विदेशमा ज्यान गुमाएका १४ जनाको परिवारलाई क्षतिपूर्ति

तनहुँ : जिल्ला प्रशासन कार्यालयबाट सञ्चालन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँले वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ जनाका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत नौ महिनाको अवधिमा चौध जनाको परिवारलाई रु तीन करोड ७९ लाख ६८ हजार २५६ रकम उपलब्ध गराएको हो ।
वैदेशिक रोजगारीमा ज्यान गुमाएका, ठगीमा परेका र घाइते उपचारसहित कुल रु चार करोड ३४ लाख २० हजार २५६ क्षतिपूर्ति रकम सहयोगमा सहजीकरण गरेको हो । ठगीमा परेका १२ जनालाई रु ५४ लाख दुई हजार र दुर्घटनामा घाइते एक जनाको उपचारका लागि रु एक लाख रकम उपलब्ध भएपछि प्रदान गरिएको सामी कार्यक्रमकी परामर्शकर्ता गोमा तिवारीले जानकारी दिइन् ।
उक्त सामी कार्यक्रममा १८१ वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा उक्त संख्यामा मुद्दा दर्ता भएका हुन् । दर्ता भएका मुद्दामध्ये ५४ वटा फछ्र्यौट भएको छ भने १२७ वटा कारबाहीको प्रक्रियामा रहेको छ ।
उनका अनुसार व्यास नगरपालिका ६३, भानुमा १५, शुक्लागण्डकीमा २३, म्याग्देमा २१, भिमादमा १३, ऋषिङबाट १२, बन्दीपुर १७, देवघाट चार, घिरिङमा तीन र अन्य जिल्लाबाट नौ मुद्दा दर्ता भएका थिए । उनले भनिन्, “नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान लागेका नौ हजार १६० जनालाई सचेतना सम्बन्धी परामर्श दिइएको छ ।”
नेपाल सरकारबाट मान्यता प्राप्त मेनपावरबाट जाने, भिजिट भिषामा नजाने, एजेन्टमार्फत नजाने र श्रम अनिवार्य गराएर मात्रै जानेलगायतका विषयमा परामर्श दिई सचेत गराएको उनले बताइन् ।
“वैदेशिक रोजगारीमा जाने कोही पनि नठगिऊन्, दुःख नपाऊन् भनेर यस क्षेत्रमा काम गर्दै आएका छौँ”, उनले भनिने, “वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को प्रभावकारी भूमिका देखिएको छ ।”
नेपाल सरकार र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यस कार्यक्रम सञ्चालन हँुदै आएको छ ।
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को एक अभिन्न अङ्गका रूपमा रहेकोे आप्रवासी स्रोत केन्द्रले विशेषगरी वैदेशिक रोजगारीमा जाने सम्भावित कामदारहरूका लागि सूचना तथा परामर्श दिने काम गर्दै आएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालयमा सञ्चालन हुँदा राहदानी बनाउन आएका युवायुवतीलाई कोठामा राखेर परामर्श दिने गरिएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले जनाएको छ ।










