शुक्लागण्डकीको कुम्लेखोलामा मोटरेबल पुल निर्माण

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेल्बोटेस्थित कुम्लेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ। उक्त मोटरेवल पुलको शनिबार एक कार्यक्रमका बीच पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरेका छन् ।
प्रसिद्ध धार्मिक तीर्थस्थल तीनखोले देवीको मन्दिरमा जाने मार्गमा बनेको यो पुलको उद्घाटन गर्दै सांसद भण्डारीले ग्रामीण क्षेत्रका विकासमा पुल कोशेढुँगा हुने बताए । तीनखोले मन्दिर जान सहज हुनुका साथै विभिन्न गाउँहरुमा जान सहज हुने गरी पुल बनेको बताउँदै उनले भने, ‘पुलले विकासका सम्भावनाहरुलाई उजागर गर्दछ ।’
सांसद भण्डारीले गण्डकी प्रदेशको राजधानी पोखरासँग तनहुँको शुक्लागण्डकी विकास गर्न सम्भव रहेकाले यस तर्फ ध्यान केन्द्रित हुनु अबको आवश्यकता रहेको बताए ।
उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले पुल निर्माणमा शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि र स्थानीय उपभोक्ता समितिले महत्वपूर्ण योगदान दिएको बताए । उनले पुल बनेसँगै शुक्लागण्डकी ५ र म्याग्दे गाउँपालिका ६ का नागरिकहरु प्रत्यक्ष लाभविन्त बन्ने जानकारी दिए ।
सो अवसरमा जनप्रतिनिधिहरुको पहलमा देशको विकासमा उल्लेख्य काम भएको दावि गर्दै नगरप्रमुख पण्डितले विकास नभएको भ्रम फैलाउन केही समुह लागि परेको भन्दै असन्तुष्टी ब्यक्त गरे । उनले जनपक्षीय निर्णय र काम गर्ने सवालमा आफुहरु सच्चिन समेत तयार रहेको जनस्तरको सुझावका सधै अपेक्षा गर्ने गरेको बताए ।

खैरेनीटार तीनखोलेदेवि मोेटर मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष बालकुमार वाग्लेको अध्यक्षतामा आयोजित कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी, शुक्लागण्डकी नगरपालिका–६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, काँग्रेस नेता कृष्णप्रसाद रेग्मी, एमालेका नेता तिर्थराज खनाल, पुल निर्माण कम्पनीका गगन केसी, स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखराका इन्जिनियर रविन पन्त लगायतले पुल निर्माण पश्चात ग्रामीण क्षेत्रको सम्भावनाहरुको खोजी गरिनुपर्नेमा जोड दिए । उनीहरुले पूर्वाधार विकासँगै अब सामाजिक विकास तर्फ जोड दिनुपर्ने बताए ।
१७.८० मिटर लम्वाईको कुम्लेखोला डबल सेल बक्स पुल निर्माण गर्न गत वर्षको असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मीले ठेक्का सम्झौता गरेको थियो। कर सहित दुई करोड ८० लाख ५९ हजार ९७९ रुपैयाँमा ठेक्का पाएको कम्पनीले यो पुल आगामी पुष १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण पक्षले सम्झौता मिति भन्दा ६ महिना अघि नै पुल निर्माण गरेर हस्तान्तरण गरेको बताइएको छ ।










