सत्यम्, शिवम्, सुन्दरम् !

सीता ओझा

सत्यम, शिवम र सुन्दरम शब्द मानिसले हजारौं पटक सुनेको र बोलेको हुन्छ । यसरी हजारौं पटक सुनेको र बोलेको शब्दको वास्तविकता र परिभाषा गर्न सकिन्छ कि सकिदैन ? भन्ने विषयमा चर्चा गर्न अति आवश्यक देखिन्छ । मानवजातीले आफूले नित्य बोलेका र सुनेका कतिपय कुरा यतिकै, नजानी, नबुझी नै बोल्ने र प्रयोग गर्ने गर्र्छौ भने कतिपय कुरा सदियौंदेखि गर्दै आएको कारण अर्थै नबुझी गर्नका लागि गरिदिन्छौं । यसो गर्दा सत्य लुक्न जान्छ र पछिल्लो पुस्ता भ्रममा पर्दै व्यवहारमा असत्य (तथ्यहिन) बाटोतिर लाग्ने खतरा बढ्छ/देखिएको छ ।

कालान्तरसम्म यसरी चल्दै जाँदा शास्त्रहरूको (धार्मिक शास्त्रहरू बौद्ध, वैदिक आदि सबै दर्शन र सिद्धान्तहरू) महत्व र आकर्षण घट्दै जाने खतरा हुन्छ । ज्ञान वा चैतन्य विकासमा अवरोध भएको अवस्थामा यसको महत्त्व या आकर्षण घट्नु स्वाभाविक होला । तर ज्ञान वा चैतन्य नै लोप गराउनेतिर गइयो भने धार्मिक विषय र सांस्कृतिक विषयमा असन्तुलन हुन जान्छ । त्यो असन्तुलनले हाम्रो पहिचान र अस्तित्व नै लोप हुनसक्छ । त्यसैले पौरत्स्य आलोकका ज्ञानको खोजी गर्न जरूरी देखिन्छ । पौरत्स्य आलोकका दर्शनले सत्यम्, शिवम् र सुन्दरमको व्याख्याभित्र धेरै विषयलाई निष्ठाका रूपमा सर्त्कर्मको मार्ग भनेर जोडिदिएको देखिन्छ ।

एक पटक सत्यम्, शिवम् र सुन्दरमको अर्थको विश्लेषण गरौं !

सत्यमको अर्थ इश्वर -सत्य) शिवमको अर्थ शिव र सुन्दरमको अर्थ कला हो । अर्थात शिवमा भएको अदभूत कला र ज्ञानको श्रोत नै इश्वरको स्वरूप हो भन्ने अर्थ लगाउदा अनुपयुक्त नहोला । यस्तो अर्थबाट हेर्ने हो भने शिवमा योग, ध्याज, तप, जप, तन्त्र, मन्त्र सहितको शान्तिको श्रोत मानिएको पाइन्छ ।

वेद, उपनिषद् तथा पुराणहरूमा सत्यम, शिवम् र सुन्दरमको व्याख्या र महिमा कसरी गरिएको छ त –

सत्यमः योगको अर्को अङ्ग नै सत्य हो। हिन्दु धर्म अनुसार ब्रहृम नै सत्य हो । ब्रहृम (आफू)ले परमेश्वर बाहेक सबैको बारेमा बताउन सक्छ/जानेको हुन्छ । व्यक्तिले जीवन पर्यन्त सारा जीवन भ्रममा बिताउछ । ब्रहृम निराकार,निर्विकार र निर्गुण हुन्छ । ब्रहृम बुझने विकल्प पनि आफैं हो अर्थात आत्माले मात्रै इश्वरीय ज्ञानप्राप्त गर्न सक्छ ।

“आत्मा नै सत्य हो, जुन अजर, अमर, निर्विकार र निर्गुण” हुने गर्दछ भनिएको छ । शरीरभित्र भएको त्यो सत्यको पहिचान गर्न नसक्नु नै मानिसको भुल हो भनिएकोछ । “सत -इश्वर) एक हुन्छ । त्यसलाई इन्द्र, वरूण/अग्नि आदि नामाकरणले पुकारिन्छ। -ऋग्वेद

“जो सर्वप्रथम इश्वर इहलोक अथवा परलोकमा फरकफरक स्वरूपमा देखिन्छन । त्यो मृत्युदेखि मृत्युसम्म हुन्छ अर्थात बारम्बार जन्म र मरणको चक्रमार्गमा फसेको हुन्छ ।” – कठोपनिषद – ।।१०।।

सत्यको अलौकिक अर्थः सत्य वचन मनुष्यलाई सम्झन कठिन हुन्छ तर सत्यको लागि धर्म र शास्त्रले सरल ढङ्गले ब्याख्या गरेको छ । आम मानिसले सत्यका बारेमा जान्नु भनेको सत्य बोल्नु हो । सत्य शब्द सत् र तत् धातु मिलेर बनेको हुन्छ/हो । त्यसैकारण सत्यको अर्थ परआत्माको सर्वव्यापी/जगतभर आत्माको जालोको रूपमा फैलिएको हुन्छ भनेर मानिएको/ठानिएको छ ।

सत्यको अलौकिक अर्थ : सत्य सम्झन नै कठिन छ र मानिन्छ । धर्म र दर्शनसगँ जोडिएको कठिन विषय भएकोले बुझन पनि कठिन छ भनिएको हो । सत्य इश्वरले बाहेक अरूले पहिचान गर्न नसकिने रहस्यको विषय हो भनेर ब्याख्या गरियो । यसको अर्थ यो र त्यो हो । सत्य एक तर्फि हुदैन त्यसैले यो र त्यो दुबै इश्वरीय अंश हुन ।

जीवन, संसार र मन एक अर्कामा विरोधी छन् । यहि विरोधभित्र लुकेको स्थितप्रज्ञ आत्मा र इश्वर हो । सत्यलाई चिन्न तर्कशक्ति, बुद्धि र बोध गम्य क्षमताको ज्ञान हुनु जरूरी छ । तर्क र बुद्धिको कसरतले द्वन्द्व र दुविधाको अन्त्य हुन्छ भन्ने अर्थमा पनि सत्यको व्याख्या गरेको भेटिन्छ ।

शास्त्रमा आत्मा, परआत्मा, प्रेम र धर्मलई नै सत्य मानेको पनि भेटिन्छ । संसार/चराचर जगतमा सत्य भन्दा ठूलो केही छैन। सत्यको साथले नै मानवको दुख पीडा हटेर मन हल्का, शरीर स्वास्थ र चित्त प्रसन्न गराउछ साथै सत्यको उपयोगिताले विचारको विमर्श र क्षमताको प्रयोग गर्न सहयोग गर्दछ, भनिएको छ । अर्थात सत चित आनन्दको प्राप्ति हुन्छ भनिएको छ ।

“सत चित आनन्द”को अर्थ : सत् अर्थात मुल कण या तत्व, चित्त अर्थात आत्मा र आनन्दको अर्थ प्रकृति र आत्माको मिलनबाट उत्पन्न अनुभुती हो/शुद्ध आत्माको अनुभव/सकारात्मक अनुभव ! परात्मा र आत्मा/अरूको भावना र आफ्नो भावनाको सम्मान नै सत्य हो । आत्मा सत सत्य र चित चितको एकाग्रताले प्राप्त गर्ने आनन्दको महसुस गर्नु नै “सत चित आनन्द -सतचितानन्द) प्राप्त” गर्नु हो । भनिएको छ ।

सत्यको लौकिक अर्थः सत्य बुझन कठिन छ । इश्वर नै सत्य हो । सत्य बोल्नु, बताउनु र समर्थन गर्नु सत्य हो । सत्य सम्झनु, सम्झाउनु र आचरणमा सत्य देखाउनु नै सत्यको लौकिक अर्थ हो तर मानिसको भौतिक वस्तुप्रतिको मोह, पारिवारिक सुख र गृहस्थको कारण सत्य बोल्न, बोलाउन र व्यवहारमा देखाउन कठिन छ । यहि कठिनाइले मानिसलाई अर्धमी/पापी (झुट) बनाइ रहेको छ- त्यहीँ असत्यको बारेमा बुझेपछि मानिसले सत्य खोज्ने विषयलाई ज्ञान/बोधको रूपमा मानिएको भेटिन्छ ।

सत्यको व्यवहारीक पक्ष कठिन भएको कारण मानिस सत्य भन्दा टाढा बस्छ । असत्यको वकालत गर्ने मानिसमा आफैंभित्र भ्रम र द्वन्द्व हुन्छ । आफुभित्र प्रवेश गरेको भ्रम र द्वन्द्वले अशान्ति उत्पन्न गराउछ र मानिस रोगी हुन जान्छ । मानिसको मन रोगी भएपछि शरीरमा रोग लाग्छ । रोगले धन र मन दुबैलाई विस्तारै सिद्धयाउँछ । त्यसैले मानिसले सत्य र सतचरित्रको अनुसरण गर्नु पर्दछ । त्यो अरूको लागि, अरूलाई देखाउनको लागि हैन् आफुमा रहेको भ्रम र द्वन्द्वको अन्त्य गर्दै चैतन्यलाई बलियो बनाउनको लागि सतमार्गमा लाग्नर्पर्छ भन्न खोजिएको छ र हो ।

सत् र तत् धातु मिलेर सत्य शब्द बनेको हो । यसको अर्थ हो यहाँ, वहाँ र जहाँ पनि छ भनेर सत्यको पक्षमा उभिनु नै परम सत्य हो- अर्थात सत्य एकलौटी हुदैन भन्न खोजीएको छ । कुनै वस्तुको छाँयालाई वस्तु मान्नु सत्य होइन । वस्तु नै भेट्नु या देख्नु मात्रा सत्य हो । त्यसैले सत्य खोज्दा भ्रम उत्पन्न हुनु हुदैन- सत्यको खोजको लागि तर्क र सत्य वचनमा टेकेर मात्रै गर्नु पर्ने हुन्छ । सुख र दुःखलाई जीवनको सत्य मान्नु भुल हो । सत्य वचन र व्यवहारले सिकाएको अनुभवले आचरणमा शुद्धिकरण गर्दछ । आचरणको शुद्धतासंग आत्मबल बलियो बनाउने शक्ति हुन्छ र मनका विकारहरू बाहिरीन सहयोग पुग्छ, भनिएको छ ।

शिवमः शिवम शब्द प्राय महादेवसंग जोडिएर आउने गर्छ । शिवमको अर्थलाई शिवसंग जोड्नु हुँदैन । यसको अर्थ हो; निराकार, निरञ्जन, निर्गुण र अमुर्त सत्य हो । शिवम शुभ, सत्य र राम्रो भन्ने अर्थ जोडिएको मानव कला र सुन्दरता हो । सत्यम, शिवमको प्राप्ति/ज्ञान/ध्यान एकाग्रताबाट प्राप्त हुने चरम आनन्दको सुखको अनुभूति नै शिवम हो, भनेर हाम्रा आध्यात्मिक दर्शनहरूमा लेखेको भेटिन्छ ।

सत्यम, शिवम, सुन्दरमको आध्यात्मिक परिभाषाभित्र परेका सयौंको, हजारौं सत्यलाई छोडेर हामीले सामाजिक पछौटेपनका अवशेषहरूलाई अझै अवलम्बन गर्दै धर्म, संस्कार र संस्कृतिसगँ जोडिरहेका छौ । तर व्यवहारमा यस्तो छैन । अझै हामी सत्य र तथ्य छोडेर अनेकौं अन्धविश्वास र रूडताले हाम्रो चिन्तन र विचारलाई रूग्ण बनारहेका छौ, सत्यम, शिवम र सुन्दरमको अर्थ तोडेर समाजलाई विभेदकारी व्यवहार, लोभ र मोहको चक्रमा रूमल्न खोज्दै छौ । त्यही विकारले जीर्ण व्यवहार गर्दैछौं । हामीले मान्ने हरेक धर्म, संस्कृति र संस्कारहरूलाई तथ्यको आधारमा सत्य व्यवहार गर्न सकुन्नु पर्दट भने पौरत्स्य दर्शनको आलोकको प्रकाश हराउने अवस्थामा छ । यस्ता विषयमा सम्बन्धित निकायहरूको ध्यान जानु जरूरी देखिन्छ ।

साउन महिनालाई विषेशगरि शिवको महिना मानिन्छ । शिवलाई सम्झदा अन्धाधुन्ध र अन्धकारभित्र रहेको ज्ञान, ध्यान, योग, तप, जप र वैराग्य सम्झन सक्नु पर्दछ । शिवमको ज्ञानको परिभाषा केलाउन सक्यो भने शिव त्यहिँ भित्र भेट्न सकिन्छ । तर, त्यो विषय भन्दा बाहिर गएर सत्यम, शिवम्, सुन्दरमलाई परिभाषित गर्न खोज्दा शिवमको रूप विग्रिएर भाँङ, धतुरो, सोमरस चटाउने जटाधारी, शिव हुन पुग्छ ।

त्यसैले जे गर्ने हो या गरिन्छ त्यो विषयलाई गहिरो अध्ययन, चिन्तन र मनन् गरेर लागू गर्न सक्यो भने उत्तम हुने कुरा पौरत्स्य दर्शनबाट प्राप्त गर्न सकिन्छ । सनातन धर्म र सनातन धर्मभित्रका कर्ममा नै सत्य र ज्ञानका सयौं उपाय बताइएको छ । त्यो बुझन चेत र चैतन्य खुल्नु आवश्यक छ । (लेखक महिला अध्ययन केन्द्रकी अध्यक्ष हुन्)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker