अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…

सिरहा : लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरिएको छ । जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै अर्कै परिवारले लिएर अन्त्यष्टि गरेको हो ।

गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव ‘पोष्टमार्टम’का लागि प्रादेशिक अस्पतालमा राखिएको थियो, तर अस्पतालले अर्कै परिवारलाई शव बुझायो ।

रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर सुनेलगत्तै नेपाल फर्किए । आज बिहान छोरीको अन्तिम संस्कारका लागि शव लिन अस्पताल पुग्दा त्यहाँ शव फेला पारेनन् ।

अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी अर्की एक समान उमेरकी किशोरीको शव परीक्षणका लागि अस्पतालमा राखिएको र ती किशोरीका परिवारले आइतबार झुक्किएर शव लिएको र सोही दिन अन्त्येष्टिसमेत गरिसकेको खुलेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले शव राख्ने क्रममा ‘कोडिङ’ नगरिएका कारण कर्मचारीबाट गल्ती भएको स्वीकार गर्नुभएको छ । उहाँले भन्नुभयो, “यो अस्पताल प्रशासनको गम्भीर लापर्बाही हो, यसको छानबिन गरी दोषीलाई कारबाही गर्नेछौँ ।”

छोरीको अन्तिम पटक मुख देख्नसमेत नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल हुनुभएको छ । उहाँले भन्नुभयो, “छोरीलाई समयमै बचाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन, कम्तीमा लास त हेर्न पाइएला कि भनेर अर्को देशबाट आयौँ तर अस्पतालको लापर्बाहीले त्यो पनि सम्भव भएन ।”
शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । त्यसक्रममा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी दोषीलाई कारबाही र न्यायको मागसमेत गरेका छन् ।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकार भएका पक्षबीच वार्ताको तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker