नेपाली कांग्रेसको १५औं महाविधेशन : तनहुँ–१ बाट महाधिवेशन प्रतिनिधिमा प्रकाश पन्थको उम्मेदवारी

तनहुँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रियसभा सदस्य प्रकाश पन्थले पार्टीको १५औँ महाधिवेशनमा तनहुँ क्षेत्र नं. १ बाट अपाङ्गता क्लस्टरमा केन्द्रीय महाधिवेशन प्रतिनिधि उम्मेदवारी दिएका छन् ।
पन्थले आफ्नो उम्मेदवारी पार्टीको लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता र मानव अधिकारप्रतिको प्रतिबद्धतालाई थप सुदृढ गर्ने उद्देश्यसहित अघि बढाएको बताएका छन् । पार्टी संगठनदेखि संघीय संसद्सम्मको आफ्नो अनुभवलाई आगामी दिनमा पार्टीको नीति, संगठन र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन उपयोग गर्ने उनको भनाइ छ ।
राष्ट्रियसभाका पूर्वसदस्य तथा दिगो विकास तथा सुशासन समितिका पूर्वसभापतिका रूपमा काम गर्दा विधायन, संसदीय अनुगमन, संविधान कार्यान्वयन, सामाजिक न्याय, नागरिक अधिकार, संघीयता, दिगो विकास र सुशासनका क्षेत्रमा काम गरेको पन्थले उल्लेख गरेका छन् ।
अपाङ्गता अधिकार, समान अवसर र अर्थपूर्ण प्रतिनिधित्वलाई आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्राको निरन्तर सरोकारका रूपमा अघि बढाउँदै आएको उनले बताएका छन् । पार्टीका सबै तहका संरचनालाई थप समावेशी तथा अपाङ्गतामैत्री बनाउने विषयलाई पनि प्राथमिकतामा राख्ने उनको भनाइ छ ।
पन्थले १५औँ महाधिवेशनलाई नेपाली कांग्रेसको आगामी नीति, संगठनात्मक दिशा र राजनीतिक प्राथमिकताबारे छलफल तथा निर्णय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएका छन् ।
महाधिवेशनमार्फत लोकतन्त्रलाई थप सुदृढ गर्ने, पार्टी संगठनलाई समावेशी र जवाफदेही बनाउने तथा नीति र कार्यक्रमलाई जनमुखी बनाउने विषयमा आफूले सक्रिय भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।
पन्थले तनहुँ क्षेत्र नं. १ का कांग्रेसका नेता तथा कार्यकर्तासँग साथ, सहयोग, समर्थन, मत र विश्वासको अपेक्षा गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गरी अमूल्य मत प्रदान गर्न अपिल गरेका छन् ।










