिन्न क्षेत्रमा हाल नमुना बस्ती निर्माणका प्रयास भइरहेको पाइन्छ । ती प्रयास केवल सौन्दर्यकरण वा संरचना निर्माणमा सीमित नभई कृषिपर्यटन, जैविक कृषि र लोपोन्मुख सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित छन् । यसमा स्थानीय बासिन्दा नै विकास यात्राका चालक बनाइएका छन् ।

गाउँमै रोजगारी सृजना, उत्पादन र उपभोगको स्थानीय प्रणाली, बालमैत्री र वातावरणमैत्री जीवनशैली, सामूहिक सहभागिता र आत्मनिर्भर जीवनशैली नमुना बस्तीको मूल मर्म बनेको छ । यस्तो अवधारणा प्रवद्र्धनका लागि समाजसेवाभावले प्रेरित लायन्स, रोटरी, जेसिस, लियो जस्ता अन्तर्राष्ट्रिय क्लब तथा विभिन्न शैक्षिक र सामाजिक संघसंस्थाले पनि अग्रसरता देखाएका छन् । ती संस्थाले केही गाउँलाई मोडेल भिलेजको रूपमा विकास गर्ने पहल गरेका छन् । संस्था र समुदायबीचको सहकार्यले केवल पूर्वाधार विकास मात्र होइन, सोच र व्यवहारमा समेत सकारात्मक परिवर्तन ल्याएको छ । यसै कारण कतिपय बस्तीहरू ‘लायन्स भिलेज’ वा ‘जेसिस भिलेज’ जस्ता नामले चिनिन थालेका छन्, जसले समुदायभित्र स्वामित्वको भाव र गौरव बढाएको छ ।

तर, नमुना बस्तीको घोषणा मात्र उत्साह वा प्रचारका लागि गर्ने काम होइन । यसको कार्यान्वयनमा गहिरो पूर्वतयारी आवश्यक पर्छ । विश्वव्यापी अभ्यासलाई आधार मान्दा, नमुना बस्ती निर्माणका लागि पूर्वतयारीदेखि कार्यान्वयन र मूल्याङ्कनसम्म पाँच चरण पूरा गर्नुपर्ने हुन्छ । त्यस्तै, ४० भन्दा बढी सूचकहरूको पूर्ति आवश्यक पर्छ । उदाहरणका लागि, बालमैत्री गाउँ घोषणा गर्न मात्र ५१ सूचक पूरा गर्नुपर्छ। यसैले नमुना बस्ती भनेको केवल भौतिक संरचना होइन, सामाजिक संरचना र मानसिकतासमेतको गहिरो पुनर्संरचना हो । तनहुँ जिल्लाका रुम्सी, दुबुङ, टुटेपानी, रामकोट, लमनासा, मिछुर्लुङ, चितीखोला लगायतका बस्तीहरू क्रमशः नमुना बस्तीको स्वरूपमा उभिँदै गएका छन् । यी बस्तीहरूको प्रवद्र्धनका लागि स्थानीय सरकार, समुदाय र साझेदार संस्थाबीचको सहकार्यलाई अझ मजबुत बनाउन आवश्यक छ । योजनाबद्ध, चरणबद्ध र मूल्य–आधारित कामले मात्रै यी गाउँहरूलाई दीगो, समृद्ध र पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण गर्न सकिन्छ ।

तनहुँका ग्रामीण बस्तीहरूमा प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदा दुवै पाइन्छन्। तर, यिनलाई जगेर्ना गर्ने, अध्ययन–अवलोकन गर्ने र आधुनिक पर्यटकीय गन्तव्यका रूपमा प्रस्तुत गर्ने सोच अझै प्रष्ट छैन । नमुना बस्तीको अभ्यासलाई केवल भवन सुन्दर देखाउने प्रतिस्पर्धामा सीमित गर्ने हो भने यसको मूल उद्देश्य हराउने छ। स्थानीय उत्पादनलाई प्रोत्साहन, मौलिक संस्कृति र परम्परालाई जगेर्ना, सामूहिक सहभागिता र सीप–रोजगारीलाई मजबुत बनाउन सके मात्र यो अभियान सफल हुनेछ । यसका लागि सबै तहका सरकार, गैरसरकारी संस्था, निजी क्षेत्र र स्थानीयवासीबीच समन्वय अपरिहार्य छ ।

ग्रामीण पर्यटनले ल्याउने फाइदा केवल आर्थिक मात्र नभई सामाजिक, सांस्कृतिक र शैक्षिक पनि हुन्छ । यसले गाउँमै रोजगारी सिर्जना गर्ने, युवा विदेश पलायन रोक्ने र आत्मनिर्भर जीवनशैली निर्माण गर्ने सम्भावना बोकेको छ । नमुना बस्ती केवल एक विकास मोडल होइन, ग्रामीण पुनर्जागरणको अभियान हो । यसलाई सफल बनाउन नीतिनिर्मातादेखि कार्यान्वयनकर्ता र स्वयं स्थानीयवासी सबैले समान जिम्मेवारी र प्रतिबद्धताका साथ अघि बढ्नुपर्छ । सकारात्मक सोच, योजनाबद्ध काम, र सामूहिक सहकार्यको आधारमा तनहुँका गाउँहरू नमुना बस्ती मात्र होइन, ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनिन सक्छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker