पृथ्वीराजमार्गमा बस–स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीभिरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बेलचौताराका अनुसार मिति २०८२ साल मंसिर २८ गते दिउँसो करिब १:१० बजे दमौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ ख ९४०६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको GANDAKI AAB 0186 नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल उपचारका लागि जि.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटा पठाइएको थियो। चिकित्सकले चेकजाँच गर्दा दिउँसो १:४५ बजे घाइतेलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मृतकको पहिचान स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–७ भारकोट निवासी ५१ वर्षीय लेशबहादुर थापा रहेको खुलेको छ। दुर्घटनामा मृतकको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।
दुर्घटनामा संलग्न बस, स्कुटर र बस चालक स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका–५ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–१७ बिरौटामा बसोबास गर्दै आएका ५१ वर्षीय चुडामणि शर्मा पोखरेललाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ।
दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










