तनहुँ समाज हङकङद्वारा मृगौला र क्यान्सर पीडितलाई आर्थिक सहयोग

दमौली : तनहुँ समाज हङकङले सोमबार २ जना दीर्घ रोगबाट पीडित भएकालाई आर्थिक सहयोग गरेको छ । समाजले दमौलीमा एक कार्यक्रमको आयोजना गरि उनीहरुको उपचारार्थ ४ लाख ५२ हजार ५ सय आर्थिक सहयोग गरेको हो । तनहुँको ऋषिङ गाँउपालिका–६ निवासी दुबै मृगौला फेल भएकी तीन बर्षदेखी नियमित डायल्सिस गराउदै आएकी ३५ बर्षीया कुमारी आलेलाई समाजले सहयोग गरेको हो ।
त्यस्तै म्याग्दे गाउँपालिका–५ निवासी फोक्सोको क्यान्सर भएका ४९ बर्षीय प्रेम बहादुर थापालाई पनि समाजले आर्थिक सहयोग गरेको हो । समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले संयुक्त रुपमा सहयोग रकम पीडितहरुलाई हस्तान्तरण गरेका हुन् ।
उनीहरुलाई जनही रु २ लाख २६ हजार २५० प्रदान गरिएको गुरुङले जानकारी दिए। कुमारी आलेलाई सहयोग रकम समाजका सल्लाहकार लालबहादुर थापाको संयोजकत्वमामा संकलन गरिएको हो भने प्रेमबहादुरको सहयोग रकम प्रवक्ता बिपिन थापा मगर मार्फत संकलन गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष गुरुङले हङकङमा रहेका दाजुभाइ दिदीबहीनीहरुले आफ्नो कमाइबाटै क्षमता अनुसार सहयोग गर्दै आएकाले रकम सदुपयोग गर्न पीडित परिवारलाई अनुरोध गरे। साथै नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष अधिकारीले मानवीय सेवाका लागि तनहुँ समाज हङकङको सक्रियता प्रसंशायोग्य रहेको बताए । तनहुँको विविध क्षेत्रमा समाजले महत्त्वपूर्ण योगदान गरेको बताउदै उनले समाजका हरेक गतिविधिमा समन्वय सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको तनहुँ समाज हङकङले हालसम्म विभिन्न रोगबाट पीडित भएका २७ जनालाई आर्थिक सहयोग गरिसकेको छ । स्थापनाकाल देखिनै सामाजिक सेवामा सक्रिय रहदै आएको समाजले भुकम्पपछिको पूननिर्माण,बाढी पहिरो जस्ता दैवि प्रकोपबाट पीडितलाई सहयोग गर्नुका साथसाथै तनहुँको शिक्षा, स्वास्थ्य,खानेपानी र सञ्चार सम्बन्धि पूर्वाधार बिकास तथा पत्रकारिता प्रवर्द्धनमा समेत सहयोग गर्दै आएको समाजले जनाएको छ ।










