रोटरी युथ लिडरसीप अवर्ड कार्यक्रम सुरु
भञ्ज्याङ समाचारदाता (दमौली)

रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिक अन्तर्गत रिजन-४को रोटरी युथ लिडरसीप अवार्ड (रायला) कार्यक्रम शनिवार बन्दीपुरमा सुरु भएको छ । रोटरी इन्टरनेशनल ३२९२ डिष्टिक रिजन-४ को आयोजना तथा रोटरी क्लब अफ दमौलीको व्यवस्थापन एवं रिजन-४ मा रहेका १७ वटा रोटरी क्लबको सहयोगमा रोटरी युथ लिडरसीप अवार्ड २०२०/०२१ कार्यक्रम सुरु भएको हो । ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा रिजन-४ अन्तर्गतका १४ देखि १८ वर्ष उमेर समूहका ४९ जना युवाहरुको सहभागिता रहेको छ ।
रोटरी क्लबले युवाहरुको व्यक्तित्व बिकाससँगै सामाजिक दायित्व बोध गराउदै उनीहरूमा नेतृत्वदायी क्षमताको विकास गराउन प्रत्येक वर्ष रायला कार्यक्रम गर्दै आएको रिजन-४ का रायला कार्यक्रम संयोजक जयराम पौडेलले जानकारी दिएका छन् । उनले भने, ‘युवाहरुले जीवन र जगतको बोध गरी सकारात्मक सोचका साथ भविष्यमा हरेक क्षेत्रमा सक्षम नेतृत्वदायी भूमिका निर्वाह गर्न सकुन भन्ने उद्देश्यका साथ रोटरी रोटरी युथ लिडरसीप अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।’
युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व बिकास, सकारात्मक सोच, व्यक्तिगत एवं सामुदायिक स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिइने चिफ पाइलट कोच हरिसिं गुरुङले जानकारी दिए।
बन्दीपुरका प्राकृतिक एवं सांस्कृतिक सम्पदाको अवलोकनका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउन विभिन्न ठाँउहरुको स्थलगत भ्रमण समेत गराइने गुरुङले बताए ।
कार्यक्रमको उद्घाटन गर्दै रोटरी इन्टरनेशनल क्लब ३२९२ डिष्टिकका पूर्व गभर्नर रबिन्द्रकुमार पियाँले राज्यको भविष्य निर्धारक अहिलेका युवा र बालबालिकाहरु भएकाले उनीहरुमा हरेक क्षेत्रको विस्तारित ज्ञान हुन आवश्यक रहेको बताएका छन् । ‘समाजको वस्तु स्थिती बुझेका तथा ज्ञान र सीप भएका युवाहरु उत्पादन भए मात्र देशको भविष्य सुरक्षित हुन्छ’, उनले भने, ‘अबको नेतृत्व युवाहरुको हातमा हुनुपर्छ, हरेक क्षेत्र बुझेको सक्षम लिडर आजको आवश्यकता हो ।’
यस्तै, बन्दीपुर गाँउपालिकाले बन्दीपुरको इतिहास जीवान्त रहने गरी योजनावद्ध ढंगले बिकास गर्न २० वर्षे गुरुयोजना बनाएर अघि बढेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए । उनले भने, ‘बन्दीपुर ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सम्पदाका दृष्टिकोणले पनि महत्वपूर्ण भएकाले यहाँको सम्पदाको जगेर्ना गर्दै आर्थिक समृद्धिको मार्गमा पनि अघि बढ्ने खालका योजना बनाएर गतिविधि सञ्चालन गरेका छौं ।’
प्राचीनकला, शैलीलाई पनि सँगै संरक्षण र प्रवर्द्धन गरिदै आएकाले बन्दीपुर विस्थापित भएर पनि पुनःस्थापित हुन सफल भएको र यसको बारेमा नयाँ पुस्ताले जान्न आवश्यक रहेको उनले बताए।
कार्यक्रममा रोटरीका डिआरसिसि सुवास सिग्देल, जोन १७ का एजि बिष्णुहरि तिमल्सेना, जोन १५का एसिसटेन्ट गभर्नर इबिन्द्रराज तिवारी, रोटरी क्लब अफ अन्नपुर्णका अध्यक्ष प्रदीपभक्त आचार्य, रोटरी क्लबका अध्यक्ष दमोदर भण्डारी, सचिव सागर पौडेल लगायतले रायला युवाहरुको लागि महत्वपूर्ण अवसरको रुपमा स्थापित भएको बताए ।
युवा वर्गमा नेतृत्व क्षमताको विकास गरी जिम्मेवार नेतृत्व बहन गर्न सक्ने युवा शक्ति तयार गर्न रायलाले सहयोग पुर्याउदै आएको उनीहरुको भनाइ छ । शनिबारबाट सुरु भएको कार्यक्रम १८ गतेसम्म सञ्चालन हुनेछ । सो अवधिमा सैद्धान्तिक ज्ञानसँगै बाख्रा अनुसन्धान केन्द्र, खड्गदेवि मन्दिर, निर्माणधीन मिनी ग्रेटवाल लगायत बन्दीपुरका सम्पदाहरुको बारेमा स्थलगत अवलोकन समेत गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।










