कांग्रेसको १५औं महाधिवेशन : तनहुँ–१ क्षेत्रीय सभापतिमा सूर्यचन्द्र हड्खलेको उम्मेदवारी
'अनुभव, नेतृत्व र समर्पण'लाई आधार बनाउँदै संगठन सुदृढीकरण, युवा पुस्ता जोड्ने र आन्तरिक लोकतन्त्र बलियो बनाउने प्रतिबद्धता

तनहुँ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा सूर्यचन्द्र हड्खलेले उम्मेदवारी मनोनयन गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय सभापति पदका लागि उम्मेदवारी दर्ता गर्दै हड्खलेले पार्टी संगठनलाई थप व्यवस्थित, सक्रिय र सुदृढ बनाउने बताएका छन् ।
हड्खलेले आफ्नो उम्मेदवारीलाई पार्टीभित्रको अनुभव, संगठनप्रतिको निरन्तर सक्रियता र कार्यकर्तासँगको सम्बन्धलाई संस्थागत गर्दै कांग्रेसलाई नयाँ पुस्तासहितको गतिशील संगठन बनाउने अभियानका रूपमा प्रस्तुत गरेका छन् ।
उनले क्षेत्र नं. १ अन्तर्गत स्थानीय तहमा पार्टी संगठन विस्तार गर्ने, निष्क्रिय रहेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने, कार्यकर्ताबीच समन्वय र एकता कायम गर्ने तथा युवा र नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्ने प्राथमिकता अघि सारेका छन् ।
उम्मेदवारीसँगै हड्खलेले ‘संगठनलाई थप व्यवस्थित, सक्रिय र मजबुत बनाउने’, ‘स्थानीय तहमा संगठन विस्तार गर्ने’, ‘निष्क्रिय कार्यकर्तालाई पुनः सक्रिय गर्ने’, ‘कार्यकर्ताबीच समन्वय र एकता कायम गर्ने’ लगायतका विषयलाई प्राथमिकतामा राखेका छन् ।
त्यस्तै, युवालाई पार्टीको मूलधारमा जोड्ने, नयाँ पुस्तालाई सक्रिय बनाउने र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप बलियो बनाउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
विद्यार्थी राजनीतिदेखि कांग्रेस संगठनसम्म
हड्खलेले विद्यार्थी जीवनदेखि नै राजनीतिक क्षेत्रमा प्रवेश गरेको उल्लेख गरेका छन् । उनले २०४२ सालको सत्याग्रहमा समेत सहभागी भएको र २०४६ सालमा आदिकवि भानुभक्त क्याम्पसको नेपाल विद्यार्थी संघ एकाइ सदस्यका रूपमा काम गर्नुका साथै २०५३ सालमा सोही संगठनको सभापति बनेको बताएका छन् ।
त्यसपछि कांग्रेसको ट्रेड युनियनतर्फ सक्रिय रहँदै दुई पटक ट्रेड युनियन कांग्रेस तनहुँको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका हड्खलेले २०६४ सालमा नेपाल कांग्रेस व्यास–१ को सभापति तथा आमन्त्रित जिल्ला सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए ।
हड्खले शिक्षक सेवाबाट निवृत्त भएपछि शिक्षा, सहकारी र सामाजिक क्षेत्रमा समेत सक्रिय रहे । पराशर कलेजको सञ्चालक समिति अध्यक्षका रूपमा शैक्षिक गतिविधि सुदृढीकरणमा काम गरेको तथा सत्यवती बचत तथा ऋण सहकारी संस्थालाई गण्डकी प्रदेशस्तरको उत्कृष्ट सहकारीका रूपमा अघि बढाउन भूमिका खेलेको उनको दाबी छ ।
त्यस्तै, महामन्त्री नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखामार्फत रक्तदान, प्राथमिक उपचार, विपद् उद्धार तथा राहत सेवामा समेत संलग्न रहेको उनले बताएका छन् ।
‘पदभन्दा विश्वास र इमानदारी महत्वपूर्ण’
उम्मेदवारी दर्ता गर्दै हड्खलेले राजनीतिमा पदभन्दा विश्वास र इमानदारी महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन् । उनले आफूले विगतमा पाएको अनुभवलाई आगामी दिनमा पार्टी संगठनको हितमा प्रयोग गर्ने बताएका छन् ।
‘राजनीतिमा सबैभन्दा ठूलो शक्ति पद होइन, विश्वास र इमानदारी हो’, हड्खलेको उम्मेदवारी सन्देशमा उल्लेख छ, ‘म हजारौँको विश्वासप्रति सधैँ अडिग रहनेछु । उहाँहरूको सल्लाह, सुझाव र मार्गदर्शनलाई आत्मसात् गर्दै पार्टी र संगठनको हितमा निरन्तर समर्पित रहनेछु ।’
उनले सुखमा साथ दिनेहरू धेरै भए पनि दुःख, अप्ठ्यारो र कठिन परिस्थितिमा साथ दिने व्यक्ति नै सच्चा सहयात्री हुने उल्लेख गर्दै कार्यकर्ताको समस्या र अप्ठ्यारोमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हड्खलेले नेपाली कांग्रेसका अग्रज नेताहरु तथा दिदीबहिनी, दाजुभाईको विश्वासलाई आफ्नो इमानदारी र शक्तिको आधारका रूपमा उल्लेख गर्दै क्षेत्र नं. १ का प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीका पक्षमा अमूल्य मत दिन आग्रह गरेका छन् ।
क्षेत्रीय सभापतिको उम्मेदवारीसँगै हड्खलेले ‘एकता, संगठन, विकास–समृद्ध तनहुँका लागि कांग्रेस’ भन्ने मूल नारालाई अघि सारेका छन् । उनको उम्मेदवारीले तनहुँ क्षेत्र नं. १ मा कांग्रेसको क्षेत्रीय नेतृत्व चयनलाई थप प्रतिस्पर्धात्मक बनाउने देखिएको छ ।










