प्राचीन नागजाति र साँजा निवासी नागिलाहरु

देवी बहादुर बस्नेत

नेपालमा नागसँग सम्बन्धित विभिन्न किंबदन्तीहरु सुन्नमा पाइन्छन् । नागले प्रकृतिमा भएका विष आफै संग्रह गरेर प्रकृतिको वातावरण शुद्ध गर्ने काममा सहयोग पुराउने हुँदा नागलाई देवताको दर्जा प्रदान गरिएको छ । नेपाली समाजमा नागलाई पानीको मूलका संरक्षक, कृषि कर्मका मित्र र सहकालका देवता पनि मानिन्छ । कृषि फसलमा हानी पुर्‍याउने हरेक किटपतंगहरुबाट रक्षा गर्ने भएकाले कृषकहरुले नागलाई देवताको रुपमा स्वीकारेका हुन । यसैले उनीहरु हरेक श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीका तिथिका दिन आ-आफ्ना घरको भित्तामा सर्प आकृतिका अष्टनागहरुको चित्र गाईको गोबरले टासेर श्रद्धा र भक्ति पूर्वक पूजा गर्दछन् ।

पूजा गर्दा नाग देवतालाई दूध, दूवो, कुश, चन्दन, सेतो फूल, अक्षता र लड्डु अर्पण गर्ने र नागस्तोत्र पाठ गर्ने प्रचलन रहेको छ । कतै कतै श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीका तिथिका दिन व्रत बसेर सूर्यास्त भए पछि नाग पूजा गर्ने र नाग देवतालाई खिर प्रसाद भोग लगाएर भक्तजनहरुमा प्रसाद वितरण गर्ने र आफुले पनि प्रसाद ग्रहण गर्ने चलन पनि रहेको छ । तथापि नागजातिको योग साधना, तन्त्र साधना मन्त्र साधना, जल तथा खानी विशेष्ज्ञ भएका कारण उनीहरुको विशिष्ट योगदानलाई कदर गर्दै नागजातिहरुसँगको राम्रो सम्वन्धलाई निरन्तरता दिन नागहरुको स्मृतिमा आर्यहरुले नागपञ्चमीका दिन नागपूजा गरेर नागजातिको अस्तित्वलाई स्वीकारेको अवस्था हो ।

नाग सर्पजाति हो कि मानव वँश ?

नाग पञ्चमीलाई सर्प पञ्चमी किन भनिंदैन ? नाग सर्पजाति थिए भने मानव जातिको एक हिस्सा के थियो त ? अनुसन्धेय छ । यस बारेमा पूर्विय धर्मशास्त्रले सत्यतालाई छिपाएको छ। शेष नागले पृथ्वीको भार उठाएको र वासुकी नागले समुन्द्र मन्थनमा सहयोग पुर्‍याएको र नागलाई भगवान शिवको गलामा शोभायमान हुने आभुषणको रुपमा हेरिएको छ । नेपाली तथा संस्कृत शव्द कोषमा नाग भन्नाले अति विषालु सर्प, हात्तीका सूँड, शार्क माछा, गोही, निष्ठुरी मानिस, बादल, नागकेशर, डकार निकाल्ने वायु, कुनै सम्मानित पुरुष, पहाड, राङ.ग र सीसा पनि अर्थ लगाएको छ । विशेषत पहाड र जलाशयको छेउछाउमा बस्ने मानव जाति लाई नाग जाति भन्ने गरिंदो रहेछ भन्न सकिन्छ ।

खस तथा नाग जातिहरु हिमालयको उस पार तिव्वतबाट नेपाल प्रवेश गरेका होलान भनि अनुमान गर्न सकिन्छ । उत्ता तिव्वतमा तिव्वतीहरुले बोल्ने भाषालाई आजसम्म पनि नागभाषा भन्ने गरिन्छ। यसैले नागहरु सरिसृप जाति नभएर मानव जाति नै हुन भनी ठोकुवा गर्न सकिन्छ । विक्रम सम्वत १५० देखि २५०को बीचसम्म भारतको मथुरा, भरतपुर ग्वालियर, उज्जैन र अन्य भूभागमा पनि नागहरुको शासन चलेको थियो । यस समयका नाग राजाहरुले बृहस्पति नाग, देवनाग, अथवा गणपति नाग नाम लेखिएका सर्पआकृत मुद्राहरु छपाएका थिए । नागहरु आफैमा जलाशय र खानीका विशेषज्ञ मानिन्छन् । हाम्रो समाजमा खानीमा काम गर्ने जातिमा मगरहरुको दिलचस्पि रहेको छ। तत्कालीन समाजमा नागवंशी मगर भन्नु शुरता वीरता र सम्मानको सूचक थियो।
-श्रोतः प्राचीन नागजातिको अथ इति
-बाबुराम थापा (अतुल्य विशाल नेपाल)

वैदिक नाग जाति

नाग जाति कश्यप ऋषिका कद्रु तर्फका सन्तानहरु हुन भने सर्पहरु क्रोधवशाका सन्तानहरु मानिन्छन् । अग्निपुराणमा ८० प्रकारका नाग कुलको वर्णन पाइएता पनि कश्यप ऋषिका कद्रुबाट जन्मेक शेष नाग (अनन्त), वासुकी, तक्षक, कर्कोटक, पद्म, महापद्म, शंख र कुलिक आठ भाइ छोराहरु जन्मेका थिए । केही पुराणहरुमा अनन्त, वासुकी, तक्षक, कर्कोटक रपिंगला नामका पाँच नागकुल रहेको उल्लेख गरेको पनि पाउँदछौं । कहिं कहिं धनञ्जय र शंखचुड नागको नाम पनि आउने गर्दछ। यिनै आठभाइ छोराहरुबाट नाग कुल वंशको विस्तार हुँदै गएको हो ।

नागजातिका एकभाइ शेषनाग भगवान विष्णुका र अर्काभाई वासुकी नाग भगवान शिवका सेवकको रुपमा पाउन सक्दछौं। वासुकी नाग भगवान शिवको गलाको गहना र कम्मरको पेटि हुनाले नागवंशीहरु भगवान शिवलाई नागेन्द्रको स्वरुपमा पूजा गर्दथे । शिवपुत्र गणेशका गणेशको कम्मरको पेटी होस या हात र खुट्टामा प्रयोग हुने गहनाहहरु पनि नागाभूषण नै हुने गर्दछन्। यसैले स्वयं भगवान शिव नागवंशीहरुको आदिपूर्खा होलान भनेर अनुमान गर्न सकिन्छ भारतको नागालैण्ड, मणिपुर, केरल, आन्द्रप्रदेश र कस्मीरमा नाग जातिहरुको बर्चस्व देख्न पाइन्छ ।

कस्मीरका राजा जयापीडलाई महापद्म नामक नागले दैविक मान्त्रिकबाट सुरक्षा दिएमा सुनखानी देखाइदिने बचन दिएको थियो तर राजा जयापिडले यथार्थ हो होइन भनी मान्त्रिक बोलाइ परिक्षण गरेकाले महापद्म नागले राजालाई सुनखानी नदेखाएर तामाखानी बताइदिएको कथा रोचक पूर्ण रहेको छ । नाग जाति सुन चांदी तामाको जानकारी राख्ने धातु विशेषज्ञ मानिन्छ । आर्यहरुको सहयोगी भएर पनि आर्यहरुबाटै युद्धमा पराजित भएका द्रविण, कोल, असुर, खस, नाग र किरातहरुलाई आर्यहरुको वर्णाश्रम धर्म नमाने कै कारण तल्लो स्तरमा राखेर अपमान गरेका हुन । आर्यहरुले युद्धमा पराजित रैथाने नागहरुलाई शुद्रवर्णमा झारी सेवके व्यवहार गर्न दबाब दिएका हुन् ।

प्राचीन नागजाति

महर्षि कश्यपका श्रीमतीहरु कद्रु तर्फ गरुडहरु र विनताका तर्फ नागहरुको जन्म भएको पाउँदछौ । सौतने मामलाकै कारण दुबै वंशमा रहेको दुस्मनी अहिले सम्म मेटिएको छैन। पुस्तौं पुस्ता एक वंशले अर्कोको वंशको अस्तित्व समाप्त पार्नमा नै खतरनाक-खतरनाक खेल खेलेको भेटिन्छ । नागहरु भन्दा गरुडहरु समर्थवान थिए । यसैले नागहरु गरुडको सम्मुख पर्न सक्दैनथे । गरुडहरुको बढ्दो आक्रमणले नाग वंश फैलाउन सकेन । नागहरु बौद्ध धर्ममा दिक्षित थिए । उनीहरु बौद्ध धर्म मान्दथे । आर्यहरुको वैदिक सनातन धर्मको वर्णाश्रम पद्धति स्वीकार नगरेकै कारण आर्यहरुले नागहरु प्रति खोइरो खन्ने काम गरी रहन्थे ।

त्रेतायुगमा विष्णुले राम र शेषनागले लक्षमणको अवतार लिएर आएका थिए । यहाँ रामले सेवक रुपि लक्ष्मणका हातबाट आफ्नै छोरी सूलोचनाका पति तथा लङ्केश रावणका छोर इन्द्रजितको प्राणहरण गरेका थिए । यसै गरी लङकाका राजा रावणले नागहरुको राजधानी भवती नगरमा धावा बोलेर वासुकी तक्ष्क शंक र जटीर्ला युद्धमा परास्त गरेका थिए। नागहरुको पतन नभएसम्म आर्यहरुको उन्नती नहुने देखेर आर्यहरुले नागहरु माथि दगा गरि रहन्थे। स्वाधीनता हिमायती नागहरु आर्यहरुको पराधिनता स्वीकार्न नचाँहदा आर्य र नागहरु बीच संघर्ष भइरहने गर्दथ्यो।

महाभारतकालीन नाग जाति

द्वायर युगको अन्तमा भाद्र महिनाको अष्टमीका दिन भगवान श्री कृष्णको जन्म भयो । भगवानश्री कृष्णलाई लिएर बसुदेव गोकुलमा गए । गोकुल जाने बीच बाटोमा यमुना नदी बगेकी थिइन । बशुदेव जव जव यमुनाको बीच भगमा पुगे तव तव यमुनाको पानीको उर्लदो भल्को छेक्न बासुकी नाग मित्र शक्तिको रुपमा उभिएर आफनो फंणाउर्ठाई यमुना नदीको पानीको भल्को छेकि दिएका थिए। त्यही यमुना नदीको आसपास ब्रजमा नागसेन वंशका नागजातिको बसोबास थियो । त्यो समुहको प्रमुख कालिय नाग थियो।

कालिय नाग आर्यहरुको लागि दुष्मन बनेको थियो । अनार्य कालिय नागलाई आर्यहरुको पक्षपाति श्रीकृष्ण स्वयंले दमन गरेका थिए । द्वापर युगमा आइपुग्दा खाण्डव वनका नागराज तक्षकका साथ प्रसस्त नागजातिहरुको घना आवादी रहेको थियो । नागजाति आर्यहरुका विरोधी भएकै कारण आर्य जातिका अग्निदेवताले सात सात पटक खाण्डव वन माथि डढेलो लगाए। इन्द्रको अनुकम्पाले खण्डव वन खरानी बनाउन नसक्दा नागजातिको वंश नाश हुन पाएन । आठौं पटक स्वयं श्रीकृष्ण र नाग कन्या उलुपका पति अर्जुन वन डढाउने उद्योगमा तत्पर भए । खाण्डव वनमा भयंकर आगालागि भयो । वनमा आगालागी हुँदा त्यहाँ रहेका अनार्य नागर असुर, राक्षस, पिचाश, यक्ष (खस) जाति गन्धर्व (गाइने, वादी) जाति र पशुपंक्षिहरुमा कोलाहल नै मच्चियो ।

आफ्ना प्रजाहरु माथि अन्याय हुँदा पनि नारद ऋषि द्वारा श्रापित नागराजा कर्कोटकले नागवंशको रक्षा गर्न सकेनन् । खाण्डवको घनघोर वनलाई क्षणभरमै खरानी बनाइयो । खाण्डव वन खरानीमय हुँदा यहाँ रहेका मध्ये बैज्ञानिक मयदानव, चारवटा शार्ङरव पंक्षि र अश्वसेन नामक नाग मात्र बचेका थिए। महाभारतको युद्धमा अश्वसेनले अर्जुन माथि साँघातिक आक्रमण गरेको र अश्वसेन अर्जुनको वाणबाट मारिएका प्रसङ्ग पनि आउँछ ।

राजा भिमकी राजकन्या दमयन्तीसँग कलियुगले पनि बिबाह गर्न चाहन्थे। दमयन्तीको बिबाह राजा नलसँग हुने सुनेर कलिले नल राजार्ला राजच्यूत गरी सर्वस्व हरण समेत गराइदिए । धेरै दुःख पाएका नलले अन्त्यमा कर्कोटक नागले डस्दा विषको प्रभाव कलिमा पर्न जाँदा नलराजाले आफ्नो पुरानै रुपमा प्राप्त गरी दमयन्ती संग बिबाह गरेको प्रसंग सुन्नमा पाइन्छ । यसरी आज भन्दा ४००० वर्षपहिला पनि नाग जातिहरुको अस्तित्व रहेको कुरा महाभारत ग्रन्थले पनि पुष्टि गरेको छ । नागजाति सरिसृप मात्र नभएर मानव वंशकै एउटा प्रमुख हाँगा थियो भन्न करै लाग्दछ। कुनै समयामा नाग जाति पृथ्वीको चारैतिर फैलिएको थियो ।

विशेषत हिमवत खण्डमा बसोबास गर्ने नागजातिले गंगा यमुनाको तटसम्म आफ्नो आवादीलाई विस्तार गरेको थियो । यही समयमा हाम्रा पूर्वजहरुका पुराना माया सभ्यता, सर्प आकृतिका किर्तिस्तम्भहरु भेटिनु नागजातिको उच्च सभ्यताहरु हुन भन्न करै लाग्दछ । मानव जाति र नागकन्याहरु सँग बिहेबारी भएका कथाहरु प्रसस्तै सुन्नमा पाइन्छ। रामायणका पात्र इन्द्रजितले नागकन्या सुलोचनासंग, महाभारतका नायक अर्जुनले पाताल लोककी नागकन्या उलुपि र भीमसेनका छोरा घटोत्कचले नागकन्या अहिलवती सँग बिबाह गरेर नाग सँगको रिस्तेदारी कायम गरेका प्रसङ्गहरु पनि सुन्न पाइन्छ ।

कलिको प्रारम्भमा नाग जाति

महाभारतको युद्ध समाप्त भएको केहि समय पछि हस्तिानपुरका राजा परिक्षितले आफ्ना बाबा शमीक ऋषि प्रति गरेको अपमान जनक व्यवहारबाट रुष्ट श्रृङ्गी ऋषिले तक्षकको र्सपदंशबाट मरुन भनी श्राप दिए । श्रृङगि ऋषिले श्राप गरेको सातौं दिनमा तक्षक राजा परिक्षितलाई मार्न गयो । राजालाई बचाउन गएको कश्यप ब्राहृमणलाई तक्षक नागले प्रसस्त धनदिइ बीचबाटो बाटै फर्काइदियो । छलका साथ परिक्षित राजा भएको ठाउँमा पुगेको तक्षकले राजालाई डसेर मारी दियो। परिक्षित राजा मार्ने नागजातिको वंश नष्ट गर्ने ध्येयले राजा जन्मजेयले नागयज्ञ गरेका थिए । अर्को तर्फ नागहरु जीवनको स्वरक्षर्थ इन्द्रासनमा बेरिएर बसे । इन्द्रासन सहित स्वर्गका राज इन्द्र यज्ञकुण्डमा होमिने भए ।

नागराजा वासुकीले भाञ्जा आस्तिकलाई नाग वंशको अस्तित्व जोगाइ दिन अनुरोध गरे । यहीविषम परिस्थितिमा आस्तिकले राजा जन्मजेय सँग नागवंशको नाश हुन नदिने संकल्प तेहेर्‍याए । अन्तत राजा जन्मजेयले नागयज्ञ रोक्न बाध्य भए । त्यही तक्षक नामको कुनै तक्षक व्यक्तिले नागवंशको तक्षक कुल चलाएको हुनु पर्दछ। इतिहासको त्यो कालखण्डामा जबब सिकन्दर भारत प्रवेश गरेका थिए सर्व प्रथम तक्षशिलामा नागवंशी राजालाइ भेटेका थिए । तक्षशिलाका नागराजाको सहयोगले सिकन्दरले पौरव राजाको बिरुद्ध युद्धको हाँक दिएका थिए । शिशुनागले अवंती राज्य जितेर मगध साम्राज्यमा मिलाए। शिशुनाग पछि कालाशोक राजा भए । जस्को समयमा वैशालीमा द्वीतिय बौद्ध संगीति आयोजन भएको थियो। कालाशोक पछि महानन्दिन राजा भए जस्लाई महापद्मनन्द नामक व्यक्तिले चक्कु प्रहार गरेर मारेको थियो । यसरी नाग वंशकोराज पतन भइ मगधमा नन्द वंशको राज चलेको थियो ।

ऐतिहासिक नागजाति

सिञ्जा साम्राज्यका संस्थापक राजा नागराज स्वयं नागवंशका हुन । नागराजा स्वयं आफुलाई खस वंशका भन्न रुचाउँथे। डोटी, कुमाउँ गढवाल र सतलज सिंजा साम्राज्यका अभिन्न अङ्गहरु थिए। यसैले गढवालको नागाचल पर्वत नागवंशीहरुको उर्वर भूमि थिया नै । नागवंशका उत्तराधिकारीहरु चापराज, चापिल्ल, क्राशिचल्ल, क्राधिचल्ल, क्राचल्ल, अशोक चल्ल, जितारी मल्ल, रिपु मल्ल, आदित्य मल्ल, पूण्यमल्ल पृथ्वी मल्ल र अभय मल्लले सिञ्जा साम्राज्यमा लगभग २३० वर्षम्म एकछत्र शासन गरेका थिए । पृथ्वी मल्लको पालामा लरखराएको सिञ्जा अधिराज्य अभयमल्लको समयमा गर्ल्याङ्गुर्लुम भएर ढल्न पुगेको थियो। सिञ्जा साम्राज्य भित्रको खारी प्रदेश सिञ्जाबाट स्वतन्त्र हुन गयो । खारी प्रदेश स्वतन्त्र भएपछि डोटीका राजा नागमल्लले पनि डोटीलाई सिञ्जा साम्राज्यबाट स्वतन्त्र घोषितगरेका थिए । नागमल्लको रजस्थल अजयमेरुकोटमा बनाइएको थियो । उक्त कोटमा “सूर्यमाला जयतादजसु श्रीनागमल्ल …..पराजगति …. केतपतिरम्या देवालय निर्माण शुभम” कुँदिएको शिलास्तम्भ भेटिएको छ । यिनै नागवंशी शासकहरुले नागपुर जस्ता थुप्रै शहर बसाएका थिए । कर्णालीका कालीकोट, जुम्ला, मुगुमा नागवंशी मगरहरुको रजाई चलेको थियो ।

आर्य जातिसँगको रक्त संमिश्रण पछि यिनै नागवंशी मगरहरु बाहुन क्षत्री र ठकुरी जस्ता उच्च पदमा स्थापित भएका तथ्यहरु गढवाल कुमाउँ क्षेत्रमा अहिले प्रसस्त फेला पर्दै आएका छन् । यहाँका मलनाश, मशनीश र मेयोर्सहरुले नेगी थर धारण गरेका छन् । जुन नाग वंशसँग निकट सम्वन्ध राख्दछन् । (श्रोत : प्राचीन नागजातिको अथ इति बाबुराम सिंह थापा (अतुल्य नेपाल) विशेषत भारतको कुमाउँ गढवालमा नेगी भन्ने चलन भएको पाउँदछौं । इतिहाँसको कुनै कालखण्डमा विशिष्ट कार्य गर्ने व्यक्तिहरुलाई वा तिन्का सन्तानहरुलाई पूजाआजाको विभिन्न कार्यमा मान सम्मान दिने वा नेग प्रसाद लिने दिने प्रचलन पाइन्छ । नेगी भन्नाले

१) नेगी गढवालको राज्यधिकारीहरू मध्ये एक
२) प्राचीन सामन्त परिवारका प्रतिनिधिका रूपमा नेगीको मन्त्रीमण्डलमा महत्वपूर्ण स्थान ।
३) राज्यका विभिन्न परगन्नाहरूमा राजश्व असुली गर्दा त्यसको केही अंश नेगिचारीको राजश्व असुली कर्तालाई दिइने पारिश्रमिक सुविधा ।
४) नेगी पद प्राय वंश परम्परामा अर्थात दोस्रो पुस्ताको जेष्ठ वा हकवालामा स्वतह वंशानुक्रमित हस्तान्तरण हुने पदीय व्यवस्था ।
५) नेगी पदमा खस कुलका क्षत्री तथा ब्रम्हणहरू नै नियुक्त गरिने व्यवस्थाको कारण कुनै परगन्नाको शासकको रूपमा नागिलाहरु हुन सक्छन भन्ने अनुमान गर्न सकिन्छ।” इतिहाँसको कुनै कालखण्डमा कर्णाली प्रदेशमा गाउँ र पदका आधारमा विभिन्न थरहरुको विस्तार हुँदै आएको पाउँदछौं पाण्डु सेराका पाण्डे, धिता धिताल, खड्गाधारीबाट खड्का, कर असुली अधिकारीबाट कार्की थर बने झैं गढवालका परगन्नाहरुमा राज्याधिकारी पद पाएका खस कुलका तिनै नेगिहरु कालन्तर नागिला भएका हुन की भन्न सक्दछौं ।

जुम्लामा मलयबमको उदय भए पछि खस जाति सम्मान सूचक बन्न पुगेको थियो । सिञ्जा नागीमल्लका सन्तानहरुलाई खसका सन्तानहरु पनि भनिन्छ । हुन पनि नागी मल्लका खप्परे देवतालाई मारेको झोकमा राजा नागी मल्लले जवरदस्त गङ्गाको मैदान सम्मको भूभाग आफ्नो राज्य मिलाए र विजित क्षेत्रका सबै रैतिहरुलाई अनिवार्य मष्टो देवताका पूजाआजा गर्न लगाएका थिए रे । कालान्तरमा आफ्नो प्रभाव गुमाउन पुगेका नागवंशीहरु आफ्नो स्वअस्तित्व गुमाउन पुग्दा आफ्नो थर घर नै बिर्सन पुगेका हुन् ।

काठमाडौं उपत्यकामा नागजाति

काठमाण्डौको चोभार नेरको गल्छ्यौंडो काटेर निपातालको पानी मञ्जुश्रीले बाहिर पठाउँन लाग्दा कर्कोटक नागहरु ताल सुकेपछि पानीसंगै बहेर जान लागे रे। अन्त्यमा त्यहाँ भएका सबै नागहरुलाई टौदहमा राखेको कुरा नेपालको इतिहासमा उल्लेख गरेको पाउँदछौं । लामो समय रहँदा बस्दा काठमाण्डौको नाग जाति उपत्यका भित्र लुप्त हुन गयो । अधिकाँश नागजाति नेवार जातिको एउटा अभिन्न अङ्ग भएर रहनाले नाग जाति भन्न सकिने स्थिति रहेन । कर्कोटको एक हाँगा काठमाण्डौ बस्न नसकेर कस्मीर पुगेको छ पनि भनिन्छ । जे होस एक पटक कर्कोटकी रानीलाइ आँखा रोग लाग्दा पाटका लाखे आजुले उपचार गरेर निको बनाइ दिएका थिए । त्यसैको पारितोष स्वरुप नागराजाले ज्यापुलाई मणिरत्न जडित भोटो दिएर पठाएको थियो । त्यही भोटो एक दिन भूतले लगेको देखेर ज्यापुले आफ्नो दावी प्रस्तुत गर्‍यो । आखिर भूत र लाखेआजु तान्त्रिक दुबैले प्रमाण जुटाउन नसकेकाले हरेक वर्षपाटनमा भोटोको मालिक को हो भनेर भोटो देखाउने जात्रा चल्दै आएको छ ।

एक पटक नागहरुको व्यवहार गुरु गोरखानाथलाई पटक्कै मन परेन । उहाँले नागहरुलाई आसन बनाएर पलेटी कसेर बसी दिनु भयो । नागहरु दबिएका कारण काठमाण्डौ उपत्यकामा १२ वर्ष पानी परेन रे । अन्तत गुरु गोरखनाथका पनि गुरु मत्सेन्द्रनाथलाई काठमाण्डौ ल्याउनु परेको थियो । गुरुलाई दर्शन गर्न उठेको बेला खुकुलो भइ नागहरु यत्रतत्र छरिंदा काठमाण्डौमा घनघोर पानी पर्‍यो रे । राजा गुणकामदेवको पालामा पनि मल्ल राजा र नागराजा बीच एकता नहुँदा ठूलो संघर्ष भयो रे । आचर्य शान्तिकरको सुझावमा राजा गुणकामदेले तन्त्र साधनाबाट नागहरुलाई आफ्नो वशमा पार्ने प्रयास गरे । केही सिप नलाग्दा नागराज कर्कोटक पनि स्वयंभु आएर शरणागत भएका थिए । तिनै नागहरुको रगतले लेखिएको तन्त्र पुस्तक शान्तिपुरमा राख्न लगाइएको थियो भन्ने किंबदन्ती सुन्नमा पाइन्छ । प्रताप मल्लको शासन कालमा त्यहि पुस्तक घाममा देखाउँदा घनघोर पानी परेको वर्णन गरिएको छ । यसरी हेर्दा नेवार र नाग वंशमा ठूलो भिडन्त भएको र नागहरु पराजय भएकाले अस्तित्व लोप गराउँदै नेवार जातिमा सम्मिलित भएका हुन् भन्न सकिन्छ ।

शिशाघाटका नागिला के नागजाति नै हुन ?

नागिलाहरु कहिलेदेखि साँजामा बसोबास गरे भन्ने विषयमा किटेर भन्न सकिंदैन । नागराजका वंशजमा सत्ताका लागि ठूलो वंश व्रि्रोह हुन पुगेको थियो । वंश व्रि्रोहले सिञ्जा साम्राज्यको पतन निम्त्यायो । सिञ्जा साम्राज्यको पतन पछि नागवंशीहरुले सुरक्षित बसाइको लागि पूर्वोत्तर क्षेत्रमा लागेका थिए । पूर्व लागेको एक हुल सिञ्जालीहरु गलेखामकोट राज्यको साँजामा आइ बसोबास गरेका हुन कि भन्ने सोच्न बाध्य बनाएको छ। भारतको पिथौरागढ जिल्लामा पनि नागिलाहरुको बसोबास रहेको पाइन्छ । पिथौरागढका नागिलाहरु अहिले नागिला थरको सट्टामा जोशी थर र भारद्राज गोत्र लेख्ने गरेको पाइन्छ । तर साँजा निवासी नागिलाहरु वाल्मिकी गोत्रीय शुक्लयजुर्वेदध्यायी लेख्दछन् ।

उत्तम नागिलाका अनुसार यिनीहरुको माद्यान्दनीय धुन्धुली शाखामा र भृगु, अंगिरा, बामदेव, कश्यप र वाल्मिकी पञ्चप्रवर रहेका छन्। तर ज्योतिषाचार्य उपप्राध्यापक नारायण प्रसाद निरौलाको थर गोत्र प्रवारवलीमा वाल्मीकि गोत्रीय नागिलाहरुको भार्गव, च्यवन, आप्नवान और्व र जामदग्न पञ्चप्रवर हुन्छ भनेर लेखेको छ, कसरी फरक पर्न गयो अनुसन्धेय छ। नाग शिवजीको गलाको गहना वाउन्नवीर चौसी योगिनी गण भित्र पर्दछन। जसका गणनायक वीरभद र गणनायिका महाकाली मानिन्छन्। अधिकाँश सिञ्जाली समाजमा मष्टमा लाटेमष्ट, इष्ट देवीमा सुन्दरी देवी र रिट्ठे झाँक्री पुजित छन्। आफुलाई शिवशक्तिका उपासक भनेर चिनाउने खसहरु आजपर्यन्त शिवशक्ति स्वरुपिणी शक्तिका अधिष्ठात्री सुन्दरीदेवीलाई देवीको सौम्य, विभत्स र कामरुप मध्ये विभत्स वा रौद्र रुप तथा भैरवी, महाकाली र चामुण्डालाई स्वीकारी आफ्नो इष्टदेवी तथा कुलदेवीको रुपमा पूजाआरधाना गर्दै आएका छन् ।

साँजामा सुन्दरी देवीको मन्दिर पाइनु छिमाल र नागिलाहरु सिञ्जाली हुन भन्ने कुराको अर्को दह्रो प्रमाण मिलेको छ। तर साँजाका नागिलाहरु सेतीनागलाई कुलदेवता र बाउन्नवीर र चौसी योगिनीलाई इष्ट देवता मानेर हरेक तीन तीन वर्षको अन्तरालमा पूजा गर्दै आएका छन्। उनीहरु चामलको पिठोले सेती नागको स्वरुप बनाएर श्रीपञ्चमीका दिन आफ्ना कुलायन देवताको सात्वीक विधिविधानले पूजाआजा गर्दछन्। कुलका गण बाउन्नवीर तथा चौसी योगिनीहरुलाइ खुसी पार्न सकेसम्म कालो बोकाको जीवबलि दिने प्रचलन रहेको छ।

यहाँका कुमाई बाहुनहरुमा कुमाल, छिमाल, बसौला, चंदौला र नागिला थरहरु भेटिंदा यिनीहरु नागवंशका थिए भनी सहजै अनुमान गर्न सकिन्छ। यसैलै यिनीहरुको मूलथलो र कुलथलो सिञ्जा हो भन्न करै लाग्दछ। यिनीहरु जहाँ जहाँ बसाइ सरेका छन् त्यहाँ त्यहाँ सिञ्जा शव्द गुञ्जने गर्दछ । यही कारण सिञ्जाबाट सतहुँ, गह्रौं र नुवकोट आइपुग्दा नयाँ स्थानको नाम स्याङजा र गलाफु आइपुग्दा साँजा बन्नु अपार संयोग मिल्न पुगेको छ। यसैले साँजाका नागिलाहरु सिञ्जाबाट आएका हुन भन्ने बल मिलेको हो । अध्ययन गर्दै जाने हो भने मल्ल थरको अगाडी छि अक्षर जोडेर छिमल्ल हुँदै शव्द अपभ्रँश भइ छिमाल थर बनेको हो ।

जङ्ग बहादुर राणाका सत्र भाइखलकले उहाँको मरणोपरान्त नामको पछाडी जसरी जङ्ग बहादुर राणा उपाधि राखे त्यसै गरी नागिमल्लका खस सन्तानहरुले नाममा जस्तातस्तै र मल्ल थरमा मल्लको आदिअक्षर “म” र मध्यको आधा अक्षर “ल” लोप गरेर नागिमल्लको वंशधरहरुको परम्परागत पहिचान जोगाई राख्न नागिला थर अप्नाएका होलान भन्न सकिन्छ । नागिला समाजबाट प्राप्त पुराना लालमोहर, तिर्जा तमसुक तथा सामुदायीक कागजात र शीलालेखहरु समेतले यस्तै यस्तै यस्तै कुराको पुष्टि गर्दछ ।

श्री शाके १७०९ श्री सम्वत १८४४ मासे ७ वारे ६ नक्षेत्रे १ तिथौ १५ पक्षे १ मा रामचन्द्र नागिलाले श्याम्घा गा. वि.स. वडा नं. २ आमडाँडाको दंग्यौली चौतारामा राखेको २३१ वर्ष अगाडीको किर्तीस्तम्भ आज पनि साक्षी बनेर रहेको छ । श्री शाके १७२४।१०।१५ (सम्वत १८५०)मा महामकरान्द गोतामेसंग रामचन्द्र नागिला र सुकदेव नागिलाले रु मा ५५०।- बाँधा किनेको कागजात भेटिएको छ । जस्मा रामदत्त नागिला देउशर्मा नागिला, दुर्गादास नागिला, नारद नागिला र कृष्ण छिमाल साक्षीको रुपमा रहेका देखिन्छन । यसै गरी सम्वत १८६० मा राजा गिर्वाण यद्ध विक्रम शाहले रामदत्त नागिलालाई कुश विर्ता गरी दिएको र संवत १८६७ मा राजा राजेन्द्र विक्रम शाहले तनहुँका राजाले सिरीबल्लौ नागिलालाई दिएको विर्तालाई पुनः लालमाहोर गरिदिएको कागजात मिलेको छ ।

यसै गरी प्रमाण संकलन गर्दै जाने हो भने वि.सं. १४६३ तिरै नागिलाहरु सिञ्जाबाट पूर्वान्मुख भएर साँजा आइपुगेका हुन भनी अनुमान गर्न सकिन्छ । (श्रोतः उत्तम नागिला) । बेसीमा औल उन्मोलन भएपछि दिन प्रतिदिन गाउँबेसीको पाई टाढा हुँदै गयो। गाउँको बसाइलाइ विट मारेर बेसी बसाइ सर्ने बाढी नै चल्यो । यही भेलले साँजाको बसाइ छोट्यार नागिला, समाल, हमाल, छिमाल, चंदौला, पन्थ, ढुङ्गाना, घिमिरे र श्रीपाली कुमालहरुले बेसीको बसाइलाई शिरोपर गरेका हुन्। नागिलाहरुले बसोबास गरेको टारलाई अहिले नागिलाटार, छिमालहरुले बसोबास गरेको टारलाई छिमालटार र कुमालहरु बसेको टारलाई कुमालटार भन्ने गरिन्छ ।
श्वस्ति श्री
शाके १७०९
श्री सम्वत १८४४
मासे ७ बारे ६ नक्षेत्रे १
तिथौ १५ श्री रामचन्द्र नागिलाके किर्ति शुभम् ।

अन्त्यमा

योग, तन्त्र, मन्त्र, जल विद्या, विष विद्या र धातु ज्ञानमा निपुण नागजातिहरुमा आर्यहरुका तर्फबाट चौतर्फि प्रहार भइरहेको थियो । उनीहरु आफैले जानेका ज्ञानहरुलाई व्यवहारमा उतारेका छन् । अझै पनि खानी क्षेत्रमा काम गर्ने खानी बिज्ञहरुमा मगरहरु नै रहेका पाइन्छन् । जहा जहाँ मगर जातिहरु रहेका छन् त्यहाँ त्यहाँ खानी उत्खनन गर्ने कामले मूर्तरुप प्राप्त गरेको पाउँदछौं । यसैले साँख्य एवं योगका ज्ञाता पहाकापलिक शंखग्रीवलाई यज्ञयज्ञादिको बलि भाग दिने परम्परा अझै पनि रहेको छ । अन्त्यमा कतिपय नागवंशमा ब्राहृमण क्षत्रिय, मगर र नेवार जातिको उपस्थिति रहेको पाइन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker