विकास–निर्माणका काम कांग्रेसको उच्च प्राथमिकतामा : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विकास– निर्माणका कामलाई आफ्नो पार्टीले उच्च महत्व दिएको बताएका छन् । नेपाली कांग्रेस बन्दीपुर गाउँ कार्यसमितिले बुधबारआयोजना गरेको कार्यकर्ता भेटमा उनले कांग्रेसको नेतृत्वमा नै देश विकासको पथमा सशक्त ढंगले अघिबढ्ने बताए ।
बजेट छर्ने प्रवृत्तिलाई लक्षित गर्दै पूर्वअर्थमन्त्री महतले लोकप्रिय हुन हचुवाका भरमा कार्यक्रम घोषणा गर्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
यस्तै, प्रवक्ता महतले नेपाली कांग्रेसमा एकता आवश्यक रहेको औँल्याए । कांग्रेस एकताबद्ध भएमा आगामी निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बन्नबाट उसलाई कसैले रोक्न नसक्ने उनले बताए । उनले भने, ‘एक्लै प्रतिस्पर्धा गरेर बहुमत ल्याउने कांग्रेसको नीति भए पनि चुनावमा गठबन्धन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा त्यसो गर्नुपरेको छ ।’ निर्वाचन प्रणालीका कारण कुनै एक पार्टीको बहुमत नआउने भएकाले सरकार गठनमा पनि गठबन्धन गर्नुपर्ने बाध्यता रहेको प्रवक्ता महतले बताए।










