भिमाद नगरपालिकाको न्यायीक समितिद्वारा पाँच वर्षमा १०१ मुद्दा फर्छ्यौट
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद नगरपालिकाको न्यायीक समितिले गत पाँच वर्षे कार्यकालमा १०१ मुद्दा फर्छ्यौट गरेको छ । नगरपालिकाको अघिल्लो जनप्रतिनिधिको कार्यकालमा न्यायीक समितिमा १६६ मुद्दा दर्ता भएका थिए ।
पाँच आर्थिक बर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये अधिकांश मिलापत्रबाट टुङ्ग्याएको नगरपालिकाका अधिकृत अजय सुवेदीले बताए । उनले भने, ‘नगरपालिकाको न्यायिक समितिले गरेका मिलापत्र कार्य प्रभावकारी बन्दै गएकोले काम गर्न पनि सहज भएको छ ।’
नगरपालिकामा आर्थिक वर्ष २०७४/०७५ मा ३२ मुद्दा परेकोमा पाँच वटा फर्छ्यौट भई २७ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका थिए । आव २०७५/०७६ मा ४९ मुद्दा दर्ता भएकामा ३५ मुद्दा मिलापत्रद्वारा टुङ्ग्याइएको थियो ।
आव २०७६/०७७ मा २३ मुद्दा दर्ता भएकोमा १७ मुद्दा फर्छ्यौट भई छ वटा बाँकी रहेका थिए भने आव २०७७/०७८ मा ३१ मुद्दा दर्ता भएकोमा २३ फर्छ्यौट भई ८ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका थिए । आव २०७८/०७९ मा ३१ मुद्दा दर्ता भएकोमा २१ मुद्दा फर्छ्यौट भई १० मुद्दा बाँकी रहेका छन् ।
नगरपालिकाको न्यायीक समितिमा परेका मुद्दा नगरपालिकाबाटै छिनोफानो गरिंदा अदालत जानुपर्ने झन्झटको अन्त्य हुनका साथै आर्थिक भारमा कमी आएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले बताए ।
मुद्दा दर्ता भएकामध्ये अधिकाँश साँध सिमना मिचिएको विवाद, मानाचामल, आर्थिक लेनदेन, पतिपत्नी बीचको झै-झगडा, सामाजिक सञ्जालको दुरुपयोग जस्ता विषय आउने गरेको नगरपालिकाकी उपाध्यक्ष एवं न्यायीक समितिकी संयोजक शारदा खनालले बताइन् ।
‘नगरपालिकामा आएका मुद्दा न्यायीक समितिले दुबै पक्षका समस्या बुझेर र दुबै पक्षलाई जितको अनुभूति दिने गरी मिलापत्रबाटै समस्याको समाधान गर्ने गरेका छौं’, संयोजक खनालले भनिन्, ‘सम्भव भएसम्म न्यायीक समितिलेनै सहजिकरण गरी मुद्दाको किनारा लगाउने र हाम्रो क्षेत्राधिकार भन्दा बाहिरी प्रकृतिका मुद्दा आएमा आवश्यक सहजिकरण गरी प्रहरी प्रशासन तथा अदालत पठाउने गरेका छौं ।’










