छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित महायज्ञमा एकैदिन ३० लाख सङ्कलन

दमौली : आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी–बूढीदेवी मन्दिर क्षेत्रको समग्र विकासका लागि सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञमा आइतबार एकै दिन रु ३० लाख दान सङ्कलन भएको छ । आँबुखैरेनी–३ हाटबजार परिसरमा सञ्चालित महायज्ञमा रु ३० लाख दान सङ्कलन भएको आयोजक समितिले जानकारी दिएको छ ।
छिम्केश्वरी पर्यटन विकास समितिको आयोजना, छिम्केश्वरी मन्दिर संरक्षण समिति र गाउँपालिकाको संरक्षकत्वमा आयोजित महायज्ञमा महायज्ञ मूल समारोह समितिका संयोजक कृष्णमान तामाङले रु पाँच लाख एक हजार १०१ दान सहयोग गरेको आर्थिक समितिका संयोजक मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आँबुखैरेनी–३ निवासी अर्णमान श्रेष्ठले रु पाँच लाख ११ हजार, अमृत केसीले रु पाँच लाख पाँच हजार ५५८ र केशरबहादुर केसीले रु एक लाख ११ हजार १११ दान गर्नुभएको छ । जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी बूढीमाई क्षेत्रको विकासका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित सुरु भएको महायज्ञ यही कात्तिक १५ गतेसम्म चल्नेछ । महायज्ञबाट रु १० करोड आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छभने करिब रु ५० लाख खर्च हुने अनुमान छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोख्रेलले कथा वाचन गर्नुभएको छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखकालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायत हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।
महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो ।
छिम्केश्वरीमा हाल वार्षिक रुपमा एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेको नयाँ वर्ष लगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छ  ।
छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा रु ४१ लाख ६३ हजार ७०६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा रु ३५ लाख ९९ हजार १४१ को लागतमा ३०५ मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker