तनहुँ जलविद्युत आयोजना : तनहुँतर्फका १७ वटै सामुदायिक वनमा रुख कटानको स्वीकृति

दमौली : १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फ पर्ने सबै १७ सामुदायिक वनमा रुख कटानको कानुनी स्वीकृति प्राप्त भएको छ ।
प्रसारण लाइन क्षेत्रभित्र पर्ने रुखको छपान तथा टाँचा लगाउने काम सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न स्वीकृति दिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। यससँगै तनहुँतर्फ प्रसारण लाइनमा पर्ने सबै सामुदायिक वनमा रुख कटानको बाटो खुलेको हो ।
प्रसारण लाइन क्षेत्रमा देवघाट गाउँपालिकाका पाँच तथा बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका छ/छ वटा सामुदायिक वन छन् । चितवनतर्फ भने रुख कटानको काम जारी रहेको आयोजनाले जनाएको छ ।
प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ । निर्माण कम्पनी केइसी इन्टरनेशनल लिमिटेड भारतले हालसम्म ८३ वटा टावरको जग निर्माण र ७८ वटा टावर जडान गरिसकेको छ । प्याकेज–३ को समग्र भौतिक प्रगति ८२ प्रतिशत पुगेको आयोजना प्रमुख भण्डारीले बताए ।
रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामले गति लिने आयोजनाको अपेक्षा छ । आयोजनाका तीनवटै प्याकेजमा निर्माण कार्य भइरहेको छ। बाँधलगायतका संरचना निर्माणको प्याकेज–१ को जिम्मा सोङ्दा कालिका जेभीले पाएको छ । उक्त प्याकेजको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ ।
विद्युतगृह तथा सम्बन्धित उपकरण निर्माणको प्याकेज–२ मा सिनो हाइड्रो कर्पोरेसनले काम गरिरहेको छ । उक्त प्याकेजको प्रगति ७९ प्रतिशत पुगेको छ। आयोजनाको समग्र भौतिक प्रगति भने ७८ प्रतिशत रहेको जनाइएको छ ।










