ट्याक्टरमा पछाडिको ढाला जडान गर्ने क्रममा दुर्घटना हुँदा चालक घाइते, संयुक्त प्रयासमा उद्धार

दमौली : तनहुँको व्यास नगरपालिका–४ बिरालेटारस्थित भित्री सडकखण्डमा आइतबार साँझ ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
साँझ करिब ५ः३० बजेको समयमा ग १ त ६७४९ नम्बरको ट्याक्टरमा पछाडिको ढाला जडान गर्ने क्रममा सवारी साधन आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा ट्याक्टर चालक च्यापिएको अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक प्रदीप थापाको कमाण्डमा १० जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।
उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय तनहुँबाट थप १० जना प्रहरी कर्मचारी तथा कालीभञ्ज्याङ गणबाट २० जनाको सुरक्षा टोली परिचालन गरिएको थियो। विभिन्न निकायबीच समन्वय गर्दै संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरिएको थियो।
संयुक्त प्रयासपछि घाइते चालकलाई सकुशल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ ।










