गाउँपालिकाको लगानीले एसइई नतिजा सुधार, ७६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण

आँवुखैरेनी : तनहुँको आँवुखैरेनी गाउँपालिकाले शिक्षा क्षेत्र सुधारका लागि गरेको पहल उदहारणीय बनेको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा ७६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएसंगै गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको पहलको नतिजा देखिएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयबाट गरी उक्त संख्यामा विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी गराईन । उनका अनुसार गाउँपालिकाबाट दुई जना विद्यार्थीले ४ जिपिए अंक प्राप्त गर्न सफल भएका छन् ।
आँबुखैरेनी–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए । त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए ।
तर यस वर्ष उक्त विद्यालयको नतिजामा सुधार आएको छ । यस वर्ष विद्यालयबाट ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पन्ध्र जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए ।
पालिकाको लगानीका कारण यस वर्षको नतिजामा सुधार आएको विद्यालयका प्रधानाध्यापक गुरुङ बताउँछन् । पालिकाले एसइई दिने विद्यार्थीलाई मध्यनजर गरी होस्टेलको व्यवस्था गरेको थियो । होस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएको थियो ।
यस्तै विषयगत शिक्षकले होस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे । बिहान ५–८ र साँझ ५–८ अतिरिक्त अध्यययनको व्यवस्था मिलाइएको थियो । उनले भने, “सुरूदेखि एसइई नतिजा सुधारका लागि पालिकाले लगानी गरेको थियो । त्यसकै परिणाम अहिले देखिएको छ ।”
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्रका विद्यालयको नतिजा सुधारका लागि आफूहरू सुरूदेखि नै लागेको बताए । उनले भने, “गत वर्षको नतिजाले हामीलाई निराश बनाएको थियो । अहिले नतिजा सुधारका लागि विद्यालयमै आवाससहितको कक्षा सञ्चालन गरेका थियौँ ।”
यस्तै, आँबुखैरेनी गाउँपालिकास्थित विद्यालयबाट यस वर्षको एसइइ परीक्षामा सामुदायिकतर्फ ७८.९९ प्रतिशत र संस्थागततर्फ ७५ प्रतिशत नतिजा रहेको शिक्षा शाखा प्रमुख कुँवरले जानकारी दिइन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा सुधार रहेको उनको भनाइ छ ।
सामुदायितर्फ रामशाह माविमा ८९.५५, मित्रता माविमा ५८.२३, लक्ष्मी माविमा १००, कन्यादेवी माविमा ७३.३३, छिम्केश्वरी माविमा ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ दुई सय ५७ विद्यार्थी सहभागी रहेकामा दुई सय तीन विद्यार्थी उत्तीर्ण भएका छन् ।
संस्थागततर्फ बालशिक्षा सदन बोर्डिङ स्कूलबाट ५२.१७, मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कूलबाट ८६.०५, एक्टिभ ग्रिनल्याण्ड बोर्डिङ स्कूलबाट २१.४३, फ्युचर स्टार बोर्डिङ स्कूलबाट ८९.५८ र सनसाइन बोर्डिङ स्कूलबाट ८१.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागततर्फ एक सय ४४ सहभागी रहेकामा एक सय आठ विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस्तै, आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयका छात्र किस्मत पोख्रेल र छात्रा सन्जिना थापाले ४ जिपिए ल्याएका छन् ।










