भौतिकवादी दर्शन र हाम्रो समाज
सुरेशकुमार पाण्डे

देशलाई आवश्यक पर्ने मुख्य खुराक भनेको भौतिकवादी दर्शन नै हो । जनताको आधारभूत आवश्यकता पनि भौतिकवादसँग नै जोडिएको छ । इतिहास साक्षी छ– संसारमा भएका सबै प्राविधिक, वैज्ञानिक र प्रविधिक उपलब्धिहरू भौतिकवादकै परिणाम हुन् । हामीले दैनिक उपभोग गर्ने अन्नदेखि लिएर उच्चतम वैज्ञानिक आविष्कारसम्म सबै भौतिक विज्ञानकै उपज हुन् । प्रकृतिद्वारा प्राप्त स्रोत र साधनलाई आवश्यकता अनुसार रूपान्तरण गर्ने माध्यम नै भौतिकवाद हो । चराचर जगत् बुझ्ने दृष्टिकोणको विकास पनि भौतिक ज्ञानद्वारा सम्भव भएको छ । मानव सभ्यताले शताब्दीयौँदेखि यसबारे अध्ययन, अनुसन्धान र बहस गर्दै आएको छ ।
विज्ञान भनेको आँखा चिम्लिएर गर्ने साधना होइन, न त चमत्कारद्वारा प्राप्त हुने तत्व हो। विज्ञान भनेको निरन्तर खोज, अनुसन्धान र प्रयोगको परिणाम हो। जस्तै– डाक्टरले मानव शरीर र मस्तिष्कका अंग र तिनका कार्यबारे अध्ययन गर्छन्, त्यस्तै भौतिक विज्ञानले पनि समाजमा के कमी छ र त्यसको समाधान कसरी सम्भव छ भन्ने कुरा पत्ता लगाउँछ ।
गाई, भैंसी र बाख्राको दूधमा के फरक हुन्छ, कुन तत्व बढी वा कम हुन्छ भन्ने पत्ता लगाउनु, किसानले उत्पादन गरेको अन्नको गुणस्तर कसरी सुधार्न सकिन्छ भन्ने कुरा– यी सबै भौतिक ज्ञानका उदाहरण हुन् । यसैले हाम्रो जीवन र प्रकृतिसँग भौतिक विचारको अभिन्न सम्बन्ध रहेको छ ।
ढुङ्गे युगमा पनि मानिसले ढुङ्गा तिखारेर सिकार गथ्र्यो– त्यो पनि विज्ञानकै प्रारम्भिक रूप हो । त्यही युगमा भारी ढुङ्गा चलाउन साप्लो (ज्याक)को प्रयोग हुन्थ्यो, त्यो पनि विज्ञानकै उपयोग थियो। विगतमा कुनै घटना घट्दा ध्वजा फहराउने चलन आध्यात्मिक नभई व्यवहारिक विज्ञानसँग सम्बन्धित थियो, जुन पछि अन्धविश्वास र पूजाको स्वरूपमा रूपान्तरण भयो । मानिसले बुझ्नभन्दा पूजालाई सजिलो ठानेर त्यसलाई दैवीकरण ग¥यो– यही मानवीय कमजोरीले अन्धविश्वास बलियो बनायो ।
विज्ञान कहिल्यै पुरानो हुँदैन, न त यसको मूल्य घट्छ । यो त निरन्तर नयाँ रूपमा विकसित हुँदै जाने प्रक्रिया हो । हाम्रो समाजले भौतिक विज्ञानको प्रयोग गर्दै आएको छ, र आज हामी त्यसकै जगमा उभिएका छौं ।
गरिब, किसान र श्रमजीवी वर्गको हितका लागि समाजलाई शोषणमुक्त कसरी बनाउन सकिन्छ भन्ने अध्ययनकै परिणामस्वरूप कार्ल माक्र्सको समयमा भौतिकवादी दर्शनले गुणात्मक रूप पायो । माक्र्स र एंगेल्सले यसलाई वैचारिक आधार दिए भने लेनिन र स्टालिनले त्यसलाई व्यवहारमा उतारे । रूसमा भएको समाजवादी क्रान्तिले संसारभर शोषणविरुद्धको आन्दोलनलाई बलियो बनायो । पछि माओत्सेतुङले चीनमा जनवादी क्रान्ति गरेर भौतिकवादलाई नयाँ उचाइमा पु¥याए । आज चीनले भौतिक सोचकै बलमा विश्व शक्तिको रूप लिएको छ ।
यद्यपि समयसँगै प्रतिक्रान्तिहरू पनि भए, भौतिकवादी चिन्तन भने निरन्तर विकसित हुँदै आएको छ । विश्वका धेरै देशहरूमा माक्सवादी सिद्धान्तका आधारमा सामाजिक रूपान्तरणका प्रयास भएका छन् । तर हाम्रो देशमा परम्परागत र रूढीवादी समाज संस्थागत रूपमा बलियो छ । जबसम्म हामी चेतनशील नागरिकका रूपमा यस्ता कुसंस्कारबाट मुक्त हुँदैनौं, तबसम्म भौतिक ज्ञानलाई आत्मसात् गर्न सक्दैनौं । भौतिक विज्ञान अपनाउन नसकेसम्म राजनीतिक दल, विचारधारा वा शासन प्रणाली जति परिवर्तन भए पनि देशले गुणात्मक प्रगति गर्न सक्दैन ।
आज पनि हामी विज्ञानका उपलब्धिलाई चमत्कारको रूपमा लिन्छौं– रोग निको पार्ने डाक्टरलाई होइन, त्यसको श्रेय भगवानलाई दिइन्छ । हवाईजहाज बनाउने इञ्जिनियर होइन, ‘दैवी शक्ति’को प्रशंसा गरिन्छ । यसले मानिसलाई आत्मनिर्भर होइन, निर्भर बनाएको छ । चेतनाको यही कमीले समाजलाई पछि पारेको हो ।
डार्विनले भनेझैं “निषेधको निषेध” बाटै विकास सम्भव हुन्छ । नयाँ कुरा पुरानो जगमा टेकेर अघि बढ्छ । एउटा बीउबाट हजारौं दाना जन्मिन्छन्– यही नै विकासको वैज्ञानिक सिद्धान्त हो ।
राजनीतिक दलहरूले समाजलाई सही दिशामा लैजाने क्षमता राख्नुपर्छ । तर आजका धेरै दलहरूले जनतालाई भ्रममा पारेर सत्ताको भ¥याङका रूपमा प्रयोग गर्दै आएका छन् । कम्युनिष्ट भनेर चिनाउने दलहरू पनि यही जालमा परेका छन् ।
यदि भौतिक ज्ञान, व्यावहारिक नीति र वैज्ञानिक सोच भएका अग्रगामी शक्तिको हातमा देशको शासन आयो भने देशको मुहार परिवर्तन हुन सक्छ । तर हाम्रो रूढिवादी समाज अझै पनि अन्धविश्वास र कुसंस्कारमा बाँधिएको छ । यही कमजोरीले अवसरवादलाई बलियो बनाएको छ र भौतिकवादको जरामा प्रहार गरेको छ ।
धर्मको आवरणमा पाप गर्ने चलन समाजमा गहिरो बनिसकेको छ । यस भ्रमको जालबाट समाजलाई मुक्त गर्नसके मात्र देशले गुणात्मक विकास गर्नेछ । तर प्रश्न यहीँ छ– “त्यो अफिमको नशाबाट समाजलाई मुक्ति कसले दिलाउने?” जबसम्म मानिस चेतनशील र विवेकशील बन्दैन, तबसम्म देशको अवस्था यस्तै रहिरहनेछ।










