अखिल नेपाल महिला संघ भानुको चौथो बैठक सम्पन्न

भानु : नेकपा (एमाले) भानु नगर अखिल नेपाल महिला संघको चौथो बैठक खिममाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य एकबहादुर रानाले संगठनलाई प्रभावकारी र व्यवस्थित बनाउँदै महिलाको सहभागिता तथा नेतृत्व विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।
उनले संगठनलाई जनस्तरसम्म विस्तार गर्दै महिलासँग सम्बन्धित सवालमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश सदस्य देबु विष्ट, भानु नगर अध्यक्ष शंकर रानाभाट, जिल्ला सदस्य रुपा लामा तथा भानु–४ वडा कमिटी अध्यक्ष पूर्णबहादुर लौडारीले संगठनलाई थप सुदृढ बनाउन नियमित गतिविधि, सक्रिय सहभागिता र आपसी समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे ।
उनिहरूले महिलालाई नेतृत्वमा स्थापित गर्दै संगठनका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। बैठकमा अखिल नेपाल महिला संघ तनहुँ जिल्ला कोषाध्यक्ष पार्वती न्यौपाने, अखिल नेपाल महिला संघ भानु नगर उपाध्यक्ष लक्ष्मी कुमाल, आशा लौडारी लगायतको सहभागिता रहेको थियो ।
बैठकमा संगठन विस्तार, सदस्यहरूको सक्रियता वृद्धि, महिला नेतृत्व विकास तथा आगामी कार्यक्रमलाई योजनाबद्ध रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो । सहभागीहरूले संगठनलाई थप व्यवस्थित, एकताबद्ध र जनमुखी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।










