सत्यम्, शिवम्, सुन्दरम् !
सीता ओझा

सत्यम, शिवम र सुन्दरम शब्द मानिसले हजारौं पटक सुनेको र बोलेको हुन्छ । यसरी हजारौं पटक सुनेको र बोलेको शब्दको वास्तविकता र परिभाषा गर्न सकिन्छ कि सकिदैन ? भन्ने विषयमा चर्चा गर्न अति आवश्यक देखिन्छ । मानवजातीले आफूले नित्य बोलेका र सुनेका कतिपय कुरा यतिकै, नजानी, नबुझी नै बोल्ने र प्रयोग गर्ने गर्र्छौ भने कतिपय कुरा सदियौंदेखि गर्दै आएको कारण अर्थै नबुझी गर्नका लागि गरिदिन्छौं । यसो गर्दा सत्य लुक्न जान्छ र पछिल्लो पुस्ता भ्रममा पर्दै व्यवहारमा असत्य (तथ्यहिन) बाटोतिर लाग्ने खतरा बढ्छ/देखिएको छ ।
कालान्तरसम्म यसरी चल्दै जाँदा शास्त्रहरूको (धार्मिक शास्त्रहरू बौद्ध, वैदिक आदि सबै दर्शन र सिद्धान्तहरू) महत्व र आकर्षण घट्दै जाने खतरा हुन्छ । ज्ञान वा चैतन्य विकासमा अवरोध भएको अवस्थामा यसको महत्त्व या आकर्षण घट्नु स्वाभाविक होला । तर ज्ञान वा चैतन्य नै लोप गराउनेतिर गइयो भने धार्मिक विषय र सांस्कृतिक विषयमा असन्तुलन हुन जान्छ । त्यो असन्तुलनले हाम्रो पहिचान र अस्तित्व नै लोप हुनसक्छ । त्यसैले पौरत्स्य आलोकका ज्ञानको खोजी गर्न जरूरी देखिन्छ । पौरत्स्य आलोकका दर्शनले सत्यम्, शिवम् र सुन्दरमको व्याख्याभित्र धेरै विषयलाई निष्ठाका रूपमा सर्त्कर्मको मार्ग भनेर जोडिदिएको देखिन्छ ।
एक पटक सत्यम्, शिवम् र सुन्दरमको अर्थको विश्लेषण गरौं !
सत्यमको अर्थ इश्वर -सत्य) शिवमको अर्थ शिव र सुन्दरमको अर्थ कला हो । अर्थात शिवमा भएको अदभूत कला र ज्ञानको श्रोत नै इश्वरको स्वरूप हो भन्ने अर्थ लगाउदा अनुपयुक्त नहोला । यस्तो अर्थबाट हेर्ने हो भने शिवमा योग, ध्याज, तप, जप, तन्त्र, मन्त्र सहितको शान्तिको श्रोत मानिएको पाइन्छ ।
वेद, उपनिषद् तथा पुराणहरूमा सत्यम, शिवम् र सुन्दरमको व्याख्या र महिमा कसरी गरिएको छ त –
सत्यमः योगको अर्को अङ्ग नै सत्य हो। हिन्दु धर्म अनुसार ब्रहृम नै सत्य हो । ब्रहृम (आफू)ले परमेश्वर बाहेक सबैको बारेमा बताउन सक्छ/जानेको हुन्छ । व्यक्तिले जीवन पर्यन्त सारा जीवन भ्रममा बिताउछ । ब्रहृम निराकार,निर्विकार र निर्गुण हुन्छ । ब्रहृम बुझने विकल्प पनि आफैं हो अर्थात आत्माले मात्रै इश्वरीय ज्ञानप्राप्त गर्न सक्छ ।
“आत्मा नै सत्य हो, जुन अजर, अमर, निर्विकार र निर्गुण” हुने गर्दछ भनिएको छ । शरीरभित्र भएको त्यो सत्यको पहिचान गर्न नसक्नु नै मानिसको भुल हो भनिएकोछ । “सत -इश्वर) एक हुन्छ । त्यसलाई इन्द्र, वरूण/अग्नि आदि नामाकरणले पुकारिन्छ। -ऋग्वेद
“जो सर्वप्रथम इश्वर इहलोक अथवा परलोकमा फरकफरक स्वरूपमा देखिन्छन । त्यो मृत्युदेखि मृत्युसम्म हुन्छ अर्थात बारम्बार जन्म र मरणको चक्रमार्गमा फसेको हुन्छ ।” – कठोपनिषद – ।।१०।।
सत्यको अलौकिक अर्थः सत्य वचन मनुष्यलाई सम्झन कठिन हुन्छ तर सत्यको लागि धर्म र शास्त्रले सरल ढङ्गले ब्याख्या गरेको छ । आम मानिसले सत्यका बारेमा जान्नु भनेको सत्य बोल्नु हो । सत्य शब्द सत् र तत् धातु मिलेर बनेको हुन्छ/हो । त्यसैकारण सत्यको अर्थ परआत्माको सर्वव्यापी/जगतभर आत्माको जालोको रूपमा फैलिएको हुन्छ भनेर मानिएको/ठानिएको छ ।
सत्यको अलौकिक अर्थ : सत्य सम्झन नै कठिन छ र मानिन्छ । धर्म र दर्शनसगँ जोडिएको कठिन विषय भएकोले बुझन पनि कठिन छ भनिएको हो । सत्य इश्वरले बाहेक अरूले पहिचान गर्न नसकिने रहस्यको विषय हो भनेर ब्याख्या गरियो । यसको अर्थ यो र त्यो हो । सत्य एक तर्फि हुदैन त्यसैले यो र त्यो दुबै इश्वरीय अंश हुन ।
जीवन, संसार र मन एक अर्कामा विरोधी छन् । यहि विरोधभित्र लुकेको स्थितप्रज्ञ आत्मा र इश्वर हो । सत्यलाई चिन्न तर्कशक्ति, बुद्धि र बोध गम्य क्षमताको ज्ञान हुनु जरूरी छ । तर्क र बुद्धिको कसरतले द्वन्द्व र दुविधाको अन्त्य हुन्छ भन्ने अर्थमा पनि सत्यको व्याख्या गरेको भेटिन्छ ।
शास्त्रमा आत्मा, परआत्मा, प्रेम र धर्मलई नै सत्य मानेको पनि भेटिन्छ । संसार/चराचर जगतमा सत्य भन्दा ठूलो केही छैन। सत्यको साथले नै मानवको दुख पीडा हटेर मन हल्का, शरीर स्वास्थ र चित्त प्रसन्न गराउछ साथै सत्यको उपयोगिताले विचारको विमर्श र क्षमताको प्रयोग गर्न सहयोग गर्दछ, भनिएको छ । अर्थात सत चित आनन्दको प्राप्ति हुन्छ भनिएको छ ।
“सत चित आनन्द”को अर्थ : सत् अर्थात मुल कण या तत्व, चित्त अर्थात आत्मा र आनन्दको अर्थ प्रकृति र आत्माको मिलनबाट उत्पन्न अनुभुती हो/शुद्ध आत्माको अनुभव/सकारात्मक अनुभव ! परात्मा र आत्मा/अरूको भावना र आफ्नो भावनाको सम्मान नै सत्य हो । आत्मा सत सत्य र चित चितको एकाग्रताले प्राप्त गर्ने आनन्दको महसुस गर्नु नै “सत चित आनन्द -सतचितानन्द) प्राप्त” गर्नु हो । भनिएको छ ।
सत्यको लौकिक अर्थः सत्य बुझन कठिन छ । इश्वर नै सत्य हो । सत्य बोल्नु, बताउनु र समर्थन गर्नु सत्य हो । सत्य सम्झनु, सम्झाउनु र आचरणमा सत्य देखाउनु नै सत्यको लौकिक अर्थ हो तर मानिसको भौतिक वस्तुप्रतिको मोह, पारिवारिक सुख र गृहस्थको कारण सत्य बोल्न, बोलाउन र व्यवहारमा देखाउन कठिन छ । यहि कठिनाइले मानिसलाई अर्धमी/पापी (झुट) बनाइ रहेको छ- त्यहीँ असत्यको बारेमा बुझेपछि मानिसले सत्य खोज्ने विषयलाई ज्ञान/बोधको रूपमा मानिएको भेटिन्छ ।
सत्यको व्यवहारीक पक्ष कठिन भएको कारण मानिस सत्य भन्दा टाढा बस्छ । असत्यको वकालत गर्ने मानिसमा आफैंभित्र भ्रम र द्वन्द्व हुन्छ । आफुभित्र प्रवेश गरेको भ्रम र द्वन्द्वले अशान्ति उत्पन्न गराउछ र मानिस रोगी हुन जान्छ । मानिसको मन रोगी भएपछि शरीरमा रोग लाग्छ । रोगले धन र मन दुबैलाई विस्तारै सिद्धयाउँछ । त्यसैले मानिसले सत्य र सतचरित्रको अनुसरण गर्नु पर्दछ । त्यो अरूको लागि, अरूलाई देखाउनको लागि हैन् आफुमा रहेको भ्रम र द्वन्द्वको अन्त्य गर्दै चैतन्यलाई बलियो बनाउनको लागि सतमार्गमा लाग्नर्पर्छ भन्न खोजिएको छ र हो ।
सत् र तत् धातु मिलेर सत्य शब्द बनेको हो । यसको अर्थ हो यहाँ, वहाँ र जहाँ पनि छ भनेर सत्यको पक्षमा उभिनु नै परम सत्य हो- अर्थात सत्य एकलौटी हुदैन भन्न खोजीएको छ । कुनै वस्तुको छाँयालाई वस्तु मान्नु सत्य होइन । वस्तु नै भेट्नु या देख्नु मात्रा सत्य हो । त्यसैले सत्य खोज्दा भ्रम उत्पन्न हुनु हुदैन- सत्यको खोजको लागि तर्क र सत्य वचनमा टेकेर मात्रै गर्नु पर्ने हुन्छ । सुख र दुःखलाई जीवनको सत्य मान्नु भुल हो । सत्य वचन र व्यवहारले सिकाएको अनुभवले आचरणमा शुद्धिकरण गर्दछ । आचरणको शुद्धतासंग आत्मबल बलियो बनाउने शक्ति हुन्छ र मनका विकारहरू बाहिरीन सहयोग पुग्छ, भनिएको छ ।
शिवमः शिवम शब्द प्राय महादेवसंग जोडिएर आउने गर्छ । शिवमको अर्थलाई शिवसंग जोड्नु हुँदैन । यसको अर्थ हो; निराकार, निरञ्जन, निर्गुण र अमुर्त सत्य हो । शिवम शुभ, सत्य र राम्रो भन्ने अर्थ जोडिएको मानव कला र सुन्दरता हो । सत्यम, शिवमको प्राप्ति/ज्ञान/ध्यान एकाग्रताबाट प्राप्त हुने चरम आनन्दको सुखको अनुभूति नै शिवम हो, भनेर हाम्रा आध्यात्मिक दर्शनहरूमा लेखेको भेटिन्छ ।
सत्यम, शिवम, सुन्दरमको आध्यात्मिक परिभाषाभित्र परेका सयौंको, हजारौं सत्यलाई छोडेर हामीले सामाजिक पछौटेपनका अवशेषहरूलाई अझै अवलम्बन गर्दै धर्म, संस्कार र संस्कृतिसगँ जोडिरहेका छौ । तर व्यवहारमा यस्तो छैन । अझै हामी सत्य र तथ्य छोडेर अनेकौं अन्धविश्वास र रूडताले हाम्रो चिन्तन र विचारलाई रूग्ण बनारहेका छौ, सत्यम, शिवम र सुन्दरमको अर्थ तोडेर समाजलाई विभेदकारी व्यवहार, लोभ र मोहको चक्रमा रूमल्न खोज्दै छौ । त्यही विकारले जीर्ण व्यवहार गर्दैछौं । हामीले मान्ने हरेक धर्म, संस्कृति र संस्कारहरूलाई तथ्यको आधारमा सत्य व्यवहार गर्न सकुन्नु पर्दट भने पौरत्स्य दर्शनको आलोकको प्रकाश हराउने अवस्थामा छ । यस्ता विषयमा सम्बन्धित निकायहरूको ध्यान जानु जरूरी देखिन्छ ।
साउन महिनालाई विषेशगरि शिवको महिना मानिन्छ । शिवलाई सम्झदा अन्धाधुन्ध र अन्धकारभित्र रहेको ज्ञान, ध्यान, योग, तप, जप र वैराग्य सम्झन सक्नु पर्दछ । शिवमको ज्ञानको परिभाषा केलाउन सक्यो भने शिव त्यहिँ भित्र भेट्न सकिन्छ । तर, त्यो विषय भन्दा बाहिर गएर सत्यम, शिवम्, सुन्दरमलाई परिभाषित गर्न खोज्दा शिवमको रूप विग्रिएर भाँङ, धतुरो, सोमरस चटाउने जटाधारी, शिव हुन पुग्छ ।
त्यसैले जे गर्ने हो या गरिन्छ त्यो विषयलाई गहिरो अध्ययन, चिन्तन र मनन् गरेर लागू गर्न सक्यो भने उत्तम हुने कुरा पौरत्स्य दर्शनबाट प्राप्त गर्न सकिन्छ । सनातन धर्म र सनातन धर्मभित्रका कर्ममा नै सत्य र ज्ञानका सयौं उपाय बताइएको छ । त्यो बुझन चेत र चैतन्य खुल्नु आवश्यक छ । (लेखक महिला अध्ययन केन्द्रकी अध्यक्ष हुन्)










