बाढीपहिराले तनहुँका ग्रामीण सडक अवरुद्ध

दमौली : बाढीपहिरोका कारण तनहुँका ग्रामीण सडक अवरुद्ध भएका छन् । केही दिनदेखि परेको वर्षाका कारण बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा ग्रामीण सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
ऋषिङ गाउँपालिका–५ लाग्नेचौतारीदेखि राम्जाकोटसम्म पुग्ने बाटो आज पहिरोले अवरुद्ध भएपछि सर्वसाधारणलाई सास्ती भएको स्थानीय पूर्णिमा क्षेत्रीले बताउनुभयो । बाटो अवरुद्ध भएपछि विशेषगरी बिरामीलाई स्वास्थ्य संस्था र विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न कठिन भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिरोले बाटै ढाकेको छ, हिँड्डुल गर्न समस्या छ, सम्बन्धित निकायले चाँडोभन्दा चाँडो बाटो खोल्नेतर्फ पहल गर्नुपर्छ ।”
भिमाद नगरपालिका–८ भावर जरेवारमार्ग अन्तर्गत सिम्ले टोलमा वर्षाका कारण बुधबार सडक भासिँदा उक्त खण्ड अवरुद्ध भएको छ । भिमाद–५ स्थित वानटाङ खोलामा आएको बाढीले कजवे भत्किँदा दुई दिनदेखि सडक अवरुद्ध छ । खोलामा आएको बाढीले मङ्गलबार कजवे भत्किँदा भिमाद हुँदै ऋषिङ गाउँपालिकाका विभिन्न ठाउँमा जाने सडक अवरुद्ध भएको हो । खोलामा आएको बाढीले कजवे भत्किँदा सवारी साधन सञ्चालन हुन नसकेको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खोला बढेको छ, मानिस वारपार गर्न समेत जोखिम छ, पानी नघटेसम्म सवारी साधन सञ्चालन गर्न मिल्दैन ।”
यही बाटो हुँदै ऋषिङ–८ पल्ट्याङका सर्वसाधारण भिमाद बजार आउजाउ गर्छन् । खोला बढेपछि सवारी साधन सञ्चालन हुन नसक्दा स्थानीयलाई सास्ती भएको छ । यो खोलामा पक्की पुल निर्माण गर्नुपर्ने स्थानीयको वर्षौंदेखिको माग रहेको स्थानीय अस्मिता अधिकारीले बताउनुभयो । बर्खाका बेला खोला बढ्दा विद्यार्थीलाई विद्यालयसम्म आउजाउ गर्न समस्या रहेको उहाँको भनाइ छ ।
यस ठाउँमा तनहुँ जलविद्युत् आयोजनाले पक्की पुल निर्माणको तयारी गरिसकेको छ । आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माणको प्रक्रिया सुरु गरेको हो । वर्षौंदेखि खोलामा पुल नहुँदा समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दालाई पुल बनेपछि राहत हुने भएको छ । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत यहाँ पुल निर्माण गर्न लागिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । पुल निर्माणका लागि आयोजनाले गत असार १४ गते बोलपत्र आह्वान गरेको छ । उक्त पुलको लागत करिब रु २५ करोड रहनेछ ।
भण्डारीले भन्नुभयो, “एसियाली विकास बैङ्कको सहयोगमा आयोजना प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत पक्की पुल निर्माणको प्रक्रिया सुरु भएको हो, पुल बनेपछि यस भेगका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ ।” भिमाद हुँदै ऋषिङका विभिन्न वडा जाने भिमाद ऋषिङ खण्डअन्तर्गत वानटाङ खोलामा पुल नहुँदा बर्खायाममा यस भेगका हजारौँ सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । खोला बढेको बेला वारपार गर्न नै समस्या हुने गरेको छ । पुल नहुँदा यस भेगका जनताले जोखिम मोलेर खोला तर्न बाध्य छन् । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker