नवौँ राष्ट्रिय खेलकुद : प्रदेश सरकारद्वारा साढे तीन करोड निकासा

गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोटलगायत कामका लागि अर्थमन्त्रालयले बजेट उपलब्ध गराएको हो । प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिसअनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले बताउनुभयो ।

खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरे पनि अर्थले हालका लागि सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममा नै प्रदेश सरकारले रु एक करोड ४० लाख विनियोजन गरेको थियो । अर्थमन्त्रालयले बजेटमा व्यवस्था गरिएकोबाहेक थप बजेट खेलकुद मन्त्रालयलाई उपलब्ध गराएको हो ।

अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय खेलकुदका लागि बजेट अभाव हुन दिदैनौँ । अहिले निकासा गरिएभन्दा थप आवश्यक परेमा पुनः बजेट दिन्छौँ । खेलाडीलाई आधारभूत सुविधामा बजेट अभावले कुनै पनि कमी हुन दिदैनौँ ।”

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारले खेलाडी प्रशिक्षण सुरु गरेको छ । प्रदेश खेलकुद परिषद्ले शुक्रबारदेखि पहिलो चरणमा १४ खेलको विशेष प्रशिक्षण सुरु गरेको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडी छनोट गर्ने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलको विशेष प्रशिक्षण सञ्चालन भएको बाँकी हो ।

प्रदेश खेलकुद परिषद्ले बाँकी २२ खेलका लागि दोस्रो चरणमा जिल्ला छनोट प्रतियोगिता हुने जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ । यही भदौ ९ देखि १२ गतेसम्म जिल्ला छनोट प्रतियोगिता सञ्चालन गरिने सदस्य सचिव गुरुङले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker