व्यासमा छात्रवृत्ति, अपाङ्गता परिचयपत्र कार्यविधि पारित, जग्गा व्यवस्थापन कार्यविधि संशोधन
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले कार्यविधिहरुलाई पारित र संशोधन गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा विहीबार बसेको कार्यपालिका बैठकले छात्रवृत्ति सहयोग वितरण कार्यविधि, २०८०, अपाङ्गता परिचयपत्र वितरण कार्यविधि, २०८० पारित गरेको छ। यस्तै, बैठकले व्यास नगरपालिका जग्गा व्यवस्थापन कार्यविधि प्रथम संशोधन, २०८० संशोधन गरेको छ ।
बैठकमा आ.व. २०८१/०८२ को बजेट तयारी सम्बन्धमा उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा गठित मापदण्ड प्रस्ताव समितिको सिफारिसलाई परिमार्जन सहित पारित गर्नुको छ । बैठकले जेठ महिनाको १० गतेभित्र नगर सभाका सदस्याहरुको उपस्थितिमा पूर्व बजेट तयारीका लागि छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको शहरी वडाहरु वडा नं. २, ३ र ४ का सडकहरुमा सडक संकेत राख्ने सम्बन्धी घर-नक्सा शाखाबाट प्रस्तावित नक्सालाई सुझाव सहित पारित गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, बैठकले व्यास नगर प्राज्ञ प्रतिष्ठान ऐन, २०७९ को प्रावधान अनुसार व्यास नगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा ३५ सदस्यीय प्रज्ञा सभा गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।
यस्तै, विश्व सम्पदा दिवसको सन्दर्भमा वडा नं.११ को तनहुँसुरमा निर्माण गरिएको ऐतिहासिक खड्गकाली मन्दिरको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गराउने निर्णय बैठकले गरेको बताइएको छ ।
गण्डकी प्रदेश सरकारबाट प्रस्ताव माग गरिएको लिड विद्यालय छनौटका लागि चैत ३० गतेसम्म प्रस्तावमा सहभागी हुने योग्यता पुगेका नगरपालिकाका प्रारम्भिक बालिविकासदेखि कक्षा १२ सम्म चलेका विद्यालयहरुसंग निवेदन माग गरिएको छ ।
नगरपालिकामा निर्माण गरिने योजनाहरुमा वातावरण तथा सामाजिक सुरक्षाका आधारभूत मान्यताहरु पालना गराउनका लागि सुझाव पेश गर्न शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख केदारराज आचार्यको संयोजकत्वमा सम्वन्धित शाखा प्रमुखहरु रहने गरी पाँच सदस्यीय नगरस्तरीय अध्ययन समिति गठन गर्ने बैठकले निर्णय गरिएको छ ।
यस्तै, पृथ्वी राजमार्ग विस्तारमा घर संरचना हटाउन बाँकी रहेका सम्बन्धित वडा नं. २ र ४ का घर संरचनासंग सम्बन्धित घरधनीहरुसँग समन्वय एवं सहजीकरण गर्न सम्बन्धित वडा अध्यक्षहरुलाई जिम्मा दिइएको छ ।









